लोप हुंदै रानाथारुको पहिचान

दोधारा चाँदनी, २७ भदौ । खरले छाएको छानो, माटोले लिपपोत गरेको काठले बनाएको आकर्षक घर रानाथारु समुदायको पहिचान हो । आजभोलि यस्ता घर कमै देख्न पाइन्छ । बद्लिँदो परिवेशसँगै पक्की घर निर्मार्ण हुन थालेपछि रानाथारु समुदायका परम्परागत घरहरु समेत हराउदै गएका छन ।

घर मात्र नभई रानाथारु समुदायको परम्परागत पहिरन, दैनिक प्रयोगमा आउने घरमै निर्मित भाँडासमेत लोप हुँदै गएका छन् । रानाथारु समुदायका महिला घगरिया, अङ्गीया, उनिया लगाएर परम्परागत पहिरनमा सजिएका हुन्थे । तर पछिल्लो समय यो समुदायको मौलिक परम्परागत पहिरन हेर्न पर्व वा विवाहलगायत शुभकार्य नै पर्खिनुपर्छ ।

महिलाले लगाउने अङ्गीया, घगरियालगायत लुगा र विभिन्न गहना, जुन घरमै आफैँ सिउने चलन थियो । हाल ती पहिरन लगाउने त के लुगा सिउने सीप भएका व्यक्तिसमेत भेटाउन गाह्रो हुन थालेको कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ नयाँ कटानकी कैलाशु रानाले बताउनुभयो ।

“सबैले एक÷एक जोर सिएर थन्क्याएका छौँ तर ती पनि पूरै सेट छैनन् विशेष पर्वमा मात्रै लगाउछौँ”, उहाँले भन्नुभयो, “महिलाले नारीमा लगाउने चुडिया, घाँटीमा लगाउने घिच्चु, लघौरा, पठ्ठा, कानमा लगाउने कन्सिरी सक्रेला आदि गरगहना पाउन छोडिसके ।”

गाउँमा अहिले परम्परागत पहिरन र भाँडाकुँडा बनाउने सीप भएका मान्छेसमेत नभएको उहाँले बताउनुभयो । महिला जस्तै पुरुषले पनि धोती र कुर्ता लगाउँथे, तर गाउँमा एक÷दुई जना बुढापाकाबाहेक अहिले कसैले पनि यस्तो लुगा लगाएको कोही भेटिदैनन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ का सुदामा रानाले अहिलेको पुस्ताले परम्परागत पहिरन लगाउन रहर मात्रै गर्नेे तर बनाउन नसिक्ने गरेको बताउनुभयो । “हाम्रो संस्कृति हराउन लागेकोमा यसप्रति अहिलेका युवा सचेत छैनन्”, उहाँले भन्नुभयो, “अहिलेको पुस्ता आधुनिकतामा बढी चासो राख्छ यसले संस्कृति पुस्तान्तरण हुन सकेको छैन ।” उहाँले पहिरन मात्रै होइन आधुनिक परिवेशसँगै विभिन्न परम्परागत नाचसमेत लोप हुने अवस्थामा पुगेको बताउनुयो ।

“पहिला रु पाँच सयमा आउने कपडा अहिले रु १५ हजार पर्छ”, उहाँले भन्नुभयो, “यति महँगो सबैले लगाउन सक्दैनन्, चाँदीका गहनासमेत महँगीका कारण समयमा बनाउन छाडिएको हो ।”

पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको रानाथारु समुदायको बस्ने घरको पनि छुट्टै पहिचान छ । खरले छाएको छानो, माटोले लिपपोत गरेको काठले बनाएको आकर्षक घर रानाथारु समुदायको पहिचान हो ।

आजभोलि यस्ता घर कमै देख्न पाइन्छ । बद्लिँदो परिवेशसँगै पक्की घर निर्माण हुन थालेपछि रानाथारु समुदायका परम्परागत घर हराउँदै गएका छन । अन्नभण्डारण गर्नका लागि माटाबाट निर्मित भकारीलगायतका सामानसमेत लोप हुँदै गएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका साहेव रानाले पुराना घर विस्थापित हुँदै गएको बताउनुभयो । “माटोको घरमा जाडोमा न्यानो हुन्छ, गर्मीमा शीतल हुन्छ”, उहाँले भन्नुभयो, “अहिले सबै पक्की घर बनेपछि पुराना घर हराउन थालेर पक्की घर बन्ने होडबाजी नै चलेको छ ।” कैलाली–कञ्चनपुरमा बसोबास गर्ने आदिवासी रानाथारु समुदायको पर्व मनाउने चलन पनि फेरिँदै गएको उहाँले बताउनुभयो ।

संस्कृति जगेर्ना गर्ने उद्देश्यले सङ्ग्रहालय

रानाथारुको संस्कृति र पहिचान जगेर्ना गर्ने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मा रानाथारुको सङ्ग्रहालय भवन निर्माण भइरहेको छ । रानाथारू समुदायको रहनसहन, वेषभूषा, परम्परागत गरगहनालगायतका सामग्री उक्त सङ्ग्रहालयमा राखिने शुक्लाफाँटा नगरपालिका–१२ का वडाध्यक्ष नवलसिंह रानाले बताउनुभयो ।

“अढाइ बिघा जग्गा संरक्षण गरेर भवन निर्माणको काम सुरु गरेछौँ”, उहाँले भन्नुभयो, “भवन निर्माणका लागि आर्थिक अभाव छ यसका लागि प्रदेश र नगरसँग माग गरिराखेका छौँ ।” उहाँले सङ्ग्रहालयले रानाथारुको संस्कृति संरक्षण गर्न र पर्यटकलाई लक्षित गरी होमस्टे सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

“रानाथारु मात्रै नभएर सङ्ग्रहालयमा भविष्यमा डोट्याली समुदायको पनि संस्कृतिसँग सम्बन्धित सामग्री राख्छौँ”, उहाँले भन्नुभयो, “सङ्ग्रहालयल र होमस्टेले यहाँको प्रर्यटन प्रवद्र्धनमासमेत योगदान पुग्छ ।” उक्त भवन निर्माणमा शुक्लाफाँटा नगरपालिकाले रु १७ लाख रकम विनियोजन गरेर काम अघि बढेको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।