घाँस खेतीबाट मनग्य आम्दानी

त्रिवेणी, ३ कात्तिक । जिल्लाको गैँडाकोट नगरपालिकाका कृषक कृष्ण भट्टले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा घाँस खेती गर्दै आउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–१२ मा डेढ बिघा क्षेत्रफलबाट घाँस खेती सुरु गर्नुभएका उहाँले हाल १४ बिघा क्षेत्रफलमा घाँस खेती गर्दै आउनुभएको छ ।

श्री स्वस्थानी घाँस स्रोत केन्द्र तथा बाख्रा फर्म स्थापना गरी सोहीमार्फत जग्गा भाडामा लिएर उहाँले व्यावसायिक घाँस खेती गर्दै आउनुभएको हो । गैँडाकोटसहित देवचुली, कावासोतीका विभिन्न क्षेत्रमा उहाँले घाँस खेतीसहित उखु, गिठ्ठा लगाउनु भएको छ । व्यावसायिक घाँस खेतीमा लाग्नुभएका उहाँले यस खेतीबाट राम्रो आम्दानीसमेत गर्दै आउनुभएको छ । वार्षिकरुपमा घाँस बिक्रीबाट रु २५ लाखसम्म आम्दानी गर्ने गरेको उहाँको भनाइ रहेको छ । कृषक भट्टले घाँससहित घाँसका बिरुवासमेत बिक्री गर्दै आउनुभएको छ । “घाँस खेतीबाट राम्रै आम्दानी छ, थोरैबाट यसतर्फ लागे अहिले क्षेत्र विस्तार गर्दै गएको छु”, उहाँले भन्नुभयो, “घाँससहित घाँसका बिरुवाको बिक्रीसमेत राम्रो नै छ ।”

आफूले लगाएको घाँस जिल्लाकै पशुपालक किसानले खरिद गरी लैजाने गरेको उहाँले बताउनुभयो । घाँसका बिरुवा भने नवलपुरसहित देशका विभिन्न जिल्लाका किसानले खरिद गरी लैजाने गरेको कृषक भट्टले बताउनुभयो । घाँस बिक्रीमा खासै समस्या नभएको उहाँको भनाइ रहेको छ । जिल्लाका पशुपालक कृषक घाँस लगाएको खेतमै आएर घाँस खरिद गरी लैजाने गरेको बताउनुभयो ।

उहाँले सुपर नेपियर, मलाटो, नेपियरलगायतका घाँस खेती गर्दै आउनुभएको छ । घाँस प्रतिकेजी रु छ प्रतिकेजी र घाँसका बिरुवा प्रजाति हेरि प्रतिबिरुवा रु दुईदेखि रु ५० सम्ममा बिक्री हुने गरेको भट्टले बताउनुभयो । हरियो घाँसभन्दा घाँसको बिरुवा बिक्रीबाट धेरै आम्दानी लिने गरेको उहाँको भनाइ रहेको छ ।

घाँस पशुपालक किसानका लागि अतिआवश्यक भएकाले आफूले सबै जसो किसानलाई घाँसखेती गर्न उत्प्रेरित गर्ने गरेको उहाँले बताउनुभयो । घाँस लगाउँदा पशुपालक किसानका लागि दानाको विकल्प हुने हुँदा उत्पादन लागत घट्ने र यसले आम्दानी बढाउने हुँदा पशुपालक कृषकलाई घाँस खेती गर्न सुझाव दिने गरेको किसान भट्टको भनाइ छ । परालभन्दा समेत सस्तो हुने र हरियो घाँसमा पोषक तत्वसमेत कायम रहने हुँदा यो पशुपालक किसानका लागि लाभदायक हुने उहाँले बताउनुभयो । “दाना तथा परालको विकल्प घाँस हुन्छ, यसले एकातर्फ पशुलाई पोषिलो आहारा प्राप्त हुन्छ, अर्कोतर्फ उत्पादन लागत घटेर, आम्दानी बढ्छ”, उहाँले भन्नुभयो, “यसकारण मैले पशुपालक किसानले घाँस खेती गरुन् भन्ने चाहन्छु ।”

कृषि उत्पादनबाटै देशको अर्थतन्त्र मजबुत बनाउन सकिने धारणा राख्ने भट्टले कृषिको विकासका लागि राष्ट्रिय कृषि सैनिक तयार पार्नुपर्ने तर्क गर्नुभयो । धेरैभन्दा धेरै कृषिमा लाग्ने युवा तयार पारी उत्पादन वृद्धि गर्ने योजनाका साथ काम गर्नुपर्ने उहाँको धारणा रहेको छ । उहाँले घाँस खेतीसहित पाँच बिघा क्षेत्रफलमा रानी गिठ्ठाको समेत व्यावसायिक खेती गर्दै आउनुभएको छ । चार वर्षअघि रु १० लाखको लागतमा रानी गिठ्ठाको व्यावसायिक खेती सुरु गरेको कृषक भट्टले बताउनुभयो । एक पटक लगाएको गिठ्ठाबाट पटक पटक उत्पादन लिन सकिने उहाँको भनाइ छ । जमिनमुनि र माथि लहरामा समेत फल्ने भएकाले उत्पादन राम्रो भएको कृषक भट्टले बताउनुभयो । उत्पादित गिठ्ठा स्थानीय बजारसँगै, चितवन, पोखरा, काठमाडौँलगायतका सहरमा बिक्री हुँदै आएको उहाँले जानकारी दिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।