बझाङी आलुले बजार पाउने आशा

भूमिराज पिठातोली/बझाङ, १४ असोज । खप्तडछान्ना गाउँपालिका–६ तिउनेका शमशेर थापाले गत वर्ष दगाडमा आलुका लागि निकै पसिना चुहाउनुभयो । वर्षौंदेखि बाँझो रहेको जमिनमा ट्र्याक्टर जोतेर करिब डेढ क्विन्टल रातो आलु लगाउनुभयो । त्यसको उत्पादन पनि सोचेभन्दा राम्रो भयो । एउटै बोटबाट दुई÷तीन किलोको हाराहारीमा आलु फल्यो । कुनै बोटमा त पौने केजी बराबरको दाना नै थियो ।

आलुको उत्पादन सोचेभन्दा बढी भएपछि एक महिनाअघि नै बजारको खोजीमा लाग्नुभयो शमशेर । पाटादेवल, कोसेडीखेत, भालुवाङलगायतका स्थानीय बजारमा आलु बिक्री नभएपछि कुहिने चिन्ता लाग्यो उहाँलाई ।

“गत वर्षको बाढीले स्थानीय बजारसम्म जाने बाटो पनि अवरुद्ध गरेपछि बारीबाट घरमा ल्याएको आलु कुहिने चिन्ता लागेको थियो”, उहाँले भन्नुभयो, “बारीबाट घरसम्म त पु¥यायौँ, अब बजार कसरी पु¥याउने भन्ने चिन्तामै थियौँ । करिब डेढ महिनापछि सडक खुल्यो अब बजार पाइन्छ कि भनेर आशा लागेको छ ।”

वर्षौंदेखि बाँझो जमिनमा पनि राम्रै उत्पादन हुँदा तरकारी खेती नै गर्ने सोच बनाएको तर, बजार नपाउँदा निरास हुनुपरेको उहाँ बताउनुहुन्छ । “मामाले एक क्विन्टल ३० केजी रातो आलुको बीउ दिनुभयो”, थापाले भन्नुभयो, “दगाउँमा तीन÷चार दिन लगाएर लगाएको आलु १५ क्विन्टल जति भएको छ । आधा निकाल्नै बाँकी छ । अब निकाल्दै बिक्री गर्नुपर्छ ।”

बाह्र कक्षामा पढ्दै गरेका थापा पछिल्लो समय व्यावसायिक खेतीतर्फ आकर्षित हुनुहुन्छ । “टनेलभित्र तरकारी फलाउँदा हरेक सिजनमा पनि ताजा तरकारी खान पाइन्छ”, थापा भन्नुहुन्छ, “गत वर्षदेखि थोरै लगानीमा तरकारी खेती सुरू गरेको हुँ । अहिले आफूलाई पर्याप्त भएर छिमेकीहरूलाई सानोतिनो बेच्ने गरेका थियौँ । त्यसले घर खर्च राम्रै चलेको थियो । यसपटक मात्रै आलु बेच्न पाएको छैन ।”

तिउनेमा शमशेर मात्रै एक्ला हुनुहुन्न, वीरजङ्ग थापा र वीरेन्द्र थापाको बारीमा पनि यसपटक आलु राम्रै उत्पादन भएको छ । उहाँहरू पनि अहिले सडक खुलेको र आलुले बजार पाउने आशा पलाएकोे बताउनुहुन्छ । “पहिले नजिकैको बजारमा तरकारी पु¥याए पनि बेचिन्थ्यो”, थापा भन्नुहुन्छ, “बीचमा लामो समय सडक अवरुद्ध भएपछि बजार पाइएन । अब त दसैँ पनि लाग्यो । गाउँघरबाटै पनि बेचिन थालेको छ ।”

खप्तडछान्ना–९ का हिक्मत रोकायाले पनि आलुखेती गर्न थालेको लामो समय भयो । हरेक वर्ष आलुबाट डेढ दुई लाख रुपैयाँ आम्दानी गर्ने रोकायाले यस वर्ष भने सडक नै नभएको भन्दै बारीबाट आलु निकाल्नुभएको छैन ।

छान्नामा आलुको भण्डार भनिने बामया लेकमा लगाएको आलुले यसपटक बजार नपाउने हो कि भनेर चिन्ता लागेको र सडक खुलेपछि सहज हुने उहाँले बताउनुभयो । “अहिले बारीबाट आलु निकाल्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “आलु ल्याएर घरमा कुहिनुभन्दा बारीबाट नै निकालेका थिएनौँ । अब बजार पु¥याउनका लागि सडक पनि खुल्यो । आलुले बजार पाउला भन्ने आशा छ ।”

रोकायाको बारीमा यो वर्ष ५० क्विन्टलको हाराहारीमा आलु फलेको छ । “एउटै बोटमा पनि राम्रै फल लागेको छ, त्यसमा पनि ठूला ठूला दाना”, रोकायाले भन्नुभयो, “पुरै गणा (बारी) को आलु निकाल्दा त ५० क्विन्टलभन्दा बढी हुन्छ ।” गडरायमा हिक्मत जस्तै सात÷आठ जना कृषकको बारीमा सयौँ क्विन्टल आलु निर्यात गर्ने तयारी भएको रोकायाले बताउनुभयो ।

थापा र रोकाया जस्तै बझाङमा सयौँ कृषक छन् । वर्षायाम भएको हुँदा उत्पादन गरेको तरकारी थन्किएको र अब निर्यात हुने कृषि ज्ञान केन्द्रका कृषि विकास अधिकृत टेकबहादुर विष्ट बताउनुहुन्छ । उहाँका अनुसार सडक अवरुद्ध भएर सयौँ क्विन्टल आलु रोकिएको थियो । अब सडक खुलेपछि अन्य जिल्लामा पठाउन सकिने उहाँले बताउनुभयो । “कृषि ज्ञान केन्द्र बझाङले किसानको उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्नेछ”, उहाँले भन्नुभयो, “हामी किसानको तरकारी किनेर बेच्दैनौँ । बजारका लागि समन्वय गरेर ढुवानी गरिदिन्छौँ ।” बझाङको उत्पादन निर्यात गर्नका लागि कैलालीमा डिपो बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

आलु जोनको सहयोगमा मात्रै हजार क्विन्टल आलु निर्यात

बझाङबाट आलु जोनको सहयोगमा मात्रै एक हजार क्विन्टल आलु निर्यात भएको छ । जिल्लाका विभिन्न स्थानमा उत्पादन भएको कृषकको आलु डडेल्धुरा, कैलाली, चितवनलगायतका स्थानमा निर्यात भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (आलु जोन कार्यक्रम) प्रमुख सविता जोशीका अनुसार यस सिजनमा मात्रै बझाङमा उत्पादन भएको आलु कोल्डस्टोरसहित एक हजार क्विन्टल बाहिर पठाइएको छ । “आलु जोनको सहयोगमा बझाङबाट एक सय क्विन्टल डडेल्धुरा र एक सय क्विन्टल पहलमानपुरको कोल्डस्टोरमा बीउका लागि पठाएका छौँ”, उहाँले भन्नुभयो, “बाँकी आठ सय क्विन्टल कृषकको आलु कैलालीमा पठाएका छौँ ।”

अघिल्लो वर्ष आलु जोनले छ पालिकाका तीन सय २० घरधुरीमा गरिएको सर्वेक्षणअनुसार दुई दशमलव ७८ रोपनीमा आलुखेती गरिन्थ्यो । अहिले जिल्लाभर पाँच सय हेक्टर जमिनमा आलुखेती गरिँदै आएको उहाँले बताउनुभयो । पाँच सय हेक्टर जमिनमा १० हजार टन आलु उत्पादन हुने विश्वास लिइएको एकाइ प्रमुख जोशीले बताउनुभयो । “लेकाली आलु कृषकले बीउका लागि पनि त्यत्तिकै मात्रामा छुट्याउने गर्छन्”, उहाँले भन्नुभयो, “कृषकले बीउलाई छुट्याएर बिक्री गर्ने आलु मात्रै जोनको सहयोगमा निर्यात हुने हो ।”(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।