सयपत्री फूलबाट राम्रो आम्दानी

अच्युत रेग्मी/काठमाडौँ, ३ कात्तिक । काठमाडौँको नागार्जुनका कृषकले सयपत्री फूलको खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । काठमाडौँको नागार्जुन नगरपालिका–६ पोखरीडाँडाका किसानले तिहारमा अत्यधिक प्रयोग हुने सयपत्री फूल बिक्रीबाट राम्रो आम्दानी गरेका हुन् ।

बाँझो रहेको जग्गाको सदुपयोग गर्दै काठमाडौँको नागार्जुन–६ पोखरीडाँडाका कृषक ऋषि खत्रीले सयपत्री फूलको खेतीबाट वार्षिक रु एक लाखभन्दा बढी रकम आम्दानी गर्दै आउनुभएकोे छ । विगत पाँच दशकदेखि फूलको व्यावसायिक खेती गर्दै आउनुभएका खत्रीले बाँझो जग्गाको सदुपयोग गर्दै वार्षिक एक लाखदेखि डेढ लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । उहाँले पोखरीडाँडाको २६ आना जग्गामा फूलखेती गर्दै आउनुभएको छ ।

विसं २०१८ मा जन्मनुभएका खत्रीले सुरुदेखि नै घरमा सयपत्री फूलको खेती हुने गरेको बताउनुभयो । “विगत वर्षमा धेरै मात्रामा फूलको खेती गथ्र्यौँ, अहिले जग्गा बिक्री वितरण हुँदा र खेती गर्ने व्यक्ति नहुँदा फूलको खेती घटेको छ”, उहाँ भन्नुहुन्छ । तिहार सुरु हुन केही दिन बाँकी रहे पनि फूल खोज्न भने व्यापारीहरू यतिखेर पोखरीडाँडा जाने गरेका छन् ।

सोही गाउँमा विगत १२ वर्षदेखि फूल व्यवसायी गर्दै आउनुभएकी कान्छी गिरी पनि यतिबेला फूल टिपेर बजारमा पठाउने काममा जुट्नुभएको छ । तिहार सुरु हुन केही दिन बाँकी छँदा नै बजारमा फूलको माग आएकाले फूल टिपेर बिक्री वितरण गर्न सुरु गरेको बताउनुभयो । कान्छी गिरीले भने पोखरीडाँडाको एक रोपनी क्षेत्रफलमा फूलखेती गर्दै आउनुभएको छ । उहाँले फूल बेचेर घरखर्च चलाउँदै आएको बताउनुभयो । सोही गाउँमा मकै, कोदो, तरकारी उत्पादन हुने भए पनि त्यहाँका स्थानीयवासीले फूल व्यवसायलाई नै प्राथमिकता दिँदै आएका छन् । कान्छी गिरीले भने वार्षिक फूल बिक्रीबाट रु ३० हजारदेखि ५० हजार आम्दानी गर्दै आएको सुनाउनुभयो ।

“आफैँ बजारमा लगेर बेच्न पाए राम्रो आम्दानी हुन्थ्यो, घरमा आएका व्यापारीलाई बेच्दा राम्रो भाउ पाइँदैन”, उहाँ भन्नुहुन्छ । उहाँले एक ढ्वाङ (चारपाथीको टिन) को रु पाँच सयमा बिक्री वितरण गर्दै आएको सुनाउनुभयो । बजारमा फूल पु¥याउन सके एक ढ्वाङको रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी हुने उहाँको भनाइ छ । साउनमा बेर्ना सारेपछि तिहारमा ढकमक्क फूल्ने सयपत्री फूल यसपालि भने राम्रोसँग फुल्न पाएको छैन । एकातिर तिहार चाँडो पर्नु र अर्कातिर दसैँको समयमा भारी वर्षा हुँदा राम्रोसँग फूल फुल्न नपाएको किसान बताउँछन् ।

यतिबेला नागार्जुन नगरपालिकाको इचङ्गु, भैरवनाथ, पोखरीडाँडा, हवलदार बस्ती, भीरकोट, रामकोट, थाप्लेलगायतका स्थानमा फूल ढकमक्क फूलेको देख्न सकिन्छ । सोही स्थानमा दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेका ठूलोभाइ गिरी चाडपर्व चाँडो परेको कारण फूल राम्रोसँग फुलिनसकेको बताउनुहुन्छ । सोही क्षेत्रमा फुल्ने फूलहरु विशेष गरेर काठमाडौँको असन, इन्द्रचोकलगायतका स्थानमा बिक्री वितरण हुँदै आएको छ ।

नेपालमा तिहारको समयमा सयपत्रीको माला बढी प्रयोग हुन्छ । तिहारमा दिदीबहिनीले टीका लगाइदिँदा सप्तरङ्गी टीकासँगै मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने प्रचलन रहिआएको छ । तिहारमा लक्ष्मीपूजा, कुकुर, गाई, गोरुको पूजा गर्दा पनि सयपत्री फूलको प्रयोग हुन्छ । आजभोलि तिहारको समयमा घर कार्यालय सजाउनका लागि सयपत्रीको फूलको माला प्रयोग गरिन्छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।