भद्रपुरमा ट्रकको ठ’क्करबाट आमाको मृ’त्यु, छोरीसहित तीन घाइते
बनियानी, २७ भदौ । झापाको भद्रपुरमा आज ट्रकको ठक्करबाट एक महिलाको मृ’त्यु भएको छ भने तीन घाइते भएका छन् ।
भद्रपुर–२ र ३ स्थित देउनियाँ पुलमा पृथ्वीनगरबाट भद्रपुरतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेकी भद्रपुर–२ की ३५ की तुलसा खवास लामा र उनको छोरी दुई वर्षीया रुक्साना लामालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते तुलसाको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृ’त्यु भएको हो ।
ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खस्दा उक्त ट्रकका सहचालक जिल्ला झापा बिर्तामोड–२ का २४ वर्षीय अनिल हस्दा र ५२ वर्षीय बुद्धलाल राजवंशीसमेत घाइते भएका थिए । घाइते बालिकासहित तीनै जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक पाँचथर हिलिहाङ–६ का २४ वर्षीय योगेश सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।(रासस)
खेलपत्रकार सम्मानित
काठमाडौँ, २७ भदौ (रासस) :नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २७औँ स्थापना दिवसमा एनएसजेएफ पत्रकारिता अवार्डबाट जयदेव गौतम सम्मानित हुनुभएको छ ।
मञ्चले हरेक वर्ष भदौ २७ का दिन स्थापना दिवसका अवसरमा एक/एक जना अग्रज र अनुज पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । सोहीअनुरूप सुमन बम्जन युवा पत्रकारिता पुरस्कारबाट खेल पत्रकार गीता राई सम्मानित हुनुभयो ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रममा पत्रकारद्वयलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका सचिव पवन आचार्य र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्मान गर्नुभयो ।
अग्रजतर्फ सम्मानपत्रसहित जयदेवले रु २५ हजार प्राप्त गर्नुभयो भने अनुजतर्फ सम्मानित हुने खेल पत्रकार गीताले एक थान ल्यापटप पुरस्कार प्राप्त गर्नुभयो ।
कार्यक्रममा राखेपका सदस्यसचिव घिसिङले नेपाली खेलकुदलाई गतिशील बनाउन खेलकुद पत्रकारले उल्लेखनीय योगदान गरेको बताउनुभयो । त्यस्तै आयोजक मञ्चका अध्यक्ष सुवेदीले मञ्चको स्थापना दिवसका अवसर सबै खेल पत्रकारलाई शुभकामना व्यक्त गर्नुभयो ।
एनएसजेएफ पत्रकारिता अवार्डबाट सम्मानित गौतमले पछिल्लो समय नेपाली खेल पत्रकारिताले फड्को मारेको बताउँदै खेलका विश्लेषणात्मक र अनुसन्धानात्मक समाचार लेखनमा अग्रसर भइरहन सबै खेल पत्रकारलाई आग्रह गर्नुभयो ।
त्यस्तै युवा पत्रकारिताबाट सम्मानित गीताले यो पुरस्कारले आफूमाथि थप जिम्मेवारी थपिएको साथै प्रोत्साहन पनि मिलेको प्रतिक्रिया दिनुभयो ।


