निर्माण व्यावसायमा उदाहरणीय बन्नुभएकी सुमन

सुशीला रेग्मी/रामपुर (पाल्पा), ११ कात्तिक । भवन निर्माणमा पुरुषकै नेतृत्व प्रायःजसो भेटिन्छ । महिला मजदुर वर्गमै सीमित रहन्छन् । संरचना बनाउने जिम्मेवारी पुरुषले नै लिने गर्छन् । तर सुमन खाम्चा मगर भने पूर्वी पाल्पाकै एक्ली महिला निर्माण व्यावसायी हुनुुहुन्छ । अहिले उहाँलाई यस क्षेत्रमा भवन निर्माणको काममा भ्याइनभ्याई छ ।

पाल्पाको रामपुर नगरपालिका–४ स्थित बाङ्गेपसलकी सुमन करिब दुई दशकदेखि यस क्षेत्रमा आबद्ध हुनुहुन्छ । एक दशकदेखि भने आफ्नै नेतृत्वमा घर भवन निर्माण गरिरहनुभएको छ । सुरुमा ढुङ्गा, इँटा, छड, सिमेन्ट बोक्ने, तारजाली भर्ने, गारो लगाउने, प्लाष्टर गर्ने काम गर्नुभएकी उहाँले यतिबेला समाजमा अब्बल र साहसी महिला निर्माण व्यावसायीका नामले आफ्नो पहिचान बनाउनुभएको छ । आफूले पढ्ने रहर भएर पनि परिवारको अर्थावस्थाले पढ्ने वातावरण नबनेपछि श्रीमान्सँगै सुमन यस क्षेत्रमा लाग्नुभएको हो ।

उहाँ भन्नुहुन्छ, “मैले पढ्न नपाए पनि दुःख गरेर छोरीलाई काठमाडौँमा राखेर उचित शिक्षामा लगानी गरिदिएको छु, छोरीले पनि चारवर्षे कम्प्युटर इञ्जीनियरिङ उत्तिर्ण गरिन्, मैले भोगेको दुःख छोरीले भोग्न नपरोस् ।”

पूर्वी पाल्पा मजदुर व्यवसायी समितिको उपाध्यक्षसमेत रहनुभएकी सुमन घरमा बेरोजगार बसेका महिलालाई आर्थिक उपार्जनका निम्ति आफूले सीप सिकाएर काम दिने गर्नुहुन्छ । समय र कामअनुसार मजदुरलाई पारिश्रमिक उपलब्ध गराउँदै आएको उहाँ बताउनुहुन्छ । सुमनको नेतृत्वमा काम गर्ने मजदुरले दैनिक आठ घण्टा काम गरेवापत रु छ सयदेखि रु एक हजारसम्म ज्याला बुझ्छन् । उहाँले दैनिक न्यूनतम १० देखि बढीमा २० कामदार परिचालन गर्दै आउनुभएको छ ।

“हातमा सीप भएपछि पुरुषसरह नै काम गर्न सकिन्छ, अरुको भरमा रहँदा महिला हेपिनुपरेको छ”, उहाँले भन्नुभयो, “यस कामबाट समाजमा दाम र नाम मिलेको छ, यसमा म एकदमै सन्तुष्ट छु । तर कतिपय सन्दर्भमा भने मजदुर वर्ग भनेपछि गाउँ समाजमा कामको सम्मान छैन ।”

आफूले सकुञ्जेलसम्म यसै व्यवसायमा रहने सुमनको भनाइ छ । विभिन्न स्थानबाट माग आए पनि कामको चापले रामपुर नगरपालिकाभित्रै व्यस्त हुनुहुन्छ । हाल उहाँ दुईवटा घरको ठेक्का लिएर काम गरिरहनुभएको छ । उहाँले आवासीय घरमात्र नभई विद्यालय तथा मस्जिद, विभिन्न सङ्घसंस्थाको भवन निर्माण गर्दै आउनुभएको छ ।

सम्बन्धित घरधनी तथा सङ्घसंस्थाले दिएको आकारअनुसार नै जस्ताको तस्तै निर्माण गर्ने उहाँको कला छ । त्यसकारण पनि सुमन यस क्षेत्रकै निर्माण व्यवसायीमा साहसी, सफल व्यवसायीका रूपमा कहलिनुभएको छ । यस क्षेत्रमा काम सुरु गरेपछि साढे चार आनाको जग्गा किनेर घर बनाउनुभएको छ भने दुई घडेरीसमेत जोड्न सफल हुनुभएको छ । अहिले श्रीमान् र श्रीमती नै यसै क्षेत्रमा सक्रिय भएर काम गरिरहनुभएको छ । हातमा सीप भएका कारण कोभिड–१९ को समयमा पनि उहाँलाई एक दिन खाली बस्नु परेन ।

यस व्यवसायमा खर्च कटाएर वार्षिक न्यूनतम रु दुई लाख बराबरको कमाइ गर्दै आउनुभएको छ । घर भवन निर्माणमा आवश्यक पर्ने करिब सात लाख बराबरको विभिन्न सामग्री आफैँ बन्दोबस्त गर्नुभएको छ । बर्सेनि रु एक लाख ५० हजारभन्दा बढी सामग्री खरिदमा नै लगानी गर्नुहुन्छ । हालसम्म तीन सय बढी घर भवन निर्माण सम्पन्न गरिसक्नुभएको छ ।

निर्माण व्यवसायसम्बन्धी व्यावसायिक तालिम परिषद्बाट छ महिने तालिम लिनुभएको छ । रामपुर क्षेत्रमा मात्रै करिब ६० भन्दा बढी निर्माण व्यवसायी आबद्ध छन् । पूर्वी पाल्पामै यस क्षेत्रमा उहाँ एक्लो महिला व्यवसायीका रुपमा चिनिनुहुन्छ । महिलाको नेतृत्वमा आफू ज्यालादारीमा काम गर्ने अवसर पाउँदा धेरै सहज भएको बताउनुहुन्छ, २९ वर्षीया सपना परियार । सुमनकै प्रेरणा र साथ पाएपछि घर बनाउने मिस्त्री काम सिक्नुभएकी सपनालाई यतिबेला यस क्षेत्रमा काममा भ्याइनभ्याई नै छ ।

“महिलाका समस्या बुझ्ने महिलाले नै हो रहेछ, कतिपय समस्या आइपरे पनि झट्ट पुरुषलाई भन्न अप्ठ्यारो लाग्ने, सुरक्षाका हिसाबले महिला निर्माण व्यवसायी भएपछि ढुक्कसँग काम गर्न पाइयो, आफ्नै सन्तानसरह व्यवहार पाएकी छु, त्यसैले एक दिन पनि घरमा आराम गरेर बस्नै मन लाग्दैन”, उहाँले भन्नुभयो ।

कक्षा ७ सम्मको औपचारिक शिक्षा लिनुभएकी सपनाका १० र १२ वर्षका दुई छोरा छन् । हाल दैनिक मजदुरीबाट रु छ सय ज्याला बुझ्नुहुन्छ । यसैबाट परिवारको जीविका र दुई छोराको पढाइ खर्च चलेको छ । सात वर्ष अगाडि भारतमा रोजगारी गर्न जानुभएका उहाँका श्रीमान्को मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएपश्चात् उहाँ मजदुरीकै भरमा गुजारा चलाउन बाध्य हुनुहुन्छ । उहाँले सिमेन्ट घोल्ने, घरको गारो लगाउने, प्लाष्टर गर्नेजस्ता घर भवन निर्माणका सबैजसो सीप सिक्नुभएको छ ।

निर्माण व्यवसायमा महिला भए पनि पुरुषसरह नै हिम्मत र साहस, व्यवसायमा सफल र सबैका लागि प्रेरणादायी, उदाहरणीय महिलाका रूपमा रहेको कपिलवस्तुको गोरुसिङ्गेका ६० वर्षीय टीकाराम थारू बताउनुहुन्छ । उहाँ पनि सुमनकै नेतृत्वमा अहिले भवन निर्माणमा संलग्न हुनुहुन्छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।