सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध
हरिप्रसाद भुसाल / असोज १, अर्घाखाँची । महेन्द्र राजमार्गबाट अर्घाखाँची जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध भएको छ ।सन्धिखर्क गोरुसिंगे सडक खण्ड अन्तरगत सन्धिखर्क नगरपालिका वडा नं. ६ घुम्ती नजिकै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
केही दिनदेखीको वर्षसंगै निरन्तर पहिरो झरिरहेको घुम्तीमा वडा कार्यालय र शिवपुर सडक डिभिजन कार्यालयले सडक खुलाउँदै आएकोमा आज दिउँसो ठूलो पहिरो झरेको हो ।सडक अवरुद्ध भएपछि सन्धिखर्कदेखी गोरुसिंगेको सम्वन्ध विच्छेद भएको छ । यद्यपी पहिरो सोहोर्ने काम भैरहेको र साँझ अवेरसम्म बाटो खुल्ने बताइएको छ ।
मुक्त कमैयाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट
गोदावरी, १ असोज (रासस) :सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमैयाका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । शनिबार मुक्त कमैया महिला विकास मञ्च कैलालीको १५औँ साधारणसभा तथा पाँचौँ अधिवेशनमा उहाँले अध्यादेशमार्फत कानुन ल्याएर भए पनि मुक्त कमैयाका समस्या समाधान गरिने बताउनुभयो ।
उहाँले कानुनी जटिलताका कारण मुक्त कमैयाको समस्या समाधान गर्न समस्या भएको बताउनुभयो । मुक्त कमैया, कम्लरी, मुक्त हलियालगायत समस्या समाधान गर्नका लागि प्रदेश सरकारले धेरै छलफल गरेर कानुन तयार गरेको उहाँले बताउनुभयो ।
निर्वाचनले गर्दा संसद् रोक्नुपरेको बताउँदै उहाँले कानुन सदनबाट पास गर्न सक्ने स्थिति नबनेकाले अध्यादेश ल्याएर भए पनि समस्या समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले मुक्त कमैयाका सबै समस्या समाधान गर्न एकीकृतरूपमा कानुन ल्याएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
संविधानले भूमि दिने अधिकार सङ्घीय सरकारलाई मात्रै दिएको जानकारी दिँदै मुख्यमन्त्री भट्टले प्रदेश सरकारको चाहना मुक्त कमैयालाई भूमिको व्यवस्था हुनुपर्छ तर कानुनी जटिलताका कारण दिन नसकिएको स्पष्ट पार्नुभयो ।


