पुर्ख्यौली पेशामा छैन खासै चमक

टङ्कीसिनवारी, २ कात्तिक । विराटनगर–७ को हाटखोलामा सुमन जाँतोवालाले लोहोरो सिलौटो र जाँतो बनाउने काम लामो समयदेखि गर्दै आउनुभएको छ ।

वहाँले बाबु बाजेले गरेकै पुर्ख्यौली काम सम्हालेको ३० वर्षभन्दा बढी भएको छ । तर आधुनिकताको प्रभाव बढेसँगै जाँतोवालाले सम्हालेको पेशामा ग्रहण लाग्दै गएको छ । कुनै बेला भान्साको शान भनेर चिनिने लोहोरो सिलौटो र जाँतोमा मसला र खाद्य सामग्री पिस्ने चलन विस्तारै छुट्दै गएको छ ।

परम्परागत लोहोरो सिलौटो र जाँतोको स्थान अब मिक्स्चर ग्राइन्डरले ओगटेको छ । श्रमको प्रयोग नगरी विद्युत्बाट सजिलै पिँधिने भएकोले सर्वसाधारण मिक्स्चर ग्राइन्डरमा आकर्षित भएका छन् । तर सजिलो र सुविधाका लागि सर्वसाधारणले आधुनिक उपकरणको प्रयोग गरिदिँदा परम्परागत र पुख्र्यौली पेशाको अस्तित्व नै सङ्कटमा पर्दै गएको छ ।

दस वर्ष अघिसम्म जाँतोवालालाई लोहोरो सिलौटो र जाँतोको माग धान्न भ्याइनभ्याइ हुने गरेको थियो । तर मिक्स्चर ग्राइन्डर र यस्तै अन्य आधुनिक उपकरणको बजारमा प्रवेशपछि उहाँ विस्तारै फुर्सदिलो बन्दै जानुभयो । कुनै बेला दिनको १० वटासम्म लोहोरो सिलौटो र चार वटा जाँतो बनाउने जाँतोवालाको उत्पादन तीन लोहोरो सिलौटो र एक जाँतोमा खुम्चिएको छ । तर थोरै सङ्ख्यामा बनाइएका लोहोरो र जाँतो पनि दुई–तीन दिनसम्म बिक्री हुँदैन । गधाको पिठिउँमा लादेर घर–घर डुलाउँदा समेत परम्परागत सामग्री बिक्री हुन गा¥हो छ ।

आफूले उत्पादन गरेको लोहोरो सिलौटो र जाँतो बिक्री हुन छाडेपछि जाँतोवाला र वहाँको परिवारको जीवन गुजारा कठिन बन्दै गएको छ । उहाँ भन्नुहुन्छ, “अब लोहोरो सिलौटो र जाँतो बनाउने पुर्ख्यौली पेशामा खासै चमक छैन ।’ बिजुलीबाट चल्ने आधुनिक उपकरणले परम्परागत एवं पुख्र्यौली पेशालाई ओझेलमा पारेको जाँतोवालाको ठम्याइ छ । कामले फुर्सद नभएको बेला उहाँलाई सघाउने जाँतोवालाकी श्रीमती हाल नातिनातिना खेलाउँदै व्यस्त हुनुहुन्छ ।

जाँतोवालाका दुई छोरा सोहित र सोहेलले पनि लोहोरो जाँतो बनाउने पुर्ख्यौली पेशा आफूहरूले नगर्ने बताउनुभयो । सोहित जागिरको खोजीमा हुनुहुन्छ भने सोहेलको मोह विदेश जानेमा छ ।

यस्तै विराटनगर–८ हाटखोला पुल छेउमा लोहोरो सिलौटो र जाँतोको पसल थाप्नुभएकी तुलसी जाँतोवालालाई के कमाउने के खाने भन्ने चिन्ता छ । अर्को काम नजानेकाले बाध्य भएर पुख्र्यौली पेशामा नै झुण्डिनुपरेको गुनासो तुलसीले गर्नुभयो । तुलसीका श्रीमान् अजय जाँतोवालाले लोहोरो सिलौटो र जाँतो बनाए पनि बिक्रीमा भने कठिनाइ उत्पन्न हुँदै गएको बताउनुभयो । उहाँले यो पेशा समय कटाउने मेलो मात्र भएको बताउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।