भारतबाट स्वेदश फर्किने नेपाली भन्छन् : ‘रोजगारी सिर्जना गर्नेलाई मत’

शेरबहादुर सिंह/महेन्द्रनगर, १ मङ्सिर । कैलालीको लम्कीका ७० वर्षीय गगन सिंह आज बिहान कञ्चनपुरको गड्डाचौकी नाकाबाट स्वदेश फर्किदै गर्दा नाकामा भेटिनुभयो । दुई महिनाअघि मात्रै मजदूरीका लागि भारतको सिमला पहाड पुग्नु भएका सिंहले परिवारका सदस्यसहित यही मङ्सिर ४ गतेको निर्वाचनमा मतदान गर्न आउनुभएको बताउनुभयो ।

“गाउँघरबाट भोट हाल्न सबले आउनुर्छ भनेपछि काम छाडेर मतदान गर्न आएको हुँ”, वृद्ध सिंहले भन्नुभयो, “जीवनभर मतदात गरे पनि घरको खर्च चलाउन जहिल्यै भारतमा मजदूरी गर्नुको विकल्प भएन् ।” उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्ने दल र तिनका उम्मेदवारलाई जिताउनुर्नेमा जोड दिनुभयो । “चुनावमा आयो फेरि भोट हालेर भारत जानुपर्ने हाम्रो नियती छ”, उहाँले भन्नुभयो, “देशको व्यवस्था फेरिए पनि मजदूरी गर्नेको अवस्थामा कुनै खालको सुधार आएन् ।” उहाँले आफू लामो समयदेखि भारतमा मजदूरी गरेर जीविका चलाउँदै आएको बताउनुभयो ।

त्यसैगरी भारत देहरादुनबाट घर फर्किन लागेका कोहलपुर सम्झना चोकका पानसरी रानाले आफू बीस वर्षदेखि भारतमा काम गरिरहेको सुनाउनुभयो । “यहाँकाले केही गर्दैनन्, भोट हालेर फेरि जाने त होनी”, उहाँले भन्नुभयो, “हामी त समय मिलाएर जहिल्यै पनि मतदान गर्न आएका हुन्छौंँ ।” उहाँले निर्वाचनका बेला मात्रै पार्टी र उम्मेदवारले जनताको घरदैलोमा पुगेर आश्वासन बाँडे अनुसारको काम नभएको बताउनुभयो । “हामी महिला मान्छे देहरादुनमा काम गरेर बच्चा पढाइरहेका छौँं”, उहाँले भन्नुभयो, “यो हाम्रो रहर नभइ बाध्यता हो ।”

उहाँसँगै देहरादुनबाटै मतदान गर्न १६ दिनको बिदामा आउनुभएका कोहलपुरका गगन रानाले जनप्रतिनिधिले जन भावनाअनुसार काम गर्न सुझाव दिनुभयो । “चुनाव जित्ने अनि लाभका पदका लागि आफन्त र नजिकालाई मात्रै हेर्नाले देशको विकास भएन्”, उहाँले भन्नुभयो, “प्रजातन्त्रदेखि गणतन्त्र आइसक्दासम्म मुलुकभित्र रोजगारीका सम्भावना खोजी नहुन दुखद् विषय हो ।” उहाँले निर्वाचनको मुखमा पनि युवा भारतलगायत तेस्रो मुलुक गइरहेको समाचार सुन्दा मन खिन्न हुने गरेको बताउनुभयो ।

“ठूलो श्रम गर्ने जनशक्ति विदेशमा पसिना बगाइरहेको छ”, उहाँले भन्नुभयो, “यहाँ नेताहरुले काम कम गफ बढी दिएर मात्रै बसेको देखियो ।” सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा क्रमिक रुपमा विकास हुँदै गए पनि युवा स्वरोजगार एवं मुलुकभित्रै आयआर्जन गर्ने योजना ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो ।“चुनावका बेला भोट माग्ने त्यसपछि जनताको पिर मर्का नबुझ्नेलाई यस पटक प्रतिनिधि चुन्दैनौंँ”, रानाले भन्नुभयो, “गरिब र विपन्न समुदायको स्तर माथि ल्याउने खालका योजना र विचार भएका नेतालाई मत दिन्छौंँ ।”

त्यसैगरी भारतको नयाँ दिल्लीबाट स्वदेश फर्किएका मदनराज पन्तले पनि नेताप्रति आक्रोस व्यक्त गर्नुभयो । “जुनसुकै नेताले जिते पनि हामीले भारतमा कामका लागि निर्भर रहनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “भारतमा मजदूरी गरेर घर खर्चका लागि मजदूरीदेखि बिरामी हुँदा उपचार गर्नसमेत भारत जानुपर्ने स्थिति छ ।”

त्यस्तै नारायणगढको देवघाटका मनिराम भुजेलले सिमलाबाट सात महिना गाउँबस्तीमै रोजगारी दिनेलाई मतदान गर्ने योजना सुनाउनुभयो । सात महिनामा सिमलाबाट फर्किरहेका भुजेलले निर्वाचनपछि पुनः मजदूरीका लागि भारत फर्किने बताउनुभयो । इलाका प्रहरी कार्यालय गड्डाचौकीले निर्वाचनका लागि मतदान गर्न तीन दिनयता स्वदेश फर्किनेको चाप बढेको जनाएको छ ।

इप्रका गड्डाचौकीका प्रहरी नायव निरीक्षक बहादुरसिंह धामीले आज बिहानसम्म दैनिक अढाईदेखि तीन सयसम्म नेपाली घर फर्किरहेको बताउनुभयो । उहाँले निर्वाचन सुरक्षाका लागि सीमानाकामा कडाई गर्नुका साथै प्रशासनले जारी गरेको नाका बन्दको काम पनि कार्यान्वयन प्रहरी प्रशासनबाट भइरहेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि पश्चिमी सीमानाका गड्डाचौकीबाट आवागमन रोक लगाउने निर्णय गरिसकेको छ । प्रशासनले सुचना जारी गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सीमानाका बन्द गरेको जनाएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।