थारु कला संस्कृतिको संरक्षणमा नयाँ पुस्ताको आकर्षण

घोराही, ११ मङ्सिर (रासस) ः थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न कार्यक्रमसँगै मेला तथा महोत्सवमा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि उक्त कला र संस्कृतिको संरक्षणसँगै विकासमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो ।

विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभा सम्मेलनमा थारु जातिसँग सम्बन्धित नाचको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१० निवासी अनिता चौधरी बताउनुहुन्छ । ११ कक्षामा अध्ययनरत उहाँ पछिल्लो समय फुर्सदका बेलामा थारु नृत्य सिक्नेदेखि कार्यक्रममा समेत सहभागी हुने गर्नुहुन्छ । “आफूले जानेका नृत्य नाच्ने र नजानेका सिक्दै कार्यक्रममा सहभागी हुने गरेको छु”, उहाँ भन्नुहुन्छ, “जसले गर्दा आफ्नो कला र संस्कृतिका बारेमा थप ज्ञान पाउनका साथै आर्थिकरुपमा केही आम्दानीसमेत हुने र हौसला बढाउने काम पनि भइरहेको छ।”

अनिता जस्तै घोराही उपमहानगरपालिका–१७ निवासी सुस्मीता चौधरी पनि संस्कृति संरक्षणमा जुट्नुभएको छ । आफ्नो मौलिक पहिचानका रुपमा रहेका थारु वेषभूषा र गरगहना लगाउनदेखि नाच्न पनि लजाउने उहाँ पछिल्लो समय जातीय वेषभूषामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुँदै आएको बताउनुहुन्छ । सत्र वर्षीया सुस्मिताले थारुको पहिचानका रुपमा रहेका बढ्का नाच, छोक्रा नाच, सङ्ख्या नाच नाच्नसमेत सिक्नुभएको छ ।

“सुरुमा नाच्न मन लागे पनि लाजका कारण डर लाग्ने भएकाले सार्वजनिक कार्यक्रममा सहभागी हुन र नाच्न मन लाग्दैन थियो”, उहाँ भन्नुहुन्छ, “तर अहिले सहज भएजस्तो लाग्छ । आफ्नो जातिगत वेषभूषा र पहिरनमा सजिएर नृत्य देखाउँदा खुसी लाग्छ ।” नृत्यसँगै सुस्मिता आफूलाई अहिले थारु जातिका महिलाले परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लहङ्गा, घुर्या, हातमा कर्या, घाँटीमा लगाउने सुत्यालगायत पहिरनमा सजिनसमेत मन लाग्ने गरेको बताउनुहुन्छ । कला र संस्कृतिप्रतिको रहरले आफू गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको उहाँको भनाइ छ ।

थारुबस्ती बाक्लो भएका गाउँबाट पछिल्लो समय थारु समुदायका युवायुवती आफ्नो वेषभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुनेक्रम बढ्दै गएको छ । जिल्लामा हुने धेरैजसो कार्यक्रममा आफ्नो वेषभूषा र परिहनमा सजिएर नाचगान गर्नेदेखि पाहुनको स्वागतमा समेत उनीहरु खटिने गर्छन् । पछिल्लो समय योक्रम झनै बढेको थारु समुदायका अगुवा चन्द्रप्रसाद चौधरी बताउनुहुन्छ । आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारु संस्कृतिको विकासका साथै युवापुस्ताको अग्रसरताले वेषभूषा तथा संस्कृति संरक्षणमा सहयोग पुगेको उहाँको भनाइ छ ।

“थारु समुदायको मौलिक संस्कृतिका रुपमा रहेको मघौटा, बड्का, भ्रmमालगायत नाचहरुमा नयाँ पुस्ता आउँदा खुसी लागेको छ”, अगुवा चौधरी भन्नुहुन्छ, “नयाँ पुस्ताको अग्रसरताले ओझेलमा परेको थारु संस्कृति संरक्षणमा सघाउ पु¥याउनेदेखि नयाँ पुस्ताको आकर्षणमा सहयोग पुग्नेछ ।”

थारु जातिमा सखिया गीत गाउने र माघीमा मघौटा नाच नाच्ने चलन छ । त्यस्तै जहिले पनि नाचिने छोक्रा नाच, हातमा रङ्गीविरङ्गी टालो बाँधेर नाचिने झुम्रा नाच, बड्का नाच पनि नाच्ने गरिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।