सङ्कटमा मादल व्यवसाय

ढोरपाटन, ३१ असोज । बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु हुनुहुन्छ । उहाँले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो । दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आउनुभएको थियो तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्नुहुन्छ । मादल व्यवसाय सङ्कटमा परेपछि दर्जीले पेसा बदल्नुपरेको हो । बाउ, बाजे र दाइहरुबाट सिकेको सीपले उहाँलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो । अहिले छोराहरु विदेश पलायन भए भने छोरीहरु बिहे गरी सके ।

उहाँले आफूसँग भएको सिप नबिकेपछि पेसा परिवर्तन गर्नुपरेको दुखेसो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “मलाई पाँचा÷सात वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिए, छोराछोरी पढाएको थिए, अहिले दुई जनाको पेट पाल्न पनि अरु काम गर्नुपर्छ, मादल बिक्री हुँदैन, बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ, अहिले गिट्टी बालुवा कुटेर पेट पालेको छु ।”

पहिले बाह्राँै महिना मादलको माग बढ्ने गरेको र पछि–पछि चाडबाडको बेला ग्राहक आउने गरेको जनाउँदै अहिले मादल बिक्रीनै नहुने उहाँको भनाइ छ । उहाँले कुनै बेला आफूलाई मादल बनाउन भ्याइनभ्याइ हुनेको गरेको स्मरण गर्दै अहिले केही ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको बताउनुभयो । अहिले मादलको मूल्यसमेत घटेको दर्जी बताउनुहुन्छ ।

“मेरो पसलमा पहिले बाह्रैमास मादल किन्ने आउँथे, हरेक महिना कम्तीमा पनि १० वटा मादल बिक्री ग¥थ्यौँ, मलाई मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो, बिहान उठेदेखि रातिसम्म नसुतुन्जेलसम्म मादल बनाइरहन्थे कमाइ पनि राम्रो हुन्थ्यो, वर्षमा झण्डै रु पाँच लाख कमाइ गर्थे, मूल्य पनि राम्रै पथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले मादल किन्न बेला मौकामा एक÷दुई जना मान्छे आउँछन्, उनीहरुलाई पहिले बनाएको मादल दिएर पठाउँछु, पहिलेको जस्तो मूल्य पनि पर्दैन, मैले एउटा मादलको रु १२ सयदेखि पाँच हजारसम्ममा बेच्ने गर्थें ।”

दर्जीले तिहारको बेला मादलको बढी माग हुने गरेको बताउनुभयो । गाउँ तथा सहरमा देउसीभैलो खेल्नेले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठूला–ठूलो साउण्ड सिस्टम किन्ने गरेको दर्जीको भनाइ छ । “तिहार आयो की मादल किन्नेको भीड लाग्थ्यो मेरो पसलमा, अहिले मादल किन्नभन्दा ठूला–ठूला स्पिकर किन्छन्, तिहारको गीत पनि गाउँदैनन्, कलाकारले गाएको गीत बजाएर नाच्ने गर्छन्, यसले त देउसीभैलो खेल्ने प्रचलनमा पनि विकृति ल्याएको छ”, उहाँले भन्नुभयो ।

निसीखोला गाउँपालिका–५ का कुलबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो । उहाँको पनि अचेल मादल कमै बिक्री हुन्छ । वार्षिक आठ सय बढी मादल बेच्ने नेपालीले अहिले ५० वटा पनि बिक्री गर्न नसकेको बताउनुभयो । पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनासन रहेको बताउनुभयो ।

“चार वर्षौं भइसक्यो मादल निकै कम बिक्छन्, तिहार आउने बेला अलिअलि बिक्री त हुन्छ, यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन, तिहारको बेला त मादल किन्ने ग्राहकको लाइन हुन्थ्यो, मादल पुराउनै सकिन्नथ्यो, अहिले हेर्नुस् त यति धेरै मादल बनाएँ, बिक्री नै हुँदैनन्” नेपालीले भन्नुभयो, “वर्षभरि मादल बनायो, बिक्री हुन्न, अब अरुनै काम गर्नुपर्ने भयो, अब यसबाट परिवार पाल्न सकिने भएन ।”

नेपालीले सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको बताउनुभयो । उहाँले मादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले मादल व्यवसाय पनि सङ्कटमा पर्न थालेको बताउनुहुन्छ । अहिले चाडबाड तथा मेला महोत्सवमा मादल, बाजा बज्नै छोडे र बाजाको ठाउँमा ठूलाठूला स्पिकर र साउण्ड सिस्टमको प्रयोग हुन थालेको नेपालीको भनाइ छ ।

“आजभन्दा १० वर्ष पहिले गाउँमा मादलको महत्व निकै थियो, मेला महोत्सव, विवाह व्रतबन्धमा मादल घन्किने गर्थे, विद्युत्को पहुँच थिएन, माइक, स्पिकर र राउण्ड सिस्टमको आएका थिएनन्, अहिले गाउँ–गाउँमा बिजुली बलेका छन्, बिजुली आएपछि मादलको माग घट्यो”, उहाँले भन्नुभयो, “अब मादल र बाजा हराउँदै जाने सम्भावना छ, मेला महोत्सवमा पनि बाजा र मादल बज्न छोडे ।”

गाउँ–गाउँमा सूचना प्रविधिको पहुँच पुगेपछि मादल व्यवसायी विस्थापित हुने अवस्थामा पुगेपछि बजारमा विद्युतीय सामग्रीको माग बढी रहेको व्यवसायी बताउँछन् । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा विद्युतीय सामग्री बेच्दै आउनुभएका जीवन शर्माले पछिल्लो समय ठूला–ठूला साउण्ड सिस्टम र माइकको माग निकै बढेको बताउनुभयो । उहाँले पहिले–पहिले चाडबाडको समयमा मादलको बिक्री अत्यधिक हुने गरेकोमा अहिले मादल कम र साउण्ड सिस्टम धेरै बिक्री हुने गरेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “अहिले बजारमा साना–ठूला साउण्ड सिस्टमको माग निकै बढी रहेको छ, अझ यो तिहारको बेलामा त झन बढी माग हुने गरेको छ, पहिले–पहिले मादल बेच्ने व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो, अहिले उनीहरुको व्यवसाय सुक्दै गएको छ, अहिले त मेला महोत्सव जताततै साउण्ड सिस्टम घन्किन्छन्, मादल त बज्नै छोडे, केही वर्ष अगाडिसम्म त गाउँमा जाँदा मादल बाजा घन्किने गरेको पाइन्थ्यो, अहिले त जताततै साउण्ड सिस्टममा गीत मात्रै सुनिन्छन् ।”(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।