दसैँमा ७० वर्षीय वृद्धको बालुवामै सङ्घर्ष

ऋषिराम बराल/लेखनाथ, १६ असोज । उमेरले ७० वर्ष । सरकारले प्रदान गर्ने ज्येष्ठ नागरिक भत्ता खाने बेला हो । न नागरिकता छ । न परिवारका कुनै सदस्य नै छन् । जीवन बालुवामा सङ्घर्ष गर्दागर्दै नै बित्यो ।

आइतबार फूलपातीको दिन सबै नेपालीमा दसैँको चहलपहल सुरु भएको छ तर उहाँलाई न कुनै वर्ष दसैँ न त तिहार लागेको छ । बालुवा बोकेर बिहान–बेलुकाको गाँस जुटाउन कै लागि सङ्घर्ष गर्दै ठिक्क छ ।

टाउकोभरि नाम्लाको नील डाम । पाइतालामा चप्पल छैन, थोत्रा कपडा, कुप्री पर्दै, एक हातमा लौरो र अर्को हातले सिँढीको फलामे रेलिङको सहयता लिँदैै । न हातले नाम्लो समाउनु छ । आइतबार दसैँकै दिन पोखराको शान्तिघाटबाट ५० केजी बालुवा बोरामा बोक्दै डिलमा उतार्र्दै हुनुहुन्थ्यो लम्जुङ जिल्लाका ७० वर्षीय साइँला गुरुङ ।

सेतीनदीको शान्तिघाटबाट माथिल्लो डिलमा बालुवा उतार्न करिब एक किलोमिटर दूरी छ । त्यो पनि ठाडै उकालो सिँढी, अघि–अघि एक बालुवा बोक्ने युवाको सहायतामा बालुवा बोकेर उक्लदै गर्नुभएका गुरुङलाई देख्ने जो कोही व्यक्तिले जिब्रो काढ्दै हिँड्छ र भन्छ, ‘राज्य कहाँ छ ?’ आइतबार शान्तिघाटमा मृत्यु भएको व्यक्तिको दाहसंस्कारमा सहभागी हुन आएका मलामीहरुले भन्दै थिए जिउनकै लागि ७० वर्षे बुबाको यस्तो सङ्घर्ष ।

न उहाँको डेरा छ, न त कुनै घर, शान्तिघाट विकास समितिले मानिसको लास पोल्नका लागि राख्ने दाउराको छेउमा छ अझै पनि उहाँको बास । उहाँले भन्नुभयो, “बालुवा बोक्न थालेकै पाँच दशक भएको छ, कति समय घाटकै छेउको ढुङ्गामुनि बसेँ, पटक पटक सुतेका ठाँउमा राति झस्काउन भूत–प्रेत आउँथे तर मैले राति पनि अँगेनामा आगो राख्थेँ र आएका चिजलाई अगुल्टाले हिर्काउँथे र भाग्थ्यो ।” पइतालाले अहिलेसम्म चप्पल देखेकै छैन, लाउन पनि जान्नु हुन्न उहाँ ।

अहिले बिहानदेखि बेलुकासम्म साइँला गुरुङले छ थैला बालुवा डिलमा उतार्नुहुन्छ, बालुवा बोकाउन लगाउने साहुले एक थैलोको ५० रुपैयाँ दिने गरेको छ । उहाँले भन्नुभयो, “दिनमा तीन सय आम्दानी हुन्छ, त्यो बिहान बेलुकाको भात र खाजामा सकिन्छ, एक पैसा बच्दैन, दसैँको टीकाका दिन पनि काम गरिन भने म भोकै मर्छु । मलाई भैँसीको मासु मिठो लाग्छ, टीकाका दिन एक सय रुपैयाँमा एक पाउ जति भैँसीको मासु ल्याई शान्तिघाट स्थित बस्दै आएको छाप्रोमा पकाएर खान्छु ।”

कहिलेकाहीँ भोकै भएमा शान्ति घाटको एक होटलले भात खान दिने गरेको छ उहाँलाई । न झरी न बादल, पानीमा भिज्दै भए पनि बालुवा बोक्छु”, गुरुङले भन्नुभयो, “दिनभरि बालुवा बोग्दा राति घुँडा, पिँडौँला र ढाड करकरी लुच्छ । एक वर्षपछि बालुवा बोक्न पनि सक्दिनँ कि जस्तो लागेको छ, सरकारले नागरिकता बनाएर भत्ता दिए हुन्थ्यो ।”

जन्मेको लमजुङ जिल्ला भन्ने थाहा छ, कुन गाउँ हो भन्ने थाहा छैन उहाँलाई । “म सानै हुँदा बा बितेछ, सात वर्षको हुँदा आमा पनि बितेछ, गाउँको कोही मान्छेले मलाई यहाँ ल्याएर काठको मिलमा छाडेछ, त्यही मिलमा केही वर्ष काम गरेपछि म त्यहाँबाट हिँडे र बालुवा बोक्न थालेँ”, गुरुङले भन्नुभयो, अहिले पनि बालुवा बोक्दै छु ।

उहाँलाई बा आमाको त कुरै छाडौँ आफ्नो नामसमेत थाहा छैन । “एक वर्षअघि मलाई वृद्धाश्रम लानका लागि दुईवटा लोग्ने मानिस आएका थिए, उनीहरुलाई म बालुवा बोकेर खान्छु, वृद्धाश्रम जान्न भनेर पढाइदिएँ”, गुरुङले भन्नुभयो । न त उहाँले विवाह नै गर्नुभयो न त परिवार नै छन्, केवल एक्लो जीवन । “लामिछाने गुरुङ हुँ, नाम थाहा छैन, यहाँ आएपछि सबैले साइँला भन्दा रहेछन्, मेरो नामै साइँला गुरुङ”, उहाँले भन्नुभयो । दसैँका दिन घटस्थापनामा घाटमा अन्य महिला र पुरुषले समेत बालुवा बोक्दै थिए । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।