कृषिमा नै समृद्धिको खोजी गर्दै म्याग्दीका किसान

गलेश्वर, २ मङ्सिर । म्याग्दीका ग्रामीण क्षेत्रमा टनेल (प्लाष्टिकका घर)ले जिल्लामा फस्टाउँदै गएको कृषि पेसालाई उजागर गरेका छन् । टनेलभित्र लटरम्मै तरकारी फलेका छन् । टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख, गोडमेल र बिक्री वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानले चासो दिन थालेका छन् । ती प्लाष्टिकका टनेलभित्र विभिन्न थरिका बेमौसमी तरकारी फलेका छन् । अधिकांश टनेलमा गोलभेँडा फलिरहेका छन् भने केही टनेलभित्र सिमी, बोडी, साग, मुला र अन्य धेरै थरिका तरकारी झुलिरहेका देखिन्छन् ।

म्याग्दीका ज्यामरुककोट, अर्मन, बाबियाचौर, तोरीपानी, सिङ्गा, पात्लेखेत, खबरा, बगरफाँटलगायतका गाउँमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गर्ने कृषक बढ्दै गएका छन् ।

प्लाष्टिकको टनेलभित्र उत्पादन गरेको बेमौसमी गोलभेँडा कृषकले सदरमुकामसम्म ल्याएर प्रतिकिलो रु ६० देखि ८० सम्म बिक्री गर्ने गरेको बेनी नगरपालिका–२ खबराका कृषक शोभित शर्मा सापकोटाले बताउनुभयो । सापकोटाले भन्नुभयो, “प्लाष्टिकको टनेलभित्र गोलभेँडा, काँक्रा, करेला, लौका, अकबरे खुर्सानी र हरियो सागपात लहलह फलाएका छन् । टनेलभित्र गरेको तरकारी खेतीबाट कृषकले राम्रै आम्दानी लिएका छौँ ।”

अगुवा कृषकका रूपमा चिनिएका सापकोटाका अनुसार जिल्लामा ग्रामीण क्षेत्रका कृषकले पछिल्लो समयमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गरेर मनग्ये आम्दानी लिन थालेका छन् । एउटा टनेल राख्न रु ३० देखि ४० हजारसम्म खर्च हुने उहाँ बताउनुहुन्छ । एउटा टनेलले एक सिजनमा रु ५०–६० हजारसम्म आम्दानी हुने र दोस्रो वर्षदेखि राम्रो कमाइ हुने कृषक सापकोटको भनाइ छ ।

मानिसहरूमा आग्र्यानिक उत्पादनको खोजी हुन थालेपछि आयातित तरकारी र फलफूलभन्दा जिल्लाका ग्रामीण भेगका कृषकले गाउँमै फलाएका तरकारी र फलफूलको माग बढ्दै गएको छ । पश्चिम म्याग्दीका कृषकको उत्पादन दरबाङ, बाबियाचौर र त्यहाँ खपत हुन नसकेको अवस्थामा सदरमुकाम बेनीमा बिक्री हुने गरेको बाबियाचौरका किसान रामहरि पौडेलले बताउनुभयो ।

उत्तरी म्याग्दीका कृषकले फलाएको तरकारी र फलफूल पोखरेबगर, भुरुङ तातोपानी, गलेश्वरलगायतका बजारमा बिक्री हुन्छ । ग्रामीण क्षेत्रमा गरेको बेमौसमी तरकारी खेतीको उत्पादन बिक्री गर्ने मुख्य बजार सदरमुकाम बेनी बजार हो । “व्यापारीको पहिले नै माग आउँछ, गाउँमै गाडी चल्ने हुनाले टिपेर टोकरीमा हालेर पठाइदिन्छु”, पाँचवटा टनेलमा तरकारी खेती गर्दै आउनुभएका खबराका कृषक चन्द्रबहादुर कार्की भन्नुहुन्छ, “बिक्री गर्न कुनै समस्या छैन, कमाई राम्रै छ ।”

जिल्लाका छवटै स्थानीयतहले कृषकलाई अनुदान र निःशुल्करूपमा समेत कृषि औजार र बीउबिजन उपलब्ध गराउन थालेपछि कृषि पेसामा धेरैको आकर्षण बढेको बगरफाँटका कृषक भीमबहादुर रिजालले बताउनुभयो । जिल्लामा क्रियाशील विभिन्न गैरसरकारी सङ्घसंस्थाले कृषकलाई बेमौसमी तरकारी खेतीको तालिम दिई आवश्यक प्रविधि तथा बीउबिजन उपलब्ध गराएपछि गाउँगाउँमा प्लाष्टिकको टनेल भित्रिएको हो । केही वर्ष पहिलेसम्म काम विशेषले सदरमुकाम बेनीबजार जाँदा प्लाष्टिकको झोलामा एक–दुई किलो गोलभेँडा किनेर ल्याई छाक टार्ने सबैजसो कृषकको खेतबारीमा यतिखेर टनेलभित्र प्रशस्त बेमौसमी तरकारी लहलह फलेको सानालेखका हरिप्रसाद शर्माले बताउनुभयो ।

सदरमुकाम बेनीबजारमा तराईका जिल्लाबाट यो सिजनमा बेमौसमी गोलभेँडालगायतका तरकारी आयात हुँदै आएकामा जिल्लाकै ग्रामीण क्षेत्रमा मनग्ये उत्पादन हुन थालेपछि बाहिरी आयात घट्दै गएको व्यापारी बताउँछन् ।

जिल्लाका स्थानीय तहमा रहेका कृषि शाखाका अनुसार विगत दुई वर्षयता स्वदेश तथा विदेशबाट गाउँ फकिएका दुई सयभन्दा बढी युवाले अहिले व्यावसायिक कृषि पेसा अपनाएका छन् । उनीहरूले आधुनिक कृषि प्रविधिको प्रयोग गरेर व्यवसायिकरूपमा कृषिमा लागेका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।