यसरी देउताकै डरले छाउगोठ !

बझाङ । खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुदाँदेखि नै छाउगोठमा बस्न थाल्नुभएको थियो ।

अहिले उहाँको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ ।

सुरु–सुरुमा महिनावारी हुँदा घरभित्रै बस्ने चाहाना देखाउनुभएकी रमिला अहिले भने घरभित्र बस्नु हुँदैन भनेर आफूभन्दा पछिका पिँढीलाई सम्झाइरहनुहुन्छ, किनकि उहाँले परिवारबाटै त्यस्तै शिक्षा पाउनुभयो ।

अहिले उहाँ महिनावारी हुँदा छ दिनसम्मै बाध्य भएर छाउगोठमै बस्नुहुन्छ । तर देउताको डरले घरभित्र बस्ने कुरा भने उहाँको मस्तिष्कमै आउँदैन ।

गाउँघरमा छाउगोठ भत्काउने अभियान चले पनि रमिला त्यसको विपक्षमा हुनु उहाँको बाध्यता नै छ ।

खप्तडछान्ना गाउँपालिका–४ की हरिना रोकायाले पनि देउता रिसाउने भन्दै महिनावारीको बेला अहिलेसम्म घरमा बस्न पाउनुभएको छैन । घरमा बस्दा अनिष्ट हुने भन्दै परिवारकै सल्लाहमा उहाँ छाउगोठमा बस्न बाध्य हुनुहुन्छ ।

“घरको दैलो पनि छुन दिँदैनन्”, उहाँले भन्नुभयो, “सबैभन्दा समस्या महिनावारी भएकै बेलामा हुन्छ, तर परिवारले नै त्यो स्वभाविक प्रक्रिया भन्दै छाउगोठमै बस्न बाध्य पार्छन् ।”

रोकायाका अनुसार माइतीघरभन्दा बढी पोइलीघरमा छाउपडी मानिन्छ । उहाँको माइतीघर वडा नं ७ मा छोरीलाई महिनावारी हुँदा घरको दैलो छुनेदेखि गाईवस्तु दुहुनेसम्म गरिन्छ ।

पोइलीघरमा भने आँगनदेखि तरकारीका लहरा छुनसमेत बञ्चित गरिएको उहाँले बताउनुभयो । “बिहेको सुरुमा त सिस्नाको झाडी नजिकैको गोठमा बस्थ्यौँ । एक दिन सुतेकै बेलामा राति भत्कियो । त्यो दिनको घटना सम्झिँदा त आङै सिरिङ्ग हुन्छ ।”

राति छाउगोठ भत्किने बेलामा तीन–चार दिने साउने झरी रहेछ । रोकाया सम्झिनुहुन्छ, “छाउगोठभित्र पानी पनि जमेको थियो । झरी रोकिने अवस्थै थिएन । गोठको छतको काठ कुहिएर पूरै झर्नै लागेजस्तो थियो । प्लाष्टिक ओढेर सुत्न खोजेकी थिएँ । माथिबाट झ्याप्प भत्कियो । खरको छानो हुँदा बाँचियो ।”

रोकायाका अनुसार अहिले छाउपडीले पहिलेको जस्तो दुःख भने भोग्नु पर्दैन । “छाउगोठ भए पनि सुरक्षित हुन्छन्”, उहाँले भन्नुभयो, “राति एक्लै सुत्न पनि केही डर हुँदैन ।

पहिलेको अवस्था त कुरै छाडौँ”, उहाँले छाउगोठ मुक्त नभए पनि अलि व्यवस्थित भएको बताउनुभयो ।

बुङ्गल नगरपालिका–६ की सीता बोहराले ३९ वर्षमा पाइला टेक्नुभयो । उहाँ १३ वर्षको उमेरदेखि नै महिनावारी हुन थाल्नुभयो । माइती र पोइलीघर नजिकै भएको हुँदा उहाँलाई सुरुको बेला महिनावारी भएकै समयजस्तो अहिले पनि भइरहन्छ । घर, वस्तुभाउ, भाँडाकुँडा तथा पुरुष मान्छेलाई अहिले पनि छुन पाइँदैन ।

बस्ने, खाने, हिँड्नेदेखि पानी पँधेरा पनि छाउपडीका लागि अलग भएको उहाँले बताउनुभयो । “सबैभन्दा कष्टकर समय नै महिनावारीको बेलामा हुन्छ । तर हाम्रो गाउँ ठाउँमा देउताले भनेको नमाने उल्टै आफैँमाथि दुर्घटना हुने भन्छन् र डर लाग्छ । घर नजिकै पनि जान मन लाग्दैन ।”

उहाँले एकपटक सङ्घसंस्थाले भत्काएका छाउगोठ समाजले पुनःनिर्माण गरेको बताउनुभयो । “पहिलेका गोठभन्दा अहिले केही त राम्रा र अलि व्यवस्थित भएका छन् । तर, मनमा भने देउताको डर कहिल्यै हराउँदैन”, उहाँले भन्नुभयो । बुङ्गलमा विवाहित÷अविवाहित नभनी सबैले गोठमै बस्नुपर्ने उहाँले बताउनुभयो । “हाम्रो यता जोसुकै महिला भए पनि महिनावारी हुँदा छ दिनसम्म गोठमै बस्नुपर्छ । घरमा मेरो दुई जना छोरी पनि त्यसै गोठमा बस्छिन्”, उहाँले भन्नुभयो ।

रमिला, हरिना र सीतामात्रै होइनन्, बझाङमा हजारौँ महिला अहिले पनि महिनावारीका बेलामा छाउगोठमै बस्छन् । स्थानीय सरकारका जनप्रतिनिधि, प्रहरी र सरोकारवालाको अगुवाइमा छाउगोठ भत्काए पनि फेरि छाउगोठ बनाएर बस्न थालेका छन् । “छाउगोठको रूपमात्रै फेरिएको छ”, महिला अधिकारकर्मी तथा अल्पकालीन महिला सेवा केन्द्रकी इन्चार्ज गीता शाहीले भन्नुभयो, “संस्कार र सोच जहाँको त्यहीँ छ । मानसिकरूपमा चेत खुल्दैन भने गोठजन्य संरचना भत्काएर केही हुँदैन ।”

उहाँले मुलुक सङ्घीयतामा जानुअघि पनि जिल्ला विकास समितिको नेतृत्वमा छाउपडीमुक्त अभियान चलाएको र बीचमै रोकिएको बताउनुभयो । “सुरुमा छाउगोठ पनि भत्काइए”, उहाँले भन्नुभयो, “विभिन्न सङ्घसंस्थाले चेतनामूलक कार्यक्रम गरे । जिविसले पनि धेरै गाविसमा काम ग¥यो । पछि सबै निकाय सुस्ताए । स्थानीयवासीले छाउगोठ पुनःनिर्माण गरे ।” उहाँका अनुसार छाउगोठ भत्काउने अभियानका बेलामा केही महिलाले त त्रिपाल टाँगेर रात बिताएका थिए ।

उहाँले महिनावारी हुँदा घरभित्रै छुट्टै कोठामा बस्दै आएका महिला भने अन्धविश्वास तोडेर अघि बढेको बताउनुभयो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।