फस्टायो ढाकाको व्यापार

तानसेन (पाल्पा), १० कात्तिक । उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन् ।

विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअनुसार विविधिकरण भएपछि माग बढ्दै गएको हो । “पहिला–पहिला पाल्पाली ढाका भनेपछि टोपीमात्र चिनिन्थ्यो, अहिले महिला, पुरुष, बालबालिका सबैका लागि थरिथरिका उत्पादन हुन थालेका छन् ।” तानसेनमा ढाकाको व्यापार गर्दै आउनुभएकी ज्ञानु कार्की भन्नुहुन्छ, “बच्चादेखि वृद्धसम्मलाई शिरदेखि पाउसम्मका सामग्री ढाकाबाट बन्ने गरेका छन् ।”

तिहार भित्रिएसँगै पाल्पाली ढाकाको व्यापार पनि ह्वात्तै बढेको छ । दुई वर्ष कोरोना सङ्क्रमणका कारण ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको हो । कोरोना सङ्क्रमण दर कम भएसँगै तिहारका अवसरमा दिदीबहिनीले दाजुभाइलाई ढाकाका सरसामान उपहार दिने चलनले गर्दा ढाकाको व्यापार अन्य समयमा भन्दा बढी हुने गरेको हो । पाल्पाका मुख्य बजार तानसेन, रामपुरलगायत स्थानका ढाका पसलमा दाजुभाइका लागि ढाकाको टोपी, आस्कोट, टाइ, ब्याग र दिदीबहिनीका लागि पछ्यौरा, सारी, कुर्ता सुरुवाल, झोलालगायतका उपहारका सामान किन्नेको भीड बढेको छ ।

तिहारमा टीका र मालाका साथ शिरमा ढाका टोपी लगाउँदा नेपालीपन झल्कने हुँदा यसको प्रयोग बढी हुने गर्दछ । तिहारको दिन दाजुभाइले दिदीबहिनीलाई ढाकाका सारी, पछ्यौरा, झोलालगायतका सामग्री उपहार दिने चलन रहेको तानसेन–२ का उमेश गैरे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ढाकाका सामग्री हेर्दा राम्रो र पाल्पाको पहिचान भएकाले अन्य सामग्रीको सट्टा तुलनामा बढी उपहार दिने गर्दछौँ ।”

एउटा पाल्पाली ढाका टोपीको मूल्य रु एक सयदेखि रु दुई हजार पाँच सयसम्म पर्छ । जिल्लामा २४ पाल्पाली ढाका कपडा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यी उद्योगमा पाँच हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएका छन् ।

तानसेनमा ढाका व्यवसाय गर्दै आउनुभएकी प्रमिला कार्कीका अनुसार दसैँदेखि तिहारसम्ममा एउटै पसलबाट रु एक लाखदेखि रु पाँच लाखसम्म बिक्री हुने गरेको छ । गत वर्ष रु १० करोड हाराहारीमा कारोबार भएको पाल्पाली ढाका यस वर्ष रु १२ करोडसम्मको कारोबार हुने अनुमान गरिएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।