कता हराए चिरबिर गर्ने भँगेरा ?

रामविकास चौधरी/लुम्बिनी, २९ मङ्सिर (रासस) : लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरी सानो हुँदा उहाँको घरको प्वालमा भँगेरा गुँड बनाएर बसेको सम्झिनु हुन्छ । करिब दुई सय ५० वर्ष पुरानो उहाँकोे घरको आँगनमा साना भँगेरा चिरबिर–चिरबिर गर्दै फुरुकफुरुक यताउति उफ्रिँदा उहाँलाई रमाइलो लाग्थ्यो ।

सानो छँदा घरको आँगनमा भँगेरासँग खेलेको सम्झिँदै सम्मरीमाई–७ का ७५ वर्षीय झगरु मुरावले भन्नुहुन्छ, “आँगनमा दाना छरेर त्यही खाँचीमा किल्ली अड्काइ डोरीले बाँधेर राख्थ्यो । चरा खाँची तल पुगेपछि डोरी तान्थ्यो र ट्रयापमा पार्दथ्यौँ । चरालाई समातेर केहीबेर खेली, छोडी दिन्थ्यौँ ।”

खैरा, फुस्रा र केही सेतो रङ भएको एक सानो जातको चरा प्रजातिमा पर्ने भँगेराको आयु तीनदेखि पाँच वर्ष हुन्छ । यसको पखेटाको फैलावट २१ सेमी तथा लम्बाइ १२ देखि १८ सेमीसम्म हुन्छ । यसको गति र उडान क्षमता कम हुन्छ । यसको औसत वजन ४० ग्रामसम्म हुन्छ । “भँगेरा निकै मायालु र मेहनती चरा हो”, पक्षीविद् हेमसागर बरालले भन्नुहुन्छ, “यो चरा विशेषगरीे घरका खटप्वाल तथा अन्य त्यस्तै सुरक्षितस्थलमा रहेका प्वालमा गुँड बनाई बस्दछ । पहिला मानव बस्ती वरिपरि टन्नै देखिने यो चराको सङ्ख्या पछिल्लो केही वर्षयता घटदै गएको छ ।

लुम्बिनीका पूर्वनगरप्रमुख चौधरीका अनुसार, “पहिलेका घरको संरचना अहिलेको भन्दा भिन्न थियो । ढुङ्गा, माटो, काँचो इँटा र काठ आदिले बनेका हुन्थे । घरको वरिपरि प्वाल राखिन्थे, जसलाई भँगेराहरूले गुँड बनाउन प्रयोग गर्थे र बिहान बेलुको भँगेराको चिरबिर आवाज सुन्न पाइन्थ्यो ।”

किसानको साथी भनेर चिनिने भँगेरा र मानव जीवनको अन्तरसम्बन्ध निकै पुरानो छ । भँगेराले कृषिलाई सहयोग पु¥याउँछ । पन्ध्र दिनको भएपछि भँगेराको बच्चाले किरा खान थाल्छ । तीमध्ये धेरै किरा बालीलाई नोक्सान गर्ने खालका हुन्छन्”, नेपाल पक्षी संरक्षण सङ्घका परियोजना अधिकृत समेत रहेका नेपालीले भन्नुहुन्छ । बढ्दो आधुनिकता, प्रदूषण र सुरक्षित बासस्थलको कमीले यसकोे जीवनचक्र नै सङ्कटमा परेको छ । भँगेराको सहअस्तित्वलाई स्वीकार गरेर यसलाई जोगाउनेतर्फ लाग्नुपर्नेमा उहाँको जोड छ ।

ध्वनि प्रदूषण, बासस्थलको अभाव, कृषिमा अत्यधिक किटनाशक औषधि र विषादीको प्रयोग आदिले पारिस्थितिकीय प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भँगेराको सङ्ख्या घट्दै गइरहेको सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका घरमा भँगेरालाई गुँड बनाउन पहिलेजस्तो प्वाल र सुविधा छैन । बिजुली बत्तीको झिलीमिली र रङरोगनको गन्धले पनि तिनलाई त्यहाँ बासस्थल बनाउन सहज छैन । गुँड बनाउन खरपातको अभाव, सहरीकरण र बढ्दो ध्वनि प्रदूषणले पनि तिनलाई असहज छ ।”

कुर्मी भन्नुहुन्छ, “किसानको साथी भनेर चिनिने भँगेरा चराले धान, चामल, गहँु, घरको जुठ्यानमा रहेका खाना आदिका साथै अन्नबालीमा लाग्ने हानिकारक कीरा फट्याङ्ग्र्रा तथा लार्भा खाई कृषि उत्पादनसमेत बढाउन सहयोग गर्दछ ।” सम्मरीमाई–३ का ८० वर्षीय समाजसेवी रम्मा कुर्मी भन्नुहुन्छ, “एकदिन राति गाउँभरिका भँगेरा एक्कासी कराउँदै बाहिर आएँ, यति राति किन भँगेरा कराएको भनेर मानसि बाहिर निस्कँदा एकजनाको खलिहानमा आगो लागेको रहेछ”, उहाँले सम्झिनुभयो, “पछि सबै जना गएर आगो निभायौँ ।”

कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले भन्नुहुन्छ, “भँगेरा हाम्रा केही मान्यता र विश्वासका आधार पनि हुन् । भँगेराले कहिले पानीमा नुहाउँछ त कहिले धुलोमा । धुलोमा नुहाएको दिन पानी पर्ने र सात पाइला हिँडेको देखेमा अलच्छिना हुने जनविश्वास पनि छ ।” गाउँघर नजिकै विषालु सर्प, हिंस्रक जनावर वा दैवीय प्रकोप आदि आउँदा पनि भँगेराले कराएर सचेत गराउँछ भन्ने विश्वास गरिन्छ । हानिकारक किरा, फट्याङ्ग्रा, सडेगलेका अनाज आदि खाएर प्रकृति र वातावरणलाई सफा राख्ने भँगेरा संरक्षणमा सबै लाग्नुपर्ने उहाँको सुझाव छ ।

मानव ढुङ्गेयुगबाट कृषियुगमा प्रवेश ग¥यो त्यतिबेलादेखि नै भँगेरा र मानव जातिको सम्बन्ध नजिकिँदै गएको पक्षीविद् भुपाल नेपालीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “भँगेरा चराले हाम्रो घर तथा वरिपरि रहेका रुख, झाडी, करेसाबारी र बगैचा आदिमा बस्न रुचाउँछन् र त्यही गुँड बनाएर बच्चा पनि कोरल्छन् ।” अहिलेसम्म यसको सङ्ख्यात्मक तथ्य नभएको उहाँले बताउनुभयो ।

नेपालमा हालसम्म आठ सय ९० बढी प्रजातिका चरा पाइन्छन् । तीमध्ये भँगेरा पनि एक प्रजाति हो । नेपालमा घर भँगेरा, रुख भँगेरा, कैलो भँगेरा, पीत कण्डे भँगेरा र स्पेनिस भँगेराहरु पाइन्छन् । अन्य प्रजातिका भँगेराहरुले बाहिरै अन्यत्र स्थानमा बस्न मन पराउँछन् । हालसम्म विश्वमा ३२ प्रजातिका भँगेरा भेटिएको छ ।

पुरानो र परम्परागत भँगेरामैत्री घर नहुनु, रुख बिरुवा विनास हुनु, प्रदूषण, चेतनाको कमी, अहाराको कमी, बालीनालीमा प्रयोग हुने विषादी तथा यिनीहरुलाई संरक्षण गर्नुको सट्टा मार्ने, छोप्ने र शिकार गर्ने प्रबृत्तिले पनि यो चराको सङ्ख्यामा कमी आएको छ । पछिल्लो एक अध्ययनले मोवाइल फोन र यसको टावरको ¥याडिएसनको कारणले भँगेरामा असर परेको पंक्षीविद् नेपालीको भनाइ छ । भँगेरा हाल विश्वबाट घट्दै गइरहेको अवस्थामा यसको महत्व र संरक्षण गर्न जरुरी छ । बेलायतमा भँगेरा संकटग्रस्त चरा हो । उहाँका अनुसार विश्वका करिब ८० प्रतिशत चराको सङ्ख्या घटेको तथ्याङ्क छ तर भँगेराबारे अनुमान मात्रै छ ।

भँगेरा संरक्षाण गर्ने उद्देश्यले प्रत्येक चैत ७ गते अर्थात् २० मार्चका दिन विश्व भँगेरा संरक्षण दिवस नेपाललगायत विश्वभर मनाइन्छ । यो दिवस सन् २०१० देखि विश्वव्यापी रुपमा मनाउन थालिएको छ भने नेपालमा सन् २०१२ देखि मनाउन थालिएको हो । नेपाल पक्षी संरक्षण सङ्घले विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक सङ्घसंस्थाको सहकार्यमा भँगेरा पहिचान, गणना तथा विभिन्न चेतना अभिवृद्धिमूलक कार्यक्रम गर्दै नेपालमा यो दिवस मनाउने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।