‘राहतको पर्खाइमा बित्यो वर्ष दिन’

भूमिराज पिठातोली/बझाङ, १५ कात्तिक । खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देखिने बित्तिकै राहतको आश्वासन दिन आएको सम्झिनुहुन्छ । उहाँ बझाङ–बाजुरा जाने सडक गाउँमै भएको हुँदा गाडी रोकिए पनि राहतको कुरा सुनाउन आएको हुनसक्ने अनुमान गर्नुहुन्छ ।

गाउँमै बाटो भएपछि त मानिस ओहोरदोहोर गर्दा उहाँलाई एक दुई जना दानी मानिस (दाता)को आशा नलाग्ने कुरै भएन । उहाँ दिनहुँ आशा देखाउनेको बाटो हेर्दैमा दिन बितेको पत्तै पाउनुहुन्न । हुन पनि एक वर्षको बीचमा खाती परिवारलाई राहतको कुरा तीन दर्जन बढी मानिसले सुनाइसके । कसैले पालिकासँगको समन्वयमा राहत दिने भने त कसैले प्रदेशसँगको समन्वयमा राहत दिने भने । तर महिना बित्यो, वर्ष बित्यो राहत आएन ।

“बाढी आएको एक वर्षभन्दा बढी भइसक्यो । हामी त्यो बेलादेखि राहतकै पर्खाइमा छौँ”, उहाँले भन्नुभयो, “आश्वासन दिने ३०–३५ जना आइसके, तर कसैले पनि सम्झिएनन् । ‘दाता’ भनाउँदाको बाटो हेर्दैमा बित्यो वर्ष दिन ।”

गत वर्ष कात्तिक २ गते आएको बाढीले खातीगाउँवासीले सर्वश्व गुमाए । दुई परिवारले त रित्तो ज्यानबाहेक सबै गुमाए । अर्काका छानोमा बसेका दुई परिवारलाई तीन–चार जनाले केही खाद्यान्न पनि सहयोग गरे भने आफन्तले भाँडाकुँडा तथा लुगाकपडाको व्यवस्था गरे । “सहयोगप्राप्त गरेको रकम तथा अन्नले दुई महिनालाई खान पुग्यो”, बाँकी समय भने आफन्तको सहयोगमै गुजारा गरिरहेको उहाँले बताउनुभयो ।

गत वर्ष बाढीपछि समाजसेवी धिरा खत्रीले १० हजार, कलक खत्रीको टिमले पाँच हजार र अन्य केही व्यक्तिले अन्न सहयोग गर्नुभएको थियो । ज्ञानदेवी खातीले भन्नुभयो, “बाढी आएको साढे १३ महिना हुन लागिसक्यो । सर्वश्व गुमाएका हामीहरू अझै भोक मेटाइको पर्खाइमै छौँ । तिहार–सिहार त हाम्रो लागि परको कुरा ।” उहाँले भोको पेटले आश्वासन थेग्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भोको पेटले आश्वासन थेग्न सक्दैन रहेछ । धेरै निकायले दिगो व्यवस्था गर्छौँ भनेर आश्वासन बाँडे । तर, हामीलाई भने कसरी भोक मेटाउने चिन्ता लागिरहन्छ । जाने कतै ठाउँ छैन न त खाने गास नै ।”

ठूलो परिवार त्यसैमा बालबालिका बढी भएको हुँदा मजदुरी गर्न सहर पनि जान नसकेको उहाँले बताउनुभयो । “गाउँघरमा कतै योजना आएमा काम गर्न त हुन्थ्यो, गाउँ खोला नजिक भएको हुँदा योजना पनि आउँदैन । सहर पस्नलाई सहरबारे जानकारी नै छैन”, उहाँले भन्नुभयो ।

अहिले प्रेमबहादुर बसेको छानोमा दाताले दिएको चामलको आधा बोरा जति छ । प्रेमबहादुरले भन्नुभयो, “एक जनाले चामल दिनुभएको थियो । जोगाएर खाँदा पनि सकिनै लाग्यो । त्यसपछि कसलाई माग्ने ? के गर्ने ? कसरी छाक टार्ने होला भनेर चिन्ता लागिरहेको छ ।”

खोलाले बगाउन बचेको जमिनमा दुई केजी जति कोदो फलेको देखाउँदै उहाँले भन्नुभयो, “घरमा छ जना छौँ । आफू बूढो भइसकेँ, छोराको त्यस्तो हालत छ (प्यारालाइसिसको बिरामी) । नाति–नातिना सानै छन् । भएको सम्पत्ति सबै बाढी निल्यो”, उहाँ टोलाउनुहुन्छ ।

खातीगाउँमा सर्वश्व गुमाएका प्रेमबहादुर र ज्ञानदेवीको परिवार हुन् । अन्य परिवारको पनि घरबाहेक केही छैन । “अहिलेसम्म घरको सास त जोगिएकै छ”, धन्धुरी खातीले भन्नुभयो, “अहिले बस्नलाई घर त छ । तर खानलाई केही छैन । गत वर्ष बचेको खायौँ, यसपटक सबै घर अन्नविहीन छन् ।”

बाढी आएको साढे १३ महिनासम्म खातीगाउँवासीले स्थानीय सरकार भएको महसुससमेत गरेका छैनन् । “राहतका लागि गाउँपालिका गयौँ । पालिकाले उल्टै पीडा थप्ने झटारो हानेर पठायो”, धन्धरीले भन्नुभयो, “राहतका लागि जाँदा अघिल्लो अध्यक्ष वर्कबहादुर रोकायाले खोला नजिक घर किन बनाएको भन्दै झपारेर पठाउनुभयो ।”

केही दाताले सहयोग गरे पनि गाउँपालिकाले भने राहतको नाममा खुर्सानीसमेत नदिएको उहाँले बताउनुभयो । “अहिलेका अध्यक्षले आश्वासन दिएको पनि सात महिना भइसक्यो । सहयोगको नाममा शून्य छ । चुनावको बेलामा कापीमा टिप्नुभएको त थियो । खै कता बिर्सनुभयो ?” उहाँले भन्नुभयो ।

अहिले खातिगाउँबासी राहतभन्दा पनि झरी पर्ने बित्तिकै आत्तिन्छन् । धन्दरीले भन्नुभयो, “झरी परे निकै डर लाग्छ । फेरि कात्तिकको महिना । गत वर्ष कात्तिकमै आएको बाढीले नमिटिने छाप बसाएको छ । दिउँसो भए त दौडधुप गर्न सकिन्छ । राति पानी परे त जाग्राम बस्नु नियमितजस्तै भइसक्यो ।”

बाढीले पु¥याएको क्षति खातीगाउँ मात्रै नभई सबै वडाका खोला किनाराको बस्तीमा छ । गडरायदेखि तमैल बजारको भू–भागसम्म बाढीले करोडौँ मूल्य बराबरको क्षति पु¥याएको छ ।

खप्तडछान्ना गाउँपालिका–५ का विष्ट परिवार पनि अहिले खापरदेव क्याम्पसको भवनमा आश्रय लिइरहेका छन् । गत वर्ष कात्तिकमा आएको अविरल बाढीका कारण घरको जगदेखि नै पहिरो आउँदा भागदौड मच्चिएको थियो । स्थानीय सरकारले चासो नै नदिएपछि उनीहरू अहिले क्याम्पसको भवनमा बस्दै आएका छन् । वडा नं १ को मुसुराडीमा पनि बाढीपीडित राहतकै पर्खाइमा बसेका छन् । बाढी आएको बेलामा ज्यान जोगाउन भागेका दलित समुदाय अहिले पानी पर्दासमेत निदाउन सक्दैनन् ।

वडा नं १ का वडाध्यक्ष देवीभक्त जोशी भने आफूसँग बजेट नहुँदा केही गर्न नसकेको बताउनुभयो । “बाढीपीडितलाई निकै समस्या छ । तर हामीसँग सहयोग गर्नलाई बजेट पनि छैन । यस वर्षका लागि बजेट त छुट्याएका छौँ । तर पीडित धेरै भएको हुँदा पर्याप्त भने मुस्किल नै छ”, उहाँले भन्नुभयो ।

खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकाया पनि बजेटको अभाव नै देखाउनुहुन्छ । “खातीगाउँवासीको मात्रै होइन, छान्नामा धेरै नै बाढीपीडित छन् । उहाँहरूका लागि हामीले सोचेका छौँ । बजेटको अभावले समस्या भएको हो । यसपटक समस्या समाधान हुन्छ”, उहाँले भन्नुभयो ।

रोकायाले अघिल्लो सरकारले बजेटबिना नै रकम छुट्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो सरकारले बजेटबिना नै छुट्याएको थियो, त्यसैले दिन सकेन । अहिले बाढीपीडितका लागि रकम छुट्याएका छौँ, कार्यान्वयनमा गइसकेको छ ।” आफूसँग पर्याप्त बजेट नभएको भन्दै उहाँले भन्नुभयो, “हामीसँग ठूलो बजेट पनि छैन, संघीय सरकारसँग पटक–पटक आग्रह गर्दा पनि चासो देखाएन । गृहमन्त्री नै अवलोकनका लागि आएको बेला सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि माग ग¥यौँ, तर कतैबाट सुनुवाइ भएन ।”(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।