आयआर्जनमा जोडिदै मुक्तकमलरीहरु

रञ्जिता अधिकारी/देउखुरी, ४ पुस (रासस) : दाङ घोराही-२ सुर्केडागीका पूर्वकमलरी सोमती चौधरी पछिल्लो तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गरिरहनुभएको छ । मौसम अनुसार तरकारी उत्पादन गर्दै आउनुभएकी उहाँले यसवर्ष काउली, बन्दा र गोलभेँडा लगाउनुभएको छ ।

कुनै समय अर्काको घरमा बधुवा मजदूरका रुपमा पाँच वर्ष बिताउनुभएकी उहाँ यतिबेला आफैले तरकारी खेती सुरु गरेपछि आर्थिक र सामाजिक रुपमा आत्मनिर्भर बन्नुभएको छ ।

सरकारले २०७० साल असार १३ मा कमलरीमुक्त घोषणा गरेपछि चौधरी र उहाँ जस्तै अन्य कमलरीहरु त्यसयता मुक्त कमलरी विकास मञ्चमार्फत् एकत्रित भएका छन् । हाल मुक्त भएका कमलरीहरु ४२ वटा सहकारी संस्था र एउटा समूहमार्फत् आय-आर्जनका जुटेका छन् ।

चौधरीले मक्त कमलरी विकास मञ्च र आइएम संस्थाको घुम्ती कोषमार्फत् रु २० हजार सहायता पाएपछि व्यवसाय सुरु गर्नुभएको थियो । साढे तीन कठ्ठा जमिनमा व्यावासायिक तरकारी खेती गरिरहनुभएकै चौधरीले परिवारको खर्च कटाएर केही रकम बचत पनि गरिरहेको बताउनुभयो । एक वर्षसम्म ब्याज तिर्नु नपर्ने गरी पाएको ऋणकै कारण व्यवसाय गर्न सहज भएको उहाँको भनाइ छ ।

“कमलरीका रुपमा काम गर्दा निकै दुःख थियो, हामीहरु स्वतन्त्र थिएनौ”, उहाँले भन्नुभयो, “अहिले आफैले गरेको व्यवसायबाट आत्मनिर्भर बन्न पाउँदा निकै खुसी लागेको छ ।” कमलरीका रुपमा समयमा खान, सुत्न नपाउने र विद्यालय जान नपाएका नमीठा अनुभव भने अझै पनि उहाँको मनबाट हट्न सकेका छैनन् ।

चौधरी २०६३ मा असाय नानीहरुको साथी (एफएनसी)ले कमलरीमुक्त गराएपछि प्राथमिक विद्यालय पलासेमा कक्षा ५ मा भर्ना हुनुभयो भने कक्षा ८ सम्मको अध्यया माध्यमिक विद्यालय गोग्लीबाट पूरा गर्नुभयो । विसं २०७१ मा महेश चौधरीसँग विवाह भएपछि गृहस्थीको जीवन सुरुवात गर्नुभएको थियो ।

घोराही वडा नं २ कि अञ्जु चौधरीले पनि पाँच वर्ष कमलरीका रुपमा बिताउनुभयो । विसं २०७१ मा विवाह गर्नुभएकी उहाँ पनि व्यावसायिक तरकारी खेतीमै हुनुहुन्छ ।

उहाँले तीन कठ्ठा आफ्नो र चार कठ्ठा जमिन वार्षिक तीन हजार भाडामा लिएर काउली र गोलभेँडा खेती गरिरहनुभएको छ । सात जनाको परिवार सबै खेतीमा लाग्दा सजिलो पनि भएको र यसबाट आम्दानी पनि राम्रो भएको उहाँले सुनाउनुभयो ।

“मुक्त कमलरी विकास मञ्च र आइएम संस्थाले रु २० हजार ऋण दिएपछि व्यवसाय गर्न सजिलो भयो”, उहाँले भन्नुभयो, “पैसा अभाव भएको बेला घुम्ती कोषले ऋण दिएपछि व्यवसाय गर्न सहज भयो ।”

घोराही –२ सुर्केडागीकि पूर्व कमलरी सन्तोषी चौधरी पनि व्यावसायिक तरकारी खेतीमै हुनुहुन्छ । आफूसँग भएको साढे आठ कठ्ठा जग्गा र भाडामा लिएको नौ कठ्ठा भाडाको जग्गामा व्यावसायिक तरकारी खेती गरिरहेको उहाँले सुनाउनुभयो ।

“सुरुमा घरलाई मात्रै पुग्ने तरकारी खेती गरिरहेका थियौँ”, उहाँले भन्नुभयो, “पछि मुक्त कमलरी विकास मञ्च र आइएम संस्थाले बचत गर्ने तरिका, लगानी, समूहमा बस्दाको फाइदा र बालविवाह जस्ता व्यवहारिक ज्ञान दिएपछि व्यवसायतिर लागेकि हुँ ।”

तरकारी खेतीबाट गतवर्ष रु चार लाख आम्दानी भएको उहाँले सुनाउनुभयो । “व्यावसायबाट भएको आम्दानीबाट प्रत्येक महिना दुई सय बचत गर्छौ, यसरी ३० जनाको समूहमा बचत हुने मासिक छ हजारलाई एक प्रतिशत ब्याजमा लगानी गर्छौ”, उहाँले भन्नुभयो ।

साढे पाँच वर्ष कमलरी बसी २०६५ सालमा कमलरी मुक्त हुनुभएकी घोराही –२ रामपुर निमुरियाका विपति चौधरी पनि आफ्नै व्यवसाय सञ्चालन गरिरहनुभएको छ । कमलरी मुक्त भएपछि मुक्त कमलरी विकास मञ्च र आइएम संस्थाले गुरधौली कृषि महिला समूहको अध्यक्ष बनाएको थियो ।

“संस्थाले अध्यक्ष पनि बनायो र रु २० हजार घुम्ती कोषमार्फत् सहयोग पनि ग¥यो”, उहाँले भन्नुभयो, “उक्त पैसाबाट घरमै चिया तथा नास्ता र किराना पसल चलाइरहेकी छु ।”

समय समयमा संस्थाले तरकारी खेती तालिम, बचत गर्ने तरिका र जीवन जिउने कलाबारेमा सिकाउने गरेकाले जीवन परिवर्तन भएको उहाँको अनुभव छ ।

मुक्तकमलरी विकास मञ्चका कानुनी सल्लाहकार फकला थारुले नेपाल सरकारले मुक्तकमलरीको पुनःस्थापनाको लागि सरकारले ध्यान नदिएको बताउनुभयो । विशेष गरेर छात्रावासमा रहेका नानीहरुलाई पढाइ खर्च र छात्रावासमा खानपिनको खर्च अभाव भएको उहाँको भनाइ छ ।

हाल कमलरी आबद्ध सहकारीमा १४ हजार सात सय २१ जना सदस्य छन् । सहकारीबाट घुम्ती कोष अनुदान सहयोग लिएर तरकारी खेती, कुखुरा, बङ्गुर, किराना पसल र होटल सञ्चालन गरेर आयआर्जन गर्दै आएको मुक्तकमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हीरामोती चौधरीले जानकारी दिनुभयो ।

“मुक्तकमलरीका छोराछोरीले बाबुआमाले जस्तो दुःख नपाउन भन्ने उद्देश्यले सबैलाई आयआर्जनमा जोडेर जीवन परिवर्तन गर्न खोजेको बताउनुभयो ।”

दाङमा चार सय ८७ जना, बाँकेमा ६७, बर्दियामा तीन सय ९५ जना, कैलालीमा चार सय ३३ ,कञ्चनपुरमा एक सय ५१ मुक्तकमलरीले अध्ययन गरिरहेको मुक्तकमलरी विकास मञ्चले जानकारी दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।