मजदुरलाई कामकै पिरलो, छोएन चुनावले

डम्मर बुढामगर/ढोरपाटन, ३ मङ्सिर । “गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौँ, यहाँबाट गाउँ पुग्दा सात हजार खर्च हुन्छ, यति धेरै खर्च गरेर भोट हालेर जिताए पनि नेताहरूले हाम्रो मुखमा फर्किएर हेर्दैनन्, बरु यहाँ काम गरियो भने दुई–चार हजार कमाइ हुन्छ ।” सिन्धुपाल्चोकका २७ वर्षीय भीम पगरी दुई महिनादेखि मध्यपहाडी लोकमार्गको घोँडाबाँधे–गलकोट खण्डमा काम गर्दै आउनुभएको छ ।

गाउँमा कुनै काम नपाएपछि बागलुङ आउनुभएका पगरीलाई मङ्सिर ४ मा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ भन्ने थाहा छ । तर उहाँ यसपालि गाउँमा मतदान गर्न जानु भएन । पटक–पटक मतदान गर्दै आउनुभएका पगरीले भोट दिएर जिताएका नेताले गरिब, दुःखी र मजदुरका लागि काम गर्न नसक्दा आफूहरू भौँतारिएर काम खोज्दै बागलुङ आउनुपरेको बताउनुहुन्छ ।

“मैले अहिलेसम्म तीन–चारपटक भोट हालेर नेताहरूलाई जिताएँ तर, उनीहरूलाई जिताएर हामी गरिब जनताले केही पाएनौँ, नेताले पद पाए, पैसा कमाए, आफू बने, आफ्ना नातागोता र आसेपासेलाई गतिलो बनाए, हामी भोट हालेर जिताउनेले गाउँमा एउटा सामान्य रोजगार पनि पाएनौँ”, पगरीले भन्नुभयो, “त्यही भएर अहिले गाउँमा भोट हाल्न गएनौँ, नेताज्यूले फोन त गर्नुभएको थियो तर यति टाढाबाट हजारौँ खर्च गरेर जानु पर्छ, उता गए खर्च बढ्छ, यहाँ काम गरे थोरै भए पनि कमाइन्छ ।”

काभ्रेका २१ वर्षीय दिपेश मगर पनि पगरीकै समूहमा काम गरिराख्नुभएको छ । गाउँमा चुनावी रौनक सुरु भएपछि बागलुङ आउनुभएका मगरलाई निर्वाचनबारे कुनै चासो छैन । परिवारमा आर्थिक समस्याका कारण मजदुरीका लागि बागलुङ आएको बताउने मगर दुईपटक मतदान गरेको अनुभव सुनाउनुहुन्छ । नेताका आश्वासनका कारण विदेश जानबाट रोकिनुभएका मगर बाध्यताले बागलुङसम्म आएको बताउनुहुन्छ ।

“म रहरले बागलुङमा काम गर्न आएको होइन, मेरो परिवार निकै गरिब छ, राम्रोसँग खानलाउन पुग्दैन, स्थानीय तहको निर्वाचन आउनुभन्दा केही दिन अगाडि म विदेश जानका लागि तयारी गरेको थिएँ, गाउँका एक जना नेताले म तिमीलाई काम दिलाइदिन्छु भनेर भन्नुभयो, चुनाव जितेको यतिका महिना बितिसक्दा पनि केही काम नपाएपछि म यहाँ आएको हुँ”, मगरले भन्नुभयो, “विदेश जान लागेको मान्छेलाई यही काम दिलाउने भनेर आशा देखाए, अहिले यति टाढा आएर काम गर्नुपरेको छ, गाउँमा एउटा सामान्य काम मिलाइदिएको भए म किन यहाँ आउनुपथ्र्यो र ?”

मगरले एक दिन काम नगरे खान नपुग्ने भन्दै मतदान गर्ने चाहना भए पनि धेरै खर्च लाग्ने हुँदा जान नसकेको बताउनुभयो । चुनावमा भोट हाल्दा राम्रो मान्छेले पनि जित्न सक्ने भन्दै गाउँभन्दा धेरै टाढा हुँदा जान नसकेको उहाँ बताउनुहुन्छ । मगरले आफूले पहिलोपटक मतदान गर्ने अवसर गुमाएकामा दुःख व्यक्त गर्नुभयो ।

“म अघिल्लो निर्वाचनमा विदेशमा थिएँ, भोट हाल्न पाइएन, यसपालि पनि चुनाव आयो, गाउँमा बस्न पाइएन, कामका लागि यहाँ आइएको छ, चुनाव भएको बेला नेपालमा बल्ल भएँ, पहिलोपटक भोट हाल्ने अवसर त थियो तर के गर्नु यहाँबाट भोट हाल्न जाँदा हजारौँ रुप्पे (रुपैयाँ) खर्च लाग्छ, त्यो खर्च कसले दिन्छ र मलाई ?” उहाँले भन्नुभयो, “भोट हाल्ने मन त थियो तर पाइएन, भोट हालेपछि राम्रो मान्छेले पनि जित्न सक्थे, गाउँ नजिक काम नपाएकै कारण यहाँसम्म आउनुपरेको हो ।”

रामेछापका २३ वर्षीय दिनेश खत्री पनि दुई महिनादेखि यही सडकखण्डमा ढुङ्गा बोक्ने र गिट्टी, बालुवा मुछ्ने काम गर्दै आउनुभएको छ । उहाँले रामेछापबाट बागलुङसम्म रहरले नभई बाध्यताले आउनुपरेको बताउनुभयो । उहाँ गाउँ नजिक रोजगार नपाएपछि दुई महिना अगाडि यहाँ आएको बताउनुहुन्छ । चुनावका लागि गाउँबाट भोट हाल्न नेताहरूको फोन आए पनि वास्तै नगरी काम गरिरहेको खत्रीको भनाइ छ ।

खत्रीले भन्नुभयो, “हामी रहरले आएका होइनौँ, बाध्यताले आएका हौँ, घरमा स–साना छोराछोरी छन्, काम नगरेसम्म उनीहरूको लालनपालन गर्न समस्या हुन्छ, गाउँ नजिक केही काम पाइएन, अहिले यहाँ बाटोको काम गरिरहेका छौँ, चुनाव आयो भोट हाल्न आउनुप¥यो भनेर गाउँबाट फोन आउँछ, भोट हालेर हामीहरूले गाउँमै रोजगार पाउने भए त जान हुन्थ्यो, काम पाइन्नँ, नेताहरूले जिते भने हामीलाई चिन्दैनन्, अहिले हाम्रो भोट मात्रै चिन्छन् ।”

गाउँबाट दैनिक दर्जन बढी युवा रोजगारीका लागि देश–विदेशमा भौतारिँदा जनप्रतिनिधिले यसतर्फ ध्यान नदिएको उहाँको गुनासो छ । खत्रीले चुनावका बेला रोजगारीका मुद्दालाई नेताहरूले बढी जोड दिए पनि काम भने गर्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेताले हामीलाई भोटका लागि मात्रै प्रयोग गरिरहेका छन्, हाम्रा लागि कुनै काम गरेका छैनन्, गाउँमा राम्रोसँग विकास पनि हुनसकेको छैन, भाषणमात्रै ठूला–ठूला काम भने गर्दैनन्, दिनदिनै युवाहरू रोजगारीका लागि गाउँ छोडिरहेका छन्, तर जनप्रतिनिधिले भने यसतर्फ ध्यान दिनसकेका छैनन्, चुनावका बेला रोजगारका बारेमा खुब ठूला–ठूला भाषण गर्छन्, चुनाव सकिएपछि कहाँ हराउँछन् पत्तो हुँदैन ।”

लोकमार्गको घोँडाबाँधेबाट गलकोटको नरेठाँटीसम्म सिन्धुपाल्चोक, काभ्रे र रामछापका दुई सयभन्दा बढी कामदार मतदान गर्न गाउँ फर्किएनन् । अघिल्लो निर्वाचनमा नेताहरूले गरेको बाचा पूरा नगरेपछि निराश भएर यसपालि भोट हाल्न गाउँ नगएको उनीहरू बताउँछन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।