अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै

लमजुङ, १२ असोज । यहाँ यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा केही दिनदेखि भने पर्यटक बढ्न थालेसँगै यस पदमार्ग पर्यटकमय बन्दै गएको हो ।

यस पदमार्गअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भन्नुभयो, “केही समयअघिसम्म पर्यटक नआउँदा पर्खेर बसे पनि यतिबेला पर्यटक आगमन हुन थालेसँगै आफू पनि व्यस्त भएको छु । दशैँ भित्रिसकेको छ, एकातिर दशैँको रौनक छ भने अर्कातिर पर्यटक आगमनले छुट्टै रौनक छाएको छ ।” विगतमा मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्नुभएकाले उहाँले यतिबेला आम्दानी मनग्य हुन थालेको सुनाउनुभयो । अहिले उहाँले दैनिक रु १० देखि रु २० हजारसम्म आम्दानी गर्न थाल्नुभएको छ ।

त्यस्तै लामो समयपछि पर्यटक चहलपहलले आम्दानी बढ्दा खुसीयाली छाएको भएको पर्यटन व्यवसायी खुसबहादुर गुरुङले बताउनुभयो । पर्यटन व्यवसायबाटै परिवारको गुजारा चलाउँदै आएको र पर्यटक नआउँदा चिन्ता र आउँदा खुसी हुने उहाँको भनाइ छ । उहाँहरू मात्र नभई खुसीराम गुरुङ, जीतबहादुर गुरुङ, देवीजङ्ग गुरुङ, पूर्णबहादुर गुरुङलगायतको यस पदमार्ग आसपासमा रहेका सयौँ सङ्ख्याका होटल व्यवसाय फस्टाउँदै गएका छन् ।

पर्यटकीय याम सुरु भएयता पनि सोचेजति पर्यटकको भने आगमन नहुँदा आम्दानी पनि त्यति नभएको व्यवसायीको भनाइ छ । पर्यटकीय याम गत भदौबाटै सुरु भए पनि विगतका जसरी पर्यटक नआएको र आउने अपेक्षामा रहेको उनीहरूको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटक सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ८०–९० जनाको हाराहारीमा पर्यटक आगमन भइरहेको छ । सबैभन्दा बढी इजरायली पर्यटक आउने गरेको उहाँको भनाइ छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका अनुसार यस पदमार्गमा सन् २०२२ को हालसम्म सात हजार दुई सय १३ विदेशी पर्यटकको आगमन भएको छ । तीमध्ये महिला चार हजार आठ सय ३४ र पुरुष दुई हजार तीन सय ७९ छन् । सन् २०२२ को हालसम्म आएकामध्ये सबैभन्दा बढी इजरायली पर्यटक एक हजार १७, फ्रान्सका सात सय ७१, जर्मनीका सात सय छ, बेलायतका पाँच सय ७८ छन् । हालसम्म ९६ देशका नागरिक यस वर्ष यहाँ आएका छन् ।

त्यस्तै सन् २०२१ मा यस पदमार्गमा दुई हजार तीन सय ७३ मात्र विदेशी पर्यटक आएका थिए । सन् २०२० मा एक हजार नौ सय ७६ पर्यटक आएका थिए । त्यस्तै केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार छ सय ४७ पर्यटक, सन् २०१८ मा २९ हजार चार सय ८४ पर्यटक, सन् २०१७ मा २१ हजार ६८ पर्यटक आएका केन्द्रले जनाएको छ ।

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । यतिबेला मनाङका खर्क अनि घाँसेमैदान हरियो हुने तथा फापर र उवा फुलेको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्दछ । पर्यटक विशेषगरी थोराङपास, लार्केपास र कालापास गर्ने गर्दछन् भने केही पर्यटक विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल हेर्न जाने गरेका छन् ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्घार लमजुङ बेँसीसहर नगरपालिकामा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । विदेशी पर्यटककै हाराहारीमा यतिबेला आन्तरिक पर्यटकको समेत वृद्धि भइरहेको पर्यटन व्यवसायीले बताएका छन् । आन्तरिक पर्यटक विषेशगरी मनाङका विभिन्न स्थानमा पुगेर फर्किने गर्दछन् । त्यहाँ जाने अधिकांश आन्तरिक पर्यटक युवायुवती छन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।