पर्यटकको रोजाइमा मेघौलीका थारु ‘होमस्टे’

कृष्ण आचार्य/भरतपुर, २१ असोज । थारु घरबास ‘होमस्टे’ चितवनको गोलाघाट घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । राप्ती र नारायणी नदीको सङ्गम भरतपुर–२८ स्थित गोलाघाटमा आउने पर्यटकले परम्परागत संस्कृति, रहनसहन र मौलिक खानाका परिकारका कारण होमस्टेलाई पहिलो रोजाइ बनाउने गरेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिक र मनमोहक सौन्दर्यको भरपुर आनन्द उठाउन सक्छन् । भरतपुर–२७ मा रहेको थारु होमस्टेममा पर्यटकले सस्तोमा पारिवारिक वातावरणमा बस्न र विशेष प्रकारको घरकै खाना खान पाउँछन् । यहाँ आउने पर्यटक बस्नका लागि आठ वटा होमस्टे सञ्चालन गरिएको छ । तीहोमस्टेको क्षमता ६० जनासम्म अटाउनसक्ने छ ।

पश्चिम चितवनको आकर्षक पर्यटकीय गन्तव्यस्थल गोलाघाटमा अहिले पर्यटकको चहलपहल कम छ तर होमस्टेमा फाट्टफुट्ट पर्यटक आइरहेका छन् । होमस्टे सञ्चालक देवी महतो भन्नुहुन्छ, “तीज र जितियामा खासै पर्यटक आएनन् । दसैँ लागेपछि पर्यटक आउन थालेका छन् । होमस्टे सञ्चालक सेमी महतो शुक्रबार र शनिबार यहाँ आउने पर्यटकको सङ्ख्या सन्तोषजनक रहेको बताउनुहुन्छ । यी दुई दिन धेरै पर्यटक बस्ने गरी आउने उहाँको भनाइ छ ।

मेघौली थारु होमस्टेका अध्यक्ष सोमबहादुर महतो पर्यटकका लागि यहाँको गन्तव्य चाडपर्व केन्द्रित हुने जानकारी दिनुहुन्छ । यस वर्ष पनि चाडपर्वमा हामेस्टेमा आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिश्चन्द्र महतो वर्षाका कारण केही पर्यटकीय गतिविधिमा रोक लागाइएकाले पर्यटक आगमनमा असर परेको बताउनहुन्छ । “अहिले पनि पानी परिरहेको छ । राष्ट्रिय निकुञ्जले डुङ्गा चलाउन दिएको छैन । जीप सफारी, हात्ती सफारीमा पनि रोक लगाइएको छ । जुन कुरा हेर्न र अनुभव गर्न पर्यटन यहाँ आउँछन् त्यो नै नभएपछि सङ्ख्या घट्ने नै भयो”, उहाँ भन्नुहुन्छ ।

अध्यक्ष महतो चाडपर्वसँगै पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गर्नुहुन्छ । गोलाघाटमा विशेष गरेर वन्यजन्तु हेर्नका लागि पर्यटक आउने गर्छन् । निकुञ्जको जङ्ल र दुई नदीको सङ्म भएको अत्यन्त सुन्दर र रमणीय गोलाघाटमा नारायणी नदी र राप्तीखोला मिसिएर अगाडि बढ्छ । यहाँ सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा बाह्य पर्यटक आउने गर्दछन् । फराकिलो भएर बगेको नदी र परपरसम्म कुनै मानवीय बस्ती एवं भौतिक संरचना नभएका कारण यहाँबाट सूर्यास्त देखिन्छ । पश्चिम चितवनको अन्तिम बिन्दु रहेको हुनाले गोलाघाटभन्दा तल कुनै बस्ती छैन । सूर्यास्तसँगै बाघ, एकसिङ्गे गैँडा, मृग, चित्तल, गोही यहाँको आकर्षणको केन्द्रबिन्दु हुन् । एकान्तमा रमाउन चाहने पर्यटक पश्चिम चितवनमा केन्द्रित हुने गरेको यहाँका व्यवसायी बताउँछन् ।

मेघौलीमा थारू जातिको पुराना संस्कृतिलाई जोगाउने भन्दै सङ्ग्रहालय पनि बनाइएको छ । कुमाल सङ्ग्रहालय, कल्चर हाउस, पर्यटन सूचना केन्द्र, राइनो पार्कलगायत पर्यटकीय संरचना यस क्षेत्रमा बन्दै गरेका छन् । गोलाघाट स्थानीय संस्कृतिको पनि धनी क्षेत्र हो । यहाँ कुमाल, थारू, तामाङ समुदायको बहुल्यता छ । अहिले कुमाल र थारू समुदायका सांस्कृतिक टोलीले रातको समयमा आफ्नो समुदायको नृत्य तथा गीत प्रस्तुत गरी पर्यटकलाई मनोरञ्जन दिने गर्छन् । यहाँको स्थानीय परिकार चिचर, लोकल हास, कुखुरा, घुँगीले पनि पर्यटकलाई आकर्षण गरिरहेको छ । यस क्षेत्रमा सानाठूला गरेर २५ वटा होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन् । यहाँ स्तरीय होटलसँगै होमस्टेलाई पनि स्तरीकरण गरिएको छ । यहाँ कुमाल होमस्टे पनि सञ्चालनका क्रममा रहेको स्थानीय रामसिंह कुमाल बताउनुहुन्छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।