टपरी बुन्न सिक्दै विद्यार्थी

दमौली, ८ कात्तिक । तनहुँको व्यास नगरपालिका–१० स्थित शतिश आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सदीक्षा सोतीलाई टपरीबारे जानकारी भए पनि टपरी कसरी बनाइन्छ भन्ने बारेमा ज्ञान छैन ।

टपरीमा खाजा खाएको देख्नुभएकी उहाँलाई टपरी गाँस्ने तरिका सिक्न मन लाग्यो । उहाँको इच्छा विद्यालयले पूरा गरिदियो । “सालको पातलाई कसरी गाँसेर टपरी बुन्ने भन्नेबारे सिक्ने मौका पाएँ, सिकाइलाई निरन्तर अगाडि बढाएँ भने राम्रो टपरी बनाउन सक्छु,” उहाँले भन्नुभयो ।

विद्यालयले पढाइका साथै प्रयोगात्मक शिक्षा दिएकामा सोतीले खुसी व्यक्त गर्नुभयो । “पढाइका अलवा अतिरिक्त ज्ञानका कुरा सिक्न पाउँदा खुसी लागेको छ, सुरुआत भएकाले केही समस्या भए पनि निरन्तर गरेपछि राम्रो टपरी बुन्छु”, उहाँले भन्नुभयो ।

कक्षा १० मा अध्ययनरत सलिना भण्डारीलाई चाडपर्व, पूजाआजाका बेला टपरी देखे पनि कसरी बनाइन्छ भन्ने कौतुहलता थियो । “सालको पातलाई बाँसको सिन्काले गाँसेर टपरी बनाइन्छ भन्ने जान्ने मौका पाएँ, अब घरमा पनि टपरी गाँस्न सिक्छु,” उहाँले भन्नुभयो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीले टपरी गाँस्न सिक्नाका साथै सेलरोटी बनाउने तरिका पनि सिक्ने अवसर पाएका छन् । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित छात्राहरुलाई टपरी र सेलरोटी बनाउने सीप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दीर्घ दरैले जानकारी दिनुभयो ।

“नेपाली परम्परा अनुसारको कला सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित छात्राहरुलाई सालको पातबाट दुना, टपरी र सेलरोटी बनाउने तरिका सिकाउने प्रयास गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले नेपाली कला र संस्कृति जीवन्त राख्न सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

नेपाली संस्कृतिअनुसार तिहारमा सेलरोटी पकाउने, सेलरोटीलाई टपरीमा राखेर खाने चलन छ । विद्यार्थीलाई संस्कृतिका बारेमा जानकारी दिँदै प्रयोगात्मक शिक्षा प्रदान गर्न यो कार्यक्रम गरिएको दरैले बताउनुभयो । “टपरी बुन्ने र सेलरोटी बनाउने प्रयोगात्मक ज्ञान सिक्न विद्यार्थीहरु इच्छुक देखिए”, उहाँले भन्नुभयो ।

प्रयोगात्मक शिक्षा चिरस्थायी हुने भएकाले विद्यालयले प्रयोगात्मक शिक्षालाई जोड दिँदै आएको दरै बताउनुहुन्छ । “घोकन्ते शिक्षा केही समयका लागि मात्रै हुने र प्रयोगात्मक शिक्षा दीर्घकालीनसम्म हुने भएकाले विद्यार्थीलाई यसमा जोड दिँदै आएका छौँ”, उहाँले भन्नुभयो, “यसलाई निरन्तर रुपमा सञ्चालन गर्छौं ।”

विद्यालयमा अध्यापनरत बुद्धिमाया दरै, शान्ता पौडेल, भगवती पौडेल, अञ्जना दरै, इन्दिरा तिमिल्सिना लगायतले विद्यार्थीलाई टपरी बुन्ने र सेलरोटी बनाउने तरिकाबारे सहजीकरण गर्नुभएको थियो ।

पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवा पुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि छैन । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।