तीनमुखे झोलुङ्गे पुल : सहज यात्रासँगै अर्थोपार्जनको पर्खाइमा

सन्तोष महतारा/रेसुङ्गा (गुल्मी), २१ कात्तिक । नेपालका चारधाममध्येको एक धाम रूरूक्षेत्र । जहाँ तीन जिल्लाको सङ्गमस्थल पर्दछ । तीन जिल्लाको सम्बन्ध रूरूक्षेत्र धामले मात्र होइन बजारले पनि जोडेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जोडेको यस क्षेत्रमा स्थानीय सानै कामका लागि पनि एकअर्काको जिल्लामा आवतजावत गर्नुपर्दछ ।

आफूहरू डुङ्गामा निकै जोखिम मोलेर आवतजावत गरेको सम्झनुहुन्छ स्याङ्जाका स्थानीय अमरप्र्रसाद कोइराला । उमेरले ७५ वर्ष पुग्नुभएका उहाँको स्थानीय बजार गुल्मीको रिडी हो । जहाँ सयौँ पटक ज्यान जोखिममा राखेर कालीगण्डकी नदीमाथि डुङ्गामा यात्रा गरेको सम्झना भइरहेको उहाँले बताउनुभयो तर, अहिले उहाँ एक झोलुङ्गे पुलको भरमा निकै सहज यात्रा गर्नुहुन्छ ।

झोलुङ्गे पुलको कारणले जोखिमपूर्ण यात्रा हटेको कोइरालाले बताउनुभयो । “केही वर्ष पहिले हामी डुङ्गामा जोखिमपूर्ण यात्रा गरेर आवतजावत गर्नुपर्ने अवस्था थियो ।” स्याङ्जाका स्थानीय कोइरालाले भन्नुभयो, “तीनमुखे झोलुङ्गे पुलले अहिले हामी स्थानीयलाई निकै राहात पुगेको छ ।” उहाँ गुल्मी मात्र नभई पाल्पा जान पनि एउटै पुलले राहत दिलाएको छ । यसको कारण तीन जिल्ला जोडेको तीनमुखे पुल हो । उहाँले तीनमुखे पुलका कारण रिडीको आर्थिक उपार्जनमा सहयोग पुग्ने पनि बताउनुभयो । दसैँ र तिहार तीनमुखे पुल अवलोकन गर्ने बढेको उहाँले सुनाउनुभयो ।

त्यस्तै, गुल्मीका बलबहादुर दरौजाले तीनमुखे पुलका कारण आवतजावतमा निकै सहज र आन्तरिक पर्यटकको घुइँचो लागिरहेको जानकारी दिनुभयो । तीनमुखे नमूना पुलले धेरै राहात गुल्मेलीलाई मिलेको र तीन जिल्लाको सम्बन्ध तीन नदी मिसिएको जस्तै भएको उहाँले बताउनुभएको छ । उहाँले पाल्पा र स्याङ्जा जान रिडीवासीलाई निकै सहज भएको पनि बताउनुभयो । साथै पाल्पाका स्थानीय सोनी गैरेले पुलका कारण तिन जिल्लाको आवतजावत झनै नजिकिएको सुनाउनुभयो । “सबै ठाउँमा दुई जिल्ला जोड्ने मात्र पुल देखेकी थिएँ ।”उहाँले भन्नुभयो, “तीन जिल्ला जोडेको चीनमुखे पुलले धेरै पर्यटक आर्कषण गर्न सक्छ ।” उहाँले नमूना पुलको प्रचारप्रसार गरेर पर्यटकलाई आकर्षित गर्न पनि सरोकारवाला निकायालाई आग्रह गर्नुभयो । उहाँले बजारको लागि रिडी जान र स्याङ्जाको आवतजावतमा आफूहरूलाई सहजता भएको बताउनुभयो ।

तीनमुखे झोलुङ्गे पुलले गुल्मीको रूरूक्षेत्र गाउँपालिका–१ रिडी, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ जोडेको छ । यसले तीन जिल्लाअन्तर्गत यस क्षेत्रका स्थानीयवासीको आवतजावतमा निकै सहजता ल्याएको छ भने पर्यटकीय सम्भावना पनि बोकेको छ ।

झोलुङ्गे पुलको शिलान्यास १५ मङ्सिर २०७१ मा तत्कालीन संविधानसभा सदस्य कांग्रेसका युवा नेता डा चन्द्र भण्डारीले गर्नुभएको थियो । तीन जिल्ला जोड्ने तीनमुखे पुलको परिकल्पना भने तत्कालीन मुख्यसचिव लिलामणि पौडेलले गर्नुभएको हो । पुल एसिया महादेशको पहिलो तीनमुखे झोलुङ्गे पुल भएको कांग्रेस नेता डा भण्डारीले बताउनुभयो । पुल मङ्सिर २०७१ बाट निर्माण सुरू भएको थियो ।

झण्डै रु १० करोड लागतले आठ वर्षको समयावधिमा निर्माण सम्पन्न भएको उक्त पुल गत वैशाखमा निर्माण सम्पन्न भएको थियो । यसको उद्घाटन भने हुन बाँकी छ । “निर्माणको काम सुरू गरेको आठ वर्षमा हामीले तीनमुखे पुलको निर्माण गत वैशाखमा सकेका छौँ ।” निर्माण व्यवसायी बर्माले भन्नुभयो, “अब स्थानीय तह, प्रदेश र केन्द्र सरकारले समन्वय गरेर उद्घाटन गर्ने दिनको प्रतीक्षा गरेका छौँ ।” उहाँले बर्खाको समयमा कालीगण्डकी नदीमा आउने बाढी, आर्थिक अभाव र कोरोना महामारीका कारण पुल निर्माणमा लामो समय लागेको पनि बताउनुभयो ।

झोलुङ्गे पुलको लागि तीन जिल्लामा जान कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको स्तम्भ निर्माण गरिएको छ । पुलमा २५ मिटर उचाइको भ्युटावर रहेको छ । बीचमा निर्माण भएको स्तम्भबाट तीन जिल्लासम्म पुग्न तीनैतर्फ एक सय ७७ मिटर लामो झोलुङ्गे पुलको निर्माण भएको छ । झोलुङ्गे पुल बन्ने कामले सार्थकता पाएपछि स्थानीय निकै उत्साहित बनेका छन् । पुल निर्माणको जिम्मा पाएको नयाँ बाटो रुविना मना जेभी कम्पनीले तीन जिल्ला जोड्ने तीनमुखे नमूना पुल कूल रु नौ करोड ८८ लागतमा निर्माण सकेको उहाँले जानकारी दिनुभयो ।

तीन जिल्लामध्येका तीन स्थानीय तहहरू गुल्मीको रूरूक्षेत्र गाउँपालिका, पाल्पाको तानसेन नगरपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले समन्वय गरेर उद्घाटन गर्ने गुल्मीको रूरूक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । “तीनमुखे नमूना पुलको निर्माण केही समयअघि मात्र सकिएको छ ।” गाउँपालिका अध्यक्ष ज्ञवालीले भन्नुभयो, “विभागसँग समन्वय गरेर हामी तीन स्थानीय तहहरूको सल्लाहमा निर्वाचनपछि उद्घाटनको तयारीमा छौँ ।” नमूना तीनमुखे पुलको उद्घाटन र अझै व्यवस्थित बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित हुने गरेर काम गर्ने गाउँपालिका अध्यक्ष ज्ञवालीले बताउनुभयो । स्थानीयमा अभाव खड्किएको पुल उद्घाटनपछि अझै व्यवस्थित बन्ने पनि उहाँले बताउनुभयो ।

कफी सपको तयारी

आफूहरूको पहलमा बनेको एसियाको नमूना तीनमुखे पुलमा कफी सप बनाउने तयारी रहेको पुलका पहलकर्ता कांग्रेस नेता डा चन्द्र भण्डारीले बताउनुभयो । “दीर्घकालीन समयको लागि पर्यटक आर्कषक गरिरहने सोचमा एसिया महादेशमा पहिलोपटक हामीले नमूना तीनमुखे पुल बनाएका छौँ ।” उहाँले भन्नुभयो, “नमूना पुललाई अझै नमूना बनाउने सोचले इन्जिनियरको समूहसहित पुलमा हुने सम्भावित सम्भावनालाई खोजेका हौँ ।” उहाँले पुल निर्माणपछि अझै गर्न सकिने कामको सम्बन्धमा इन्जिनियर्स एशोसिएशन अफ नेपालका अध्यक्ष हरि दर्लामी नेतृत्वको नौ जनाको समूहलाई अध्ययन तथा अनुगमन गराउनुभएको हो ।

तीन जिल्ला जोड्न बनाइएको कालीगण्डकी नदीको बीचमा रहेको स्तम्भ छ तलाको रहेको छ । छ तलालाई चारैतिरबाट सिसा लगाएर सुन्दर घर बनाउन सकिने इन्जिनियरको निष्कर्ष रहेको डा भण्डारीले बताउनुभयो । सुन्दर घरभित्र कफी सप बनाउने योजना अगाडि बढाउने तयारीमा आफूहरू लागेको उहाँको भनाइ छ । इन्जिनियरसहितको प्रारम्भिक अध्ययनमा कफी सप बनाउन सकिने र त्यसमा लिफ्टसमेत राख्न सकेमा नमूना तीनमुखे पुल अझै नमूना बनाउन सकिने देखिएको छ ।

नेता डा भण्डारी अहिले प्रतिनिधिसभा सदस्यको लागि चुनावी मैदानमा हुनुहुन्छ । उहाँले एउटा झोलुङ्गे पुलको मात्र नभई सिङ्गो विकासमा गुल्मीलाई नमूनाको रूपमा कांग्रेसबाट सत्तारुढ गठबन्धनको साझा उम्मेदवार रहेको बताउनुभएको छ । उहाँसँग नेकपा (एमाले)को तर्फबाट उपमहासचिव प्रदीपकुमार ज्ञवाली चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।