कागती खेतीमा भविष्य खोज्दै युवा

ढोरपाटन, १० असोज । “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।” बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आउनुभएको छ । करिब २४ वर्ष विदेशमा सङ्घर्ष गर्नुभएका उहाँले कागतीसँगै अन्य फलफूल पनि खेती गर्दै आउनुभएको छ ।

उहाँले पाँच वर्ष अगाडि स्थानीय जातका डेढ सय कागतीका बिरुवा लगाउन भयो । ती बिरुवाले अघिल्लो वर्षदेखिनै फल दिन थालेका छन् । दुई वर्ष अगाडि लगाएका उन्नत जातको कागतीले पनि यस वर्षदेखि फल दिन थालेपछि पोखरेलको अनुहारमा खुसी छाएको छ । उहाँ भन्नुहुन्छ, “कागती बहुउपयोगी रैछ भन्ने विदेश गएर चिनियो, पहिले यहाँ हुँदा खास्सै वास्ता गरिएन, विदेशबाट आएर मैले डेढ सय कागती लगाए अहिले फल दिन थालेका छन्, नयाँ जातका चार सय पचास बिरुवा दुई वर्ष अगाडि रोपेको तिनीहरु पनि फल्न थाले, अब आम्दानीको मेसो सुरु भयो ।”

तेइस वर्ष भारत र २२ महिना कतारमा बिताउनुभएका ४८ वर्षीय किसान पोखरेलले १५ रोपनी बारीमा कागती खती गर्नुभएको छ । कागतीसँगै सुन्तला, हलुवाबेद, टिमुरलगायतका फलफूल उहाँका बारीमा छन् । अघिल्लो वर्ष एक लाखको कागती बिक्री गर्नुभएका पोखरेलले यस वर्ष दुई लाख बढी आम्दानी गर्ने बताउनुहुन्छ “अघिल्लो वर्ष कागतीको सिजन रैनछ, कम बोटले मात्रै फल दिएको हुँदा आम्दानी पनि कम भयो, यसपालि कागती निकै राम्रो फलेको छ, दुई बढीको बिक्री गर्ने अनुमान गरेको छु ।”

कागतीसँगै यस वर्ष सुन्तला पनि राम्रो उत्पादन भएको उहाँको भनाइ छ । फल दिने सुन्तलाका बोट कम भएको हुँदा एक लाखसम्मको बिक्री गर्नसक्ने पोखरेल बताउनुहुन्छ । गत वर्षको तुलनामा यस वर्ष कागती, सुन्तलासँगै टिमुर पनि बढी उत्पादन भएको जनाउँदै रु ५० हजार बराबरको टिमुर बिक्री गर्ने उहाँ बताउनुहुन्छ । कागतीले राम्रो उत्पादन दिन थालेपछि पोखरेलाई बजारको समस्या हुने देखिन्छ ।

“गत वर्षसम्म बजारको कत्ति पनि समस्या थिएन, यस वर्ष कागती सुन्तला लटरम्म फलेका छन्, साँघुरो बजार छ, कहाँ लगेर बच्ने भन्ने पिर छ, बजार अभाव छ, थोक व्यापारी आउँदैनन्, खुद्रा व्यापारले उत्पादन खेर जाने देख्छु”, उहाँ भन्नुहुन्छ, “कागती मात्रै भए पनि हुन्थ्यो, अहिले त सुन्तला र टिमुर पनि थपिएको छ, कहाँ लगेर बेच्ने हो ?, गाह्रो पर्ला जस्तो लागेको छ ।” उहाँले कागतीसँगै यसबाट बनेको काँचो तथा पकाएको चुक समेत बजारमा पठाउने गर्दै आउनुभएको छ । चुक (कागती)को रस खासगरी तराईमा बढी बिक्री हुने गरेको उहाँको भनाइ छ ।

निसीखोला गाउँपालिका–६ का ३७ वर्षीय लोकबहादुर कुँवरले पनि कागती खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । सात वर्षदेखि निरन्तर कागती खेती गर्दै आउनुभएका कुँवरले यस वर्ष चार लाख बढीको कागती बेच्ने सोचमा हुनुहुन्छ । आठ सय कागतीका बोटमध्ये झण्डै पाँच सय बोटले फल दिन थालेको उहाँको भनाइ छ । अर्को वर्ष कागतीको उत्पादन दोब्बर हुने उहाँ बताउनुहुन्छ ।

“यस वर्ष सबै बिरुवाले फल दिन सकेनन्, अर्को वर्ष करिब छ सय बिरुवाले फल दिने अनुमान गरेको छु, यो वर्ष चार लाख आम्दानी हुने अनुमान गरेको छु, अर्को साल सिजन राम्रो भयो भने छ लाख त न्यूनतम पनि आम्दानी हुन्छ”, उहाँ भन्नुहुन्छ, “मेरो बारीमा दुई जातका कागती छन्, एउटा जातको कागतीले बाह्रै महिना फल दिन्छ, अर्कोले वर्षमा दुई पटकसम्म फल दिन्छ, यसले गर्दा वर्षभरि थोरै भए पनि आम्दानी हुने अपेक्षा गरेको छु ।”

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बागलुङमा पछिल्लो समय कागती खेतीमा लाग्ने कृषक बढेको बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लामा दुई सय १० जना कृषकले व्यावसायिकरुपमा कागती खेती गरिरहेको बताउनुभयो । बागलुङको माथिल्लो भेगबाहेक धेरै ठाउँमा कागती खेती गर्नका उपयुक्त हुने भट्टराईले बताउनुहुन्छ ।

“पछिल्लो समय बागलुङमा कागती खेती गर्ने कृषक बढ्दै गएका छन्, जिल्लामा अघिल्लो वर्षसम्म निकै कम सङ्ख्या थियो, अहिले दुई १० जनाले व्यावसायिकरुपमै यसको खेती गर्नुहुन्छ,” उहाँ भन्नुहुन्छ, “बागलुङका अधिकांश क्षेत्र कागती खेतीका लागि उपयुक्त मानिन्छ, धेरैले कागती खेतीमा चासो देखाएपछि जिल्लाको धेरै पालिकामा कागती पकेट क्षेत्र पनि घोषण भएका छन् ।”

भट्टराईका अनुसार सात सयदेखि एक सय छ सय मिटरको उचाइमा कागती खेती निकै राम्रो हुने गर्छ । बागलुङमा कागती खेतीको प्रवद्ध्र्रन विस्तारै हुन थालेको उहाँ बताउनुहुन्छ । “कागती खेती गर्ने कृषकलाई कृषि ज्ञान केन्द्रले सहयोगसमेत गर्दै आएको छ, अहिले विस्तारै यहाँ कागतीको प्रवद्र्धन हुँदैछ, अब हरेक वर्ष बागलुङमा कागती उत्पादन बढ्ने देखिन्छ”, उहाँ भन्नुहुन्छ ।

जिल्लामा हरेक वर्ष कागती र सुन्तला गरी तीन सय ५० मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कागती स्वास्थ्यका लागिसमेत निकै लाभदायक मानिने र यसबाट राम्रो आम्दानी गर्न सक्ने हुँदा कृषकलाई कृषि ज्ञान केन्द्रले प्रोत्साहित गरिरहेको उहाँ बताउनुहुन्छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।