पहिरोको चपेटामा रामतोला बस्ती

बलेवा, २७ भदौ । बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको छ । पहिराले ११ घरका बासिन्दा सात दिनदेखि घरमा बस्न सकेका छैनन् । घरमाथि पहिरो थुप्रिएर बसेको छ भने घरको आँगन चिरिएको छ । केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् ।

डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ नगरपालिका–११ को रायडाँडास्थित रामतोलामा नगरप्रमुख र उपप्रमुखसहित सुरक्षा निकाय पुगेका छन् । एक साताअघि खसेको पहिरो अनुगमन गरेर बस्तीको सुरक्षाबारे टोलीले योजना बनाउने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो । पहिरोले रामतोलाको गैराघर भन्ने स्थानमा एक दर्जन घर जोखिममा परेका छन् ।

पहिराले रामतोलाको बस्तीमा जोखिम पर्नुका साथै खानेपानी र विद्युत्का पोल पनि बगाएको छ । “पानीका दुईवटा ट्याङ्की नै बगेकाले खानेपानीको हाहाकार छ”, स्थानीय ढालनाथ शर्माले भन्नुभयो, “हामी त घर न घाटको भएका छौँ, अब कहाँ बस्ने, के खाने ?”

उहाँले दुःख गरेर बनाएको घरगोठ भत्केपछि नयाँ बनाउने चिन्ताले सताएको बताउनुभयो । उहाँले अनुगमन टोलीसँग पनि रुँदै आफ्नो दुःखेसो पोख्नुभयो । जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेश ढकालले पनि पहिरो अनुगमन गर्नुभएको छ । टोलीमा समितिका अन्य पदाधिकारी तथा सुरक्षा प्रमुखहरू थिए । पहिराले दुईवटा खानेपानीका ट्याङ्की बगाएपछि सात दिनदेखि तल्लो रामतोला बस्तीमा खानेपानीको अभाव भएको हो । बिजुली नभएपछि स्थानीयले झाडी फाँडेर नयाँ पोल गाड्ने र तार टाँग्ने काम गरिरहेका छन् ।

यहाँका दर्जनौँ विद्युत्का पोल ढलेकाले जतासुकै तार लत्रेको देख्न सकिन्छ । तल्लो रामतोला सातादेखि अन्धकार रहेको स्थानीय नन्दकली केसीले बताउनुभयो । “अहिले टोली आएको छ भनेर घरमा आइयो, नत्र हामी गाउँ छाडेर बसेका छौँ”, उहाँले भन्नुभयो, “अनुगमन आएका टोली देख्दा रमाइलो लाग्यो, नत्र रित्तो घरमा आउन मनै लाग्दैन ।” रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको थियो । पहिराले ११ घरका बासिन्दा सातादेखि घरमा बस्न सकेका छैनन् । केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् ।

दशकअघि खुलेको सडकको ट्रयाक र खरबारीमा रहेका पानीका ट्याङ्कीबाट रसाएको पानीले पहिरो खसेको स्थानीयले अनुमान गरेका छन् । अनुगमन टोलीले पनि पानीकै कारण पहिरो खसेर बगेको अनुमान लगाएका छन् । सातापछि पुग्दा पनि पहिरो निरन्तर खसेको छ । निरन्तर खसेकोले आसपासमा पुग्न पनि जोखिम छ ।

पहिराले जैमिनी नगरपालिका–१ को ओडारका घरमा पनि जोखिम बनाएको छ । नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बस्तीलाई सुरक्षित स्थानमा राख्न सके राम्रो हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले एकीकृत बस्तीको अवधारणा ल्याएर बस्ती सार्न सके राम्रो हुने धारणा राख्नुभएको छ । यसका लागि पहल गर्न उहाँले वडाध्यक्षलाई आग्रह गरेको बताउनुभयो । एकीकृत बस्ती बनाउन सकेमा खानेपानी, विद्युत् र अन्य सेवा जडानमा सहज हुने जनाइएको छ ।

निरन्तर पहिरो खसिरहेकाले उक्त बस्तीमा सहजै बस्न सकिने अवस्था छैन । पहिरो नियन्त्रण गर्ने अवस्था नभएको प्राविधिकको सुझाव छ । “पहिरो नियन्त्रणमा लाग्नुभन्दा बस्ती नै सार्दा सजिलो र सुरक्षित होला”, इञ्जीनियर त्रिलोचन गिरीले भन्नुभयो, “यो पहिराले माथिल्लो बस्तीमा पनि जोखिम बढाएको छ ।” पानी परेमा पहिरो झनै बढ्न सक्ने उहाँले बताउनुभयो । विस्तारै खसेकाले समयमा घरपरिवार सार्न सकिए पनि पुनः घर फर्कने वातावरण बनाउन कठिन हुने उहाँले बताउनुभयो । “सात–आठ घर त पहिरो खस्दा खस्दै सार्न लगायौँ, उहाँहरु अहिले सुरक्षित स्थान खोजेर बस्नुभएको छ”,उहाँले भन्नुभयो, “पहिराले निरन्तर दबाब दिएर बस्तीमा चिरा परेको छ ।”-(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।