गुन्जिन छाडे ‘यानीमाया’ भाका

ढोरपाटन, ३० असोज । धवलागिरि क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’ । एक दशक अगाडिसम्म मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यानीमाया गीत अहिले गुन्जिन छाडेको छ । एकल तथा समूहिकरूपमा महिला र पुरुष भएर गाइने यो गीत नयाँ पुस्ताले भने गाउन सिकेनन् । यो गीत एक जनाले सुरु गर्ने र ऊसँगै समूहका अन्य कलाकारले गाउने गर्छन् । केहीले एकलरूपमा पनि गाउने गर्छन् । अहिले बजारमा आएका आधुनिक र लोकदोहोरीलगायतका गीतले गर्दा यानीमाया गीत गाइन छाडेको बूढापाकाको भनाइ छ ।

धवलागिरिको म्याग्दी, बागलुङमा बढी चर्चित यानीमाया गीत पर्वतका मगर तथा मुस्ताङका केही थकाली समुदायले गाउने गरेको पाइन्छ । खासगरी आदिवासी, जनजाति समुदायमा लोकप्रिय मानिने यो गीत मगर र छन्त्याल जातिले बढी गाउने गर्छन् । बजारमा भन्दा बढी गाउँहरूमा गुन्जिने यानीमाया गीत कम गाइन थालेको पाइन्छ ।

बागलुङ जिल्लाको निसीखोलाका बूढापाकाले अहिले पनि मेला महोत्सव हुँदा यो गीत गाउने गरेको पाइन्छ । तर पहिलेको जस्तो रौनक भने छैन । गाउँदा–गाउँदै मान्छेलाई रुवाउने र हसाउने यो गीत लोक र दोहोरी गीतभन्दा विल्कुलै फरक हुन्छ । गीतको बीच–बीचमा यानीमाया जोडेर गाइने हुँदा यसलाई यानीमाया गीत भन्ने गरिएको निसीखोला गाउँपालिका–६ सिपकी ५९ वर्षीया तिर्सना घर्तीमगरले सुनाउनुभयो । उहाँले यो गीत नयाँ पुस्ताले नजान्ने बताउनुभयो ।

“गीतहरू सबै एउटै हुँदैनन्, शब्दै एउटै भए पनि त्यसको लय फरक हुन्छ, यानीमाया गीतको बीच–बीचमा यानीमाया भनेर जोडिन्छ, त्यही भएर यसलाई यानीमाया गीत भन्ने गरिएको हो, पहिले–पहिले हामीहरूले निकै गाउने गथ्र्यौँ”, उहाँले भन्नुभयो, “अहिले यो गीत कहीँकतै पनि सुनिदैन, अहिलेका युवायुवतीले गाउन जान्दैनन्, हामी पनि बूढो भइयो, पहिलेको जस्तो स्वर तान्न सकिँदैन, यो गीतका लागि धेरै लामो स्वर तान्नुपर्छ, यानीमाया गीत गाउँदा–गाउँदै कति रुन्छन्, कति हाँस्छन्, यो गीतमा मान्छेलाई रुवाउने र हँसाउन सक्ने शक्ति हुन्छ ।”

घर्तीमगरले आफूहरूले रोधी बस्दा पनि यानीमाया गीत गाउने गरेको भन्दै अहिले रोधी नै बस्न छाडिएको बताउनुभयो । पछिल्लो समय रेडियो, टेलिभिजन तथा मोबाइलमा आउने आधुनिक र लोकगीतले यानीमाया गीत हराउन थालेको उहाँको भनाइ छ । घर्ती यानीमाया गीत कलाकारले पनि कमै मात्रा गाउने गरेको बताउनुहुन्छ ।

“हाम्रो गाउँतिर पहिले–पहिले रोधी बस्ने चलन थियो, रोधीमा तरुनी–तन्नेरी भएर गीत गाउने गथ्र्यौँ, धेरै वर्ष भयो रोधी बस्ने र गीत गाउने चलन हरायो, रेडियो टेलिभिजनमा आउने लोकगीत, आधुनिक गीत सुन्न थालेपछि यानीमाया गीत गाउन छाडिएको हो”, उहाँले भन्नुभयो, “यो गीत त कलाकारले पनि गाएका छैनन्, पुराना केही कलाकारले गाएको त सुनियो तर अहिले सुनिदैन ।”

उहाँले रोधीमा यानीमाया गीत गाउँदा–गाउँदै आफूले विवाहसमेत गरेको सुनाउँदै अहिले त्यो चलन हटेको बताउनुभयो । गीत गाउँदा–गाउँदै यस क्षेत्रमा धेरैले विवाह गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिले त रोधी बस्ने, गीत गाउने, गीत गाउँदा गाउँदै तरुनी तन्नेरी मन प¥यो भने बिहे गर्ने चलन थियो, अहिले रोधी पनि बस्न छाडियो, त्यसरी बिहे पनि हुँदैन, गीत गाउनेहरू पनि छैनन्, हामीभन्दा पछाडिका नयाँ युवाले यो गीत गाउँदैनन् ।”

बागलुङ गलकोटका पूर्णबहादुर श्रीषले यानीमायासँगै गीतमा मौलिकता हराउँदै गएको सुनाउनुभयो । उहाँले यानीमाया गीतहरूमध्ये विशिष्ट गीत रहेको जनाउँदै पछिल्लो समय धवलागिरि क्षेत्रमै निकै कम गुन्जिने बताउनुहुन्छ । “यानीमाया गीतले मौलिकता बोकेको थियो, त्यो गीतले जस्तो अन्य कुनै पनि गीतमा मौलिकता पाइँदैन, यसले साङ्गीतिक क्षेत्रमा सिङ्गो धवलागिरिको पहिचानलाई बेग्लै बनाउन सफल भएको थियो, अहिले हराउन थालेको”, उहाँले भन्नुभयो ।

उहाँले लोक, आधुनिक र पप गीतजस्तै रेकर्ड भएर विभिन्न माध्यमबाट नागरिकसम्म पुगेको भए अरु गीत ओझेलमा पर्ने बताउनुभयो । यानीमायासँगै सुनिमाया र शिरफुलेमाया पनि हराएको श्रीषको भनाइ छ । “यानीमाया तीन दिन तीन रात गाएर पनि सकिँदैन, गाउँदै गयो भने यसको गहिराइमा पुगिन्छ, गहिराइबाट निस्किन समय लाग्छ”, उहाँले भन्नुभयो, “अहिले गाइने गीतहरुजस्तै यानीमाया गीत पनि रेकर्ड भएर रेडियो, टेलिभिजन र मोबाइलमा आएको भए, अरु गीत ओझेलमा पर्ने थियो, यानीमाया गीत गाउन सुन्न थालियो भने अरु गीत सुनेजस्तो, गाएजस्तो हुन्न ।”

उहाँले यानीमाया गीत टिभी, रेडियोमा सुनेर नभई बूढापाकाले गाएको सुनेर सिकेको बताउनुभयो । कलाकारले यो गीतलाई रेकर्ड गरेर जनस्तरमा ल्याउन सके संरक्षित हुन सक्ने उहाँको भनाइ छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।