‘आश्वासन धेरै पाइयो, विकासको अनुभूति पाइएन’

रामपुर (पाल्पा), १५ कात्तिक । निस्दी गाउँपालिका–२ सहलकोटस्थित सुकेकोटका रनबहादुर राना उमेरले ७२ वर्षको हुनुभयो । आफ्नो जीवनकालमा विभिन्न समयमा भएको निर्वाचनमा मतदान गर्नुभयो । उहाँ मताधिकार प्रयोग गर्न पाउने उमेरदेखि नै लगातार विभिन्न तहका निर्वाचनमा सहभागी भई मतदान गर्दै आउनुभएको छ । तर गाउँमा विकासको परिवर्तन नहुँदा उहाँ चिन्तित हुनुहुन्छ ।

यसपटक आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा मत माग्न उम्मेदवारहरू उहाँको घरदैलोमा पुगेका छन् । आफूले जानेदेखि नै सुनाएका, आश्वासन दिएका पुरानै योजना लिएर विभिन्न राजनीतिक दलका उम्मेदवार, नेता, कार्यकर्ता, स्वतन्त्र उम्मेदवार गाउँका नागरिकलाई विभिन्न योजना लिएर विश्वस्त पार्न आउने गरेको राना बताउनुहुन्छ ।

“चुनावका बेला जहिल्यै उही पुराना योजना लिएर उम्मेदवार आउँछन्, निर्वाचन जितेर गएपछि काम केही गर्ने होइनन्, नेताको अनुहार देख्नै पाइँदैन”, उहाँले भन्नुभयो, “सामान्य आधारभूत आवश्यकता पूरा नभएको ठाउँमा ठूला–ठूला विकासका योजना सुनाएर हामी गाउँका जनतालाई सधैँ भ्रममा पारिरहेका छन् ।”

गाउँमा दीर्घकालीन योजना बनाएर काम थालनी गर्ने हो भने धेरै कुराको विकास हुने ज्येष्ठ नागरिक रानाको भनाइ छ । यस गाउँमा ऐतिहासिक थुप्रै गुफाहरू छन् । यिनीहरुको संरक्षण नहँुदा यो ठाउँ सधैँ ओझेलमा परिरहेको छ । गुफा संरक्षण गरेर राम्रोसँग सञ्चालन गर्न सकेको खण्डमा आम्दानीको दरिलो आयस्रोत बन्ने उहाँ बताउनुहुन्छ ।

गाउँमा हिउँदयाममा सडक गुडे पनि वर्षायामका बेला सधैँ सास्ती नागरिकले भोगिरहनुपरेको छ । खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य, बाटोजस्ता सामान्य आधारभूत कुरा अझै पनि परिपूर्ति हुनसकेको छैन । जसले गर्दा यहाँबाट स्थानीय अन्यत्र बसाइँसराइ गएका छन् । बोलेका कुरा पूरा गर्न नसक्ने तर चुनाव आउँदैपिच्छे गाउँमा केन्द्रित भई स्थानीयलाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरिँदा यसपटकको चुनावमा यहाँका मतदाता खासै उत्साहित देखिँदैनन् ।

अहिलेको समयमा पनि गाउँमा खानेपानी, बिजुली, सडक, शिक्षा, स्वाथ्यजस्ता समस्यासँग नागरिक जुधिरहेका छन् । आधारभूत आवश्यकता गाउँमा नहुँदा हामी जनता सधैँ अन्धकारमा नै जीवन जिउनु परिरहेको बताउनुहुन्छ, बीना गाहा । “पाँच वर्षअघि भएको सङ्घ र प्रदेशको चुनावमा उम्मेदवारले खानेपानी धारा घर घरमै पु¥याइदिन्छौँ भनेका कुरा भाषणमा मात्रै सीमित बन्यो, अहिले पनि गाउँमा पर्याप्त खानेपानीको सुविधा छैन, एकवटा धारा पाँच–सात घरपरिवारले प्रयोग गर्नुपर्छ, कहिलेकाहीँ त अभावमा पानी उपयोग गर्नै पाइँदैन”, उहाँले गुनासो पोख्नुभयो ।

विद्युत् सेवा नहुँदा सोलार प्रणालीबाट बत्ती बालिए पनि पर्याप्त मात्रामा उपयोग गर्न स्थानीयले पाएका छैनन् । चुनावका बेला ल्याएका योजना कार्यान्वयन नहुँदा स्थानीयले उम्मेदवारलाई जनताको मन जितेर काम गर्न सुझाव दिएका छन् । चुनावका बेला गाउँ केन्द्रित हुने उम्मेदवार निर्वाचन जितेर सत्तामा पुगेपछि गाउँ नफर्कने, गाउँका समस्या सरकारसमक्ष नपु¥याउँदा विकासमा सधँै पछाडि परिरहेको तिलिसरा राना बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “एकै ठाउँबाट लगातार निर्वाचन जित्ने तर विकास नगर्ने नेतृत्वले गर्दा गाउँमा विकासको लहर आएन, विगतका चुनावलाई हेर्दा हामी जनतालाई आशमात्रै दिलाउने काम भयो, जनतालाई विकासको अनुभूति नदिने नेतृत्व विकास निर्माणको बाधक हुन्, अब जसले जनमतको कदर गर्छ, उसलाई हाम्रो मतदान ।”

गाउँमा राम्रो विद्यालय नहँुदा छोराछोरी सहरबजारमा भाडामा राखेर पढाउनुपर्ने बाध्यता स्थानीयवासीले भोग्नुपरेको तिलिसराले बताउनुभयो । उचित शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सडकको राम्रो प्रबन्ध भयो भने स्थानीयले गाउँ छाड्दैनथे । सामान्य आधारभूत समस्याका कारण गाउँका उर्वरशील जमिन, थाकथलो नै छाड्न बाध्य छन् ।

सहलकोट क्षेत्रमा घरबास (होमस्टे) सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना छ । हरियाली डाँडाकाँडाले भरिएको, उत्तरतर्फ कालीगण्डकी नदी बहेको, हिमालको मनोरम दृश्यले सबैलाई लोभ्याउने प्राकृतिक सौन्दर्यता छ ।

अघिल्ला वर्षका निर्वाचनमा गाउँमा होमस्टे सञ्चालन गर्ने योजना ल्याउँदा ग्रामीण भेगका नागरिकमा ठूलो आशा र उत्साह छायो । सो आशाले स्थानीयले मतदान गरे तर अहिलेसम्म यहाँ घरबासको काम भने हुनसकेको छैन । अब पनि जनतालाई आफ्नो पक्षमा मतदान गर्न विभिन्न प्रलोभन देखाउँदै आश्वासन नदिन यहाँका स्थानीयको विभिन्न दलका नेता, कार्यकर्ता, स्वतन्त्र उम्मेदवारसँग आग्रह छ ।

गाउँमा शिक्षाको कमीका कारण बालविवाहमा कमी आउन सकेको छैन । चेतनाको स्तरवृद्धि गर्न विभिन्न शिक्षामूलक कार्यक्रम अतिआवश्यक छ । परिवारमा अशिक्षाको कमीले सानै उमेरम घरजम गर्ने क्रम गाउँमा विद्यमान नै छ । सो समस्याको समाधानतर्फ अबका नेतृत्वले प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ ।

सङ्घ र प्रदेश तहको निर्वाचनका चुनावी प्रचारात्मक कार्यक्रम गाउँघर केन्द्रित बनेको छ । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि विभिन्न दलका उम्मेदवार, स्वतन्त्र उम्मेदवार, नेता, कार्यकर्ता आफ्नो पक्षमा मतदान गर्न गाउँ–गाउँमा पुगेका छन् । मतदाताले अघिल्ला निर्वाचनका बेला गरेका बाचा, प्रतिबद्धताअनुसार गाउँमा काम नभएको असन्तुष्टि पोखिरहेका छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।