आम्दानीको राम्रो स्रोत मानिएको मखान खेती लोप हुँदै

जलेश्वर, २१ असोज । तराई मधेसअन्तर्गत पर्ने सम्पूर्ण मिथिला क्षेत्रकै आम्दानीको राम्रो स्रोतका मानिएको मखान खेती महोत्तरीबाट लोप हुन थालेको छ । कुनै समय मखान खेतीका लागि उर्वर भूमि मानिएको महोत्तरी जिल्लाका पोखरीमा विगत केही दिनदेखि मखान खेती गर्न छोडिएको छ ।

बदलिँदो समयसँगै किसान बढ्दो आम्दानीका लागि जिल्लाका सयौैँ पोखरीमा माछापालन गर्न थालेपछि जिल्लाबाट मखान खेती लोप हुन थालेको जानकारहरु बताउँछन् । जिल्लामा चाडबाड, पर्व त्यौहार, पूजाआजा, विवाह व्रतबन्ध जस्ता शुभ कार्य होस् कि मनुष्य मात्रको मृत्यु र श्राद्ध कर्म समेतमा मिथिलामा मखानको नानाविधि प्रयोग हुँदै आएको छ । मखान जहाँ व्यवसायीहरुका लागि राम्रो आयआर्जन गर्ने माध्यम बनेको छ त्यही मिथिलाको संस्कृति जोगाउने उपक्रम पनि रहेको सांस्कृतिविद् बताउँछन् ।

निकै मीठो खाद्य पदार्थका रुपमा रहेको मखान भारतबाट समेत आयातीत हुन थालेकाले राज्यलाई व्यापक घाटा भइरहेको छ । यसकारण जिल्लाको मलाह जातिको रोजगारीसमेत घट्दै गएको मलाह जातिका नेता रामविशेष मुखिया जानकारी दिनुभयो ।

केही वर्षअघि सम्म मात्रै मखानको बजारमा वृद्धि हुन थालेपछि उनीहरु मखान खेती गरी राम्रो आम्दानी लिन अग्रसर भएका थिए । तर किसानहरु बढ्दो आम्दानीका लागि पोखरीहरुमा माछापालन गर्न थालेपछि सो खेती लोप हुन थालेपछि उनीहरुको पेसा सङ्कटमा परेको मलाह जातिकै अर्का नेता तथा अगुवा विजय मुखियाले बताउनुभयो ।

विशेषगरी पोखरी तलाउमा गरिने मखान खेतीमा सुरुमा केही मेहनत र खर्च गर्नु परे पनि पछि थोरै मेहनतमा प्रशस्त आयआर्जन गर्न सकिने भएकाले पनि यहाँका मलाह जातिहरु मखान खेतीतर्फ दिन प्रतिदिन आकर्षित भएका थिए । तर अहिले यस पेसाप्रति किसानहरु उदासीन देखिएका छन् ।

मखान पोखरीभित्र तयार भएपछि मलाह जातिले पोखरीमा डुबुल्की लगाएर कठिन रुपमा पानी बाहिर निकाली घाममा सुकाई आगोमा भुटेर लावा तयार गरी बेच्ने चलन रहेकामा अहिले ती क्रियाकलापहरु देखिन छोडिएको छ ।

मखान खेती जिल्लाको सदरमुकाम जलेश्वरसहित मटिहानी, सिमरदही, धिरापुर, आवर, रामगोपालपुर, हरिहरपुर हरिनमरीलगायत दर्जनौँ गाउँमा करिब दुई सय ५० भन्दा बढी पोखरीमा गरिन्थ्यो भने अहिले कहीँ कहीँ धेरथोर रुपमा मात्रै हुने गरेको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले बताउनुभयो ।

सम्पूर्ण मिथिलामा कोजाग्रत पूर्णिमाका दिन हजाराँै किलो मखानको बिक्री हुने गर्दछ भने दीपावली र छठ पर्वलगायत विभिन्न पूजापाठमा पनि मखानको विशेष महत्व र प्रयोग रहेकाले यस समयमा मखान अत्यधिक रुपमा बिक्री हुने गर्दछ । महोत्तरीमा पछिल्लो दिनमा मखान खेतीमा कमी आएपछि आउँदा दिनमा यस क्षेत्रमा मखानको अभाव हुने र यसबाट जिल्लाावासीमा नराम्रो असर पर्ने सर्वसाधारणको बुझाइ रहेको छ ।

यसैबीच संस्कृतिप्रेमीहरुले मखान खेतीको जगेर्ना गर्नुपर्ने, संरक्षण र संवद्र्धन गर्नुपर्ने तथा यस खेती गर्न चाहने पेसाकर्मीलाई सरकारी अनुदानको समेत व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।