‘डालो र नाङ्लो बुनेर मात्र के गर्नु, बिक्रीनै हुँदैन’

ढोरपाटन, १८ असोज । सोमबार साँझतिर पश्चिम बागलुङको बुर्तिबाङ बजारमा डालो आयो, डालो आयो ! मिलाएर राख्नुस् भन्दै बजार डुली रहेका थिए दुई युवा । युवाले निकै ठूलो भारी बोकेका थिए । भारी थियो डालोको । फूलबुट्टा भरेको डालो । यहीमाथि रातो खैरो रङ लगाएर आकर्षित बनाएका थिए । बजारका धेरै मानिसले दुई युवालाई हेरि रहेका थिए । उहाँहरु भने आफ्नै पारामा हिँडिरहनुभएको थियो ।

उहाँहरु हुनुहन्थ्यो, पूर्वी रुकुमदेखि आएका निरकुमार बुढामगर र प्रकाश घर्तीमगर । दशैँका लागि खर्च जोहो गर्नका लागि डालो बेच्न बुर्तिबाङ आएका उहाँहरुले सोचेअनुसारको बिक्री गर्न सक्नुभएन । दुई÷दुई सय डालो बोकेर आएका उहाँहरुले जम्मा एक सय मात्रै बिक्री गर्न सफल हुनभएको थियो । एकातिर दशैँको टीकाको दिन नजिकिँदै गर्दा उहाँहरुमा गाउँ फर्किने आत्तुरी थियो भने अर्कोतिर डालो बिक्री हुन नसकेपछि मनमा पिर पनि पलाइरहेको थियो ।

“दुई दिन अगाडि आएको हो, यसपालि डालो बिक्रीनै हुन सकेन, डालो बेचेर दशैँ मनाउँला भनेको जम्मा एक सय मात्रै बिक्री भयो”, निरकुमारले भन्नुभयो, “अझै तीन सय ५० डालो बेच्नै बाँकी छ”, उहाँले भन्नुभयो, “दशैँ आइसक्यो, यस पटक अलि ढिला पनि आइयो, सामान किनेर लैजाने भनेको कसैले किन्दैनन्, पहिले–पहिले त एकै दिनमा सबै डालो बिक्री हुन्थ्यो ।”

पहिले–पहिले ठूलो–ठूलो डाला बजारमा ल्याउने गरेकोमा यस पटक भने साना डालो मात्रै लिएर आएको बुढामगरको भनाइ छ । बजारमा सानो डालोको माग बढेपछि यसपटक केही ठूला र साना आकारका डालो बिक्रीका लागि ल्याएको उहाँ बताउनुहुन्छ । “वैशाखमा आउँदा दुई पाथी र पाँच पाथी अटाउने डालो ल्याएका थियौँ, त्यस बेला सानो डालाको माग बढेको थियो, अहिले एक पाथी, चार माना र दुई माना जाने डालो ल्याएर आएको खास्सै बिक्री गर्नै सकिएन”, उहाँले भन्नुभयो, “वर्षको दुई सिजन डाला बजारमा बिक्री गर्न ल्याउने गरेका छौँ, यसभन्दा अगाडि पनि यहाँ र खर्बाङसम्म पुगेका थियौँ, त्यस बेला व्यापार राम्रो भएको थियो ।”

आफूहरुले यसरी डालो बुनेर बजारमा ल्याउन लागेको १२ वर्षभन्दा बढी भएको उहाँले सुनाउनुभयो । केही वर्ष अगाडिसम्म निकै बिक्री हुने डालोहरु पछिल्लो समय यसको लोकप्रियता कम हुँदै गएको उहाँहरुको भनाइ छ । बजारमा नयाँ–नयाँ प्रविधिका नापतौलका सामग्री आएपछि आफूहरुले बुनेका डालो नाङ्लोले बजार पाउन छोडेको निरकुमारको भनाइ छ । परम्परागत नापतौल गर्ने तुलको रुपमा प्रयोग हुने माना पाथी आजकल किलो र लिटरमा परिवर्तन भएको उहाँले बताउनुभयो ।

“हामीहरु यसरी डालो बुनेर बेच्न लागेको १२ वर्षभन्दा बढी पहिले व्यापार पनि निकै राम्रो हुन्थ्यो, कयौँ दशैँ तिहार जस्ता चाडपर्व डालो बेचेरै मनायौँ, अहिले बिक्री हुनै सकेन, हामी सानो–सानो हुँदा केही अन्नपात किन्दा मानापाथीबाट तौलेनी गर्थे, अहिले त सबै किलोको हिसाब हुन थाल्यो”, बुढा मगरले भन्नुभयो, “यसले गर्दा पनि होला गाउँघरमा उत्पादन हने परम्परागत मानापाथीको प्रयोग हराउँदै गए, बनाएका पनि बिक्री हुन छोडे ।”

अर्का व्यापारी प्रकाश घर्तीले मङ्गलबारसम्म डालो बेचिसक्ने र गाउँ फर्किने बताउनुभयो । उहाँले बिक्री नभए कुनै पसलमा उधारोमा छोडेर जाने बताउनुहुन्छ । “दशैँका लागि खर्च भनेर डालो बोच्न आएको धेरै बिक्री हुनै सकेन, भोलिसम्म बिक्री भए हुन्छ नभए एउटा पसलेलाई उधारोमा राख्न दिएर जानुपर्ला, टीकाको दिन आइसक्न लाग्यो”, उहाँले भन्नुभयो ।

उहाँले पछिल्लो समय पर्याप्त मात्रामा चोयासमेत अभाव हुँदै गएको बताउनुभयो । वनमा निगालो मासिँदै गएपछि डालो नाङ्लो बुन्ने प्रचलनसमेत घट्दै गएको उहाँको भनाइ छ । पर्याप्त चोया भए दिनमा पाँच÷सात वटासम्म डालो बुन्न सकिने उहाँको अनुभव छ । पछिल्लो समय आयातित सामग्रीले गर्दा आफूहरुले बनाएका डालो नाङ्लोले बजार पाउन जोडेको घर्तीले बताउनुभयो ।

“अहिले बजारमा डालो नाङ्लो सबै रबरका आउन थाले, मानापाथी फलामका बने, हाम्ले बुनेका मानपाथी र ठूला डालो नाङ्लोले बजार पाउनै छोडे”, उहाँले भन्नुभयो, “अहिले त पहिले–पहिलेको जस्तो चोया पनि प्रशस्त पाइँदैन, वनजङ्गल धाउनुपर्छ, चोया हुने हो भने दिनमा पाँच÷सात बन्नु सकिन्थ्यो, अब धेरै बुनेर पनि काम भएन, बिक्रीनै हुँदैन ।”

आफ्नो बाउबाजेले बुनेको देखेर आफूले सिकेको भन्दै अहिलेका युवापुस्ताले यसप्रति चासो नदेखाएको उहाँले गुनासो गर्नुभयो । आफूहरुको पुस्तापछि परम्परागत रुपमा बुनिँदै आएका डालो नाङ्लो लोप हुन सक्ने उहाँको भनाइ छ । अहिले पनि गाउँका थोरै मान्छेले मात्रै बुन्ने गरेका छन् । “हामीपछिका युवाले त अब बुन्ने काम गर्नै छोडे, कसैले पनि सिक्ने चासो देखाउँदैनन्, हामीले त सानैदेखि डोको, नाङ्लो, पाथी, डालो बुन्न सिक्ने गरेका थियौँ”, उहाँले भन्नुभयो, “अबका मान्छेले त यो डालो नाम्लो के हो भन्ने पनि चिन्दैन होला ।”

आधुनिक प्रविधिले सबै खालका सामग्री निर्माण गरेपछि परम्परागत सीपले बजार पाउन छोडेको स्थानीय व्यवसायी खडक कुँवरले बताउनुभयो । उहाँले आफूले एक दशक अगाडिसम्म वर्षमा पाँच लाख बढीको डालो नाङ्लो बेच्ने गरेको भन्दै अहिले वार्षिक एक लाखको पनि बिक्री गर्न नसक्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पहिले बजारमा प्लाष्टिकका सामग्री निकै कम आउँथे, अहिले बजार भरी त्यही प्रयोग गर्छन्, गाउँमा पनि पुगी सके, त्यसले गर्दा परम्परागत डालो नाङ्लोले बजार पाउन छोडे, अब गाउँका सीपले बजार पाउन गाह्रो छ ।” (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।