आज जितिया पर्वको मुख्य दिन ‘उपवास’ बसिँदै,सार्वजनिक बिदा

नवलपुर, २ असोज । थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।

यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपवास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त) भनिन्छ । सप्तमीको दिन शनिबार महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू झाम्टा र गीत गाउँदै यो पर्व मनाएका छन् ।

उनीहरुले भाद्र कृष्ण अष्टमी (आज)को दिनमा जितिया मनाउँछन् । थारू अगुवा शिखाराम थनेतले जितियामा सामूहिक नाचगान र पूजाआजा हुने बताउनुभयो । उहाँले अविवाहिताले राम्रो वर पाउन र विवाहिताले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो ।

हिन्दू नेपाली महिलाले मनाउने तीज पर्वजस्तै थारू समुदायको जितिया पर्व रहेको उहाँको भनाइ छ । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन रहेको छ । यस्तै जितियामा कोसेली (पहुरा) पु¥याउने चलन पनि छ ।

सप्तमीको दिनमा दर खाएपछि अष्टमीको दिनमा महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ दिनभर पानी पनि नखाइ (निराहर) ‘उपास’ व्रत बस्ने मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले बताउनुभयो । बर्तालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन् । त्यसपछि साँझपख सबै बर्तालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहँदै आएको उहाँको भनाइ छ ।

भाद्र अष्टमी अर्थात् जितियाको मुख्य दिनमा रुखको चारैतिर बर्तालु महिला फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्ने उपप्रमुख चौधरीको भनाइ छ । विगतका वर्षमा गाउँको कुनै एक भद्र पुरुषले जीतवाहनको कथा (जितिया व्रत कथा) घण्टौँ लगाएर सुनाउने गर्ने प्रचलन रहेको भए पनि विस्तारै त्यो परम्परा हराउँदै गएको जनाइएको छ । कथा सकिएपछि सबै जना घर गएर फराहर (फलफूल तथा मिठो चोखो खाने) गर्थे ।

जितियाको तेस्रो तथा अन्तिम दिन नवमीमा सबेरै सबै बर्तालु महिला खोलामा नुहाएर निराकार प्रतिमूर्ति ( ‘गरग्वाङ’ ) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि बर्तालुले दही चिउरा, केरालगायतका खानेकुरा खान बस्छन् । तर खानुभन्दा अगाडि गुइँठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ ।

यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ । हिन्दू धर्मावलम्बी नेपाली महिलाले मनाउने तीजजस्तै थारू समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका नगरउपप्रमुख चौधरीले बताउनुभयो । पछिल्लो समय जितिया पर्वको रौनकता हराउँदै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

“पुरानो पुस्ताले मनाउने गरेको जसरी अहिले जितिया मनाउने प्रचलन हराउँदै गएको छ”, उपप्रमुख चौधरीले भन्नुभयो, “यो पर्वको संरक्षणमा सम्पूर्ण थारू समुदायसहित सरकारले पनि चासो दिनुपर्छ ।” पछिल्ला दिनहरूमा जितिया पर्वमा विकृति भित्रिँदै पार्टीप्यालेसमा मनाउने प्रचलनसमेत बढ्दै गएको उहाँले बताउनुभयो ।

सार्वजनिक बिदा

जितियाका अवसरमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का चारवटा पालिकामा आज सार्वजनिक बिदा हुने भएको छ ।

मध्यविन्दु , कावासोती र देवचुली नगरपालिका सहित विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइने भएको हो । ती पालिकाले छुट्टछुट्टै सूचना जारी गर्दै आज पालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र सार्वजनिक संस्थामा बिदा दिइएको जनाएका छन् । नवलपुरको तराई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ ।

थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो–मसिनो खाएर पर्व मनाउने गर्दछन् । जितियामा खासगरी महिलाहरू झाम्टा नृत्य गर्ने गर्दछन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।