निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित

कैलाली, २३ असोज । केही दिनदेखिको लगातारको वर्षाका कारण कैलाली, कञ्चनपुरलगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । मानिसहरु गन्तव्यसम्म पुग्न सकेका छैनन् ।

गत बुधबारदेखि लगातार वर्षा भइरहेको छ । घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । वर्षाका कारण जिल्लाका केही स्थानमा घर डुबानमा परेका छन् भने कतिपयका घरभित्र पानी पसेको छ । दैनिक ज्यालामजदूरी गरी खानेको जीवन झनै कष्टकर भएको छ । वर्षाले काममा जाने वातावरण बनेको छैन । कतिपयको मजदूरी गरेर नै परिवारको लालनपालन गर्नुपर्ने अवस्थाका श्रमिक मारमा परेका छन् ।

मजदूरी गरी घरिपरिवार धान्दै आएका धनगढी उपमहानगरपालिका–२ का किशन नेपालीले वर्षाका कारण केही दिनदेखि काम गर्न नगएको दुःखेसो गर्नुभयो । घर निर्माणको काममा ज्यादारी गर्दै आएका नेपालीले वर्षाका कारण चार दिनदेखि आफू काम गर्न नगएको बताउनुभयो । “काम ठप्प भएको छ अझै कति दिन काम बन्द हुने हो, आफूले सोही कामबाट परिवार पाल्दै आएका थिएँ”, उहाँले भन्नुभयो ।

विद्युतीय रिक्सा चलाएर परिवारको खर्च धान्दै आउनु भएका धनगढीकै नवराज साउदले केही दिनदेखिको वर्षाले रिक्सा चलाउन समस्या भएको बताउनुभयो । “पानी दिनहुँ लगातार परिराखेकाले मानिसको आवतजावतमा कमी आएको छ, कतिपय सडकमा पानी भरिएर तलाउ भएका छन् भने कतिपय सडक पूरै हिलाम्य भएका छन्”, उहाँले भन्नुभयो, “जसले गर्दा रिक्सा गुडाउन पाइएको छैन ।”

पर्व मनाउन घर आएका पनि गन्तव्य स्थानमा पुग्न सकिरहेका छैनन् । बडादसैँ मनाउन देशका विभिन्न स्थानबाट आ–आफ्नो घर आएकाहरु गन्तव्यमा फर्कन सकेका छैनन् । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका हेमराज जोशीले आफू दसैँ मनाउँनका लागि काठमाडाँैबाट घर आएको थिएँ, टीकाको भोलिपल्टै फर्कनुपर्ने काम थियो तर निरन्तर वर्षा हुनथालेपछि आफू रोकिएको सुनाउनुभयो

त्यस्तै बुधबारदेखि लगातार वर्षा भइरहेकाले यहाँका किसानमा चिन्ता छ । किसानका खेतमा धान पाकेर लटरम्मै भएको छ । कतिपयले धान काटिसकेका छन् भने कतिपयले काट्न सुरु गरेका छन् । गतवर्षको झरीले धान भित्र्याउने बेला भएको धान डुबानमा परी कैलाली, कञ्चनपुरलगायत जिल्लामा ठूलो क्षति भएको थियो । वर्षाले धान उठाउन त के किसानले धानको बीउसमेत जोगाउन पाएका थिएनन् ।

तिपयले खेतमा धान काटेका थिए भने कोहीले थ्रेसर गर्न ठिक्क पारेर जम्मा गरेका थिए । उठाउनै नपाएर पूरै धानबालीमा क्षति भएको थियो । खेतमै धान उम्रिएर जमरा झै भएको थियो । घरपालुवा पशुचौपायाको आहाराको लागि प्रयोग गरिने परालसमेत खेतमै कुहिएको थियो । सोही अवस्था यसपाली पनि दोहोरिने होकी भन्ने चिन्ता किसानका मनमा बढ्दै गएको छ । लगातारको वर्षाका कारण धनगढी लगायतका आसपासका क्षेत्र पूरै जलमग्न भएका छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।