मादल बनाउने पेसा धान्दै ‘रामबहादुर’

सुशीला रेग्मी/रामपुर (पाल्पा), ११ असोज । सेतै फुलेका कपालमाथि ढाकाटोपी, चिटिक्क परेको सानो घरको पिँढीमा बसेर मादलमा खरी भर्नमै ध्यान तानिएको छ रामबहादुर वादीको । उहाँ आफ्नै सुरमा बिहान उज्यालो भएदेखि साँझसम्म मादल बनाउनमा व्यस्त हुनुहुन्छ ।

पाल्पाको रामपुर नगरपालिका– ८ स्थित कटहरटार बस्ने रामबहादुर उमेरले ५९ वर्षमा लाग्नुभयो, मादल बनाउने मोह उहाँको जवानी अवस्थाकै छ । पिँढीमा बसेर मादल बनाउने र विभिन्न ठाउँमा पुगेर बेच्ने गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “कपाल दाह्री फूल्यो तर मादल बनाउने मोह घटेन, मादल बनाएरै बुढ््यौली टेकिएछ, यसमै तल्लिन रहेर काम गर्दा उमेर बढ्दै गएको पत्तो पाइएन, यसरी नै जीवन वितिरहेछ ।”

पूर्वी पाल्पामै व्यावसायिक रुपमा मादल बनाउने उहाँ सक्रिय हुनुहुन्छ । घरमा बुबाबाट मादल बनाउने सीप सिक्नुभएका रामबहादुरले १७ वर्षको उमेरदेखि यस क्षेत्रमा व्यावसायिक रुपमा निरन्तर रुपमा लाग्नुभएको छ । यसैबाट उहाँको परिवारको जीविका चलेको छ । उहाँले एक दिनमा एउटा मादल तयार पार्नुहुन्छ ।

आकार अनुसार एउटा मादललाई न्यूनतम दुई हजारदेखि बढीमा सात हजार सम्म पर्छ । मादल तयार पार्न कच्चापदार्थ गाउँघरमा उपलब्ध नहुँदा पोखराबाट झिकाएर तयार पार्नुपर्छ । सामान लिन जान समस्या पर्ने गरेको उहाँको गुनासो छ । “मादलको माग बढिरहेको छ, मूल्य पनि राम्रै पाइन्छ तर बाहिरबाट सामान ल्याउन झण्झट छ, स्थानीय सरकारले सामानको बन्दोबस्त गरिदिनुप¥यो, हातमा सीप भएपछि घरमै बसी बसी पैसा हात पर्ने रहेछ”, उहाँले भन्नुभयो ।

जवानी अवस्थामा एक महिनामा ५० बढी मादल बनाएर बिक्री गरेको अनुभव उहाँ सुनाउनुहुन्छ । रामपुर नगरपालिकाले गत आर्थिक वर्षमा उहाँलाई रु ५० हजार दिएको थियो । घरमा मादल बनाउन उहाँलाई कान्छो छोराले सघाएका छन् । बाउ छोराले एक वर्षमा दुई सयदेखि तीन सयसम्म मादल तयार पार्ने गरेको रामबहादुरले बताउनुभयो । बाउबाजेले धान्दै आएको पुख्यौली पेसा संरक्षण गर्न आफूले बुबाबाट ज्ञान सीप सिकेर यस व्यावसायमा लागेको उहाँका छोरा बेगबहादुर वादी बताउनुहुन्छ ।

“गाउँघरमा मादल बनाउने कोही छैनन्, सङ्कटमा परेको यस व्यवसायलाई संरक्षण गर्दै व्यावसायिक रुपमा लागेको छु, निरन्तर लागे यसमा भविष्य छ, बुबाको पेसालाई मैले बुढ्यौलीसम्म धान्ने प्रण गरेर यसमै लागेको छु” । घामपानी भन्न नपर्ने, घरको पिँढी, कोठामा बसेर काम गरिरहदा यसमा आफ्नो सीप विकास मात्र नभइ समाजमा चिनिने अवसर मिलेको बेगबहादुरले बताउनुभयो । उहाँका अनुसार मादल खरिद गर्न ग्राहक घरमै आउछन् ।

उहाँले परिवार धान्ने अन्य पेसा व्यावसाय नभएकाले मादल बनाउने पेसा नै आयआर्जनको मुख्य स्रोतका रुपमा लिनुभएको छ । भावी सन्ततिलाई पनि बाउबाजेले जसरी नै आफ्नो सीप सिकाउने ईच्छा रहेको बेगबहादुरको भनाइ छ । सङ्कटमा रहेको यस व्यवसायमा लागेका व्यक्तिलाई प्रोत्साहन गर्दै व्यवसाय संरक्षण गर्न स्थानीय सरकारले विभिन्न सीपमूलक कार्यक्रम ल्याउनुपर्ने स्थानीयवासी हीरा विक बताउनुहुन्छ ।“पूर्वी पाल्पाकै एकमात्र वादी परिवारको बसोबास रामपुरमा छ, हामीले जानेदेखि नै रामबहादुरले मादल बनाउँदै आउनुभएको छ”, उहाँले भन्नुभयो, “मादलमा आकर्षक बुट्टा भरेर तयार पार्ने कला लोभलाग्दो छ, यस्ता लोपोन्मुख अवस्थामा रहेका पेसा संरक्षणमा स्थानीय निकायले ध्यान दिनुपर्छ ।”

पछिल्लो समय मादल बनाउने व्यक्ति अति न्यून हँुदा माग अनुसार उत्पादन हुन सकेको छैन । मादल बनाउने वादी समुदायको पुख्र्यौली पेसा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । पुराना पुस्ताको सीप नयाँ पुस्तामा हस्तान्तरण नहँुदा उनीहरुको पेसा हराउँदै गएको हो । नयाँ पुस्ताले यसमा चासो नहँुदा अहिले वादी समुदायले मादल बनाउन बिर्सिन थालेका छन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।