रुकुमपश्चिमका बादी बस्तीमा दशैँको कुनै छैन रौनक

हेमन्त केसी/सुर्खेत, १८ असोज । माछा मारेर , दैनिक अर्काको मजदुरी गरेर जीवन निवाह गर्ने रुकुमपश्चिमका बादी बस्तीमा दशैँको कुनै रौनक छैन ।दशैँमा नयाँ लुगा लगाउने, मीठो खाने भनिए पनि बादी बस्तीका बालबालिका नयाँ नाना र मीठा खानाबाट वञ्चित छन् ।

चौरजहारी नगरपालिका–१ को बादी समुदायका ६४ वर्षीय पशुपति बादीले भने, “कसैले पत्याएर ऋण दिए त एक छाक मासुभात खाने हो । हाम्रा दिन यस्तै हुन्, दशैँले झन् ऋण थप्छ, दशा बन्छ हामीलाई ।” घरमा साँझ बिहानको छाक टार्न धौ–धौ परिरहेको बेला खर्चिलो र भड्किलो बन्दै गएका चाडपर्वले गरिब परिवारलाई थप पीडा हुने गरेको छ । पशुपति बादीले भने, “घरमा चामलको गेडो छैन । यसै त गरिबका दिन, चाडबाडले गर्दा ऋणमाथि ऋण ।”

२२ घरपरिवार रहेका यस बस्तीको जनसङ्ख्या ९६ रहेको छ । न कसैको जागिर, न उच्चशिक्षा । न गतिलो घरबास, न त जग्गा जमिन । माछा मार्ने, मादल र सुल्पा बनाउने पेसा अङ्गालेका बादीको पेसा लोप हुँदै गएपछि झन् परिवार पाल्न सङ्कट आइलागेको छ ।

६६ वर्र्षीय बिसे बादीका अनुसार पहिला पहिला चाडबाडमा मादल बनाउने, मेलापर्वमा सुल्पा बनाएर बेच्ने र प्रायः खोला र नदीमा माछा मारेर खर्च धान्ने गरिन्थ्यो तर अहिले मादल, सुल्पा बिक्री हुन छोडेकाले पेसा नै सङ्कटमा परेको उहाँको बुझाइ छ । खलोमुठी गरेर पेट पाल्ने गरेका बादी परिवारमा रोजगारीको समस्या बल्झँदै गएको छ । विष्ट (साहु)ले दिएको अन्नमुठीले सधैँभरि नपुग्ने भएकाले बादी परिवारमा सरकारले रोजगारीको व्यवस्था गरिदिए ठूलो कल्याण हुने बिसे बादीले बताए ।

आफू, श्रीमती र छोराछोरीसहित १२ परिवारका १२ जना सदस्यको घरमूली रहेका भीमबहादुर बादीले चाडबाड आउँदा झन् समस्या हुने गरेको बताए ।उनले भने, “छोराछोरीले नयाँ नाना र चिची भन्दै दशैँ पर्खेका छन्, कहाँबाट ल्याएर मन बुझाउनु । चाडबाड आउँदा गरिबीको पीडा नराम्ररी सहनुपर्छ ।” पछिल्लो पटक बादी समुदायका पुरुष बजारमा मालवाहक गाडीका सामान लोड अनलोड गर्ने गर्दछन् । दिनभर सामान बोेकेर आएको मजदुरीले दाल, चामल, नुन, तेलको जोहो गरेर छाक टार्ने गरेका छन् । दशैँको बेला बजारमा त्यो काम पनि कम भएपछि उनीहरूलाई दैनिक छाक टार्न मुस्किल हुने गरेको छ ।

बादी परिवारको मुख्य समस्या भनेकै खाना र लगाउने नै हो । चाडपर्वकै लागि भनेर परिवारमा नयाँ लुगा किनेको याद नभएको भीमबहादुरले बताए। बढ्दै गएको परिवार सङ्ख्या, बेरोजगारी र महँगीले थप मारमा पारेको उहाँले उल्लेख गरे। सरकारले जनता आवास कार्यक्रमअन्तर्गत जमिन भएका केही परिवारको घर बनाइदिएको छ । बासको अभावमा सदियौँदेखि फुसको छानोमुनि बस्दै आएका उनीहरूलाई घर हुँदा ठूलो राहत मिलेको छ तर कतिपयको नाममा जग्गा नहुँदा अवस्था उस्तै छ । जनता आवास कार्यक्रमअन्तर्गत बनेका घरहरूमा शौचालय छैन । शौचालय बनाउने जमिन नहुँदा अझै पनि खुला ठाउँमा दिसा–पिसाब गर्न बाध्य छन्, बादी समुदाय ।

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले स्थानीय सरकार गरिब र विपन्नमैत्री नै रहेको दाबी गरे । प्रमुख बादीले भने, “उहाँहरूको स्वास्थ्य बीमा निःशुल्क गरेका छौँ । कक्षा १० सम्मको शिक्षा निःशुल्क, खानेपानी शुल्कमा पनि गरिब तथा विपन्न परिवारलाई छुटको व्यवस्था गरेका छौँ ।”

‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको मिटर जडानदेखि पाँच युनिटसम्मको पानीको महसुल नगरपालिकाले तिरिदिने गरेको छ ।

जनता आवास कार्यक्रमबाट सबैको घर बनेता पनि बुहारी भिर्यायाएर अलग हुने छोराहरूको कारण सबैलाई घरबास नपुगेको उनले बताए । गरिब र विपन्नहरूलाई उत्पादन तथा रोजगारीमा जोड्नका लागि सामूहिक तथा व्यक्तिगत खेती तथा व्यवसायमा अनुदान दिने नीति ल्याएको उनले जनाए। केही गर्छु भन्नेहरूका लागि स्थानीय सरकार निरन्तर सहयोग गर्ने उनले उल्लेख जानकारी दिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।