विदेशबाट फर्केर गाइपालन

नारायणी रजौरे/दाङ, ५ पुस (रासस) ः तुलसीपुर उपमहानगरपालिका वडा नं ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकी व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आउनुभएको छ । विगत १२ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आाउनुभएका उहाँले अहिले आफ्नो परिवारका तीनसदस्यसहित अन्य दुई जनालाई रोजगारी पनि दिनुभएको छ ।

यो पेसाबाट सन्तुष्ट हुनुभएका बुढाथोकी भन्नुहुन्छ, “वार्षिक करिब रु दस लाखदेखि रु १२ लाखसम्म बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ ।”

बिहानको मिमिरे उज्यालोदेखि साँझसम्म प्राय गाईका बाच्छाबाच्छीको स्याहार सुसारमा व्यस्त रहने उहाँ धन कमाउनकै लागि १२ वर्ष पहिले साउदी अरब जानुभएको थियो । त्यहाँ गएका नेपालीले पाएको दुःख देखेपछि अप्ठेरो पर्दा सहयोग गर्न नेपालीहरुसँग आर्थिक सहयोग सङ्कलन गरिएकामा गैरकानूनी भएको भन्दै साउदीका एक व्यापारीले प्रहरीलाई खबर गरेकाले आफू साउदी जेलमा परेको बुढाथोकी बताउनुहुन्छ ।

पछि नेपाली दूतावासको सयोगमा २०५६ सालमा नेपालमा फर्किएर गाईपालनमा लाग्नुभएका उहाँले सुरुका वर्षमा आफ्नै घर जग्गामा रु एक लाख ५० हजारको लगानीमा तीनवटा जर्सी गाई किन्नुभएको थियो । अहिले जर्सी क्रसजातका १४ वटा गाई र छ वटा बाच्छाबाच्छी उहाँसँग छन् । एउटा जर्सी गाईको मूल्य रु एक लाखदेखि रु एकलाख ५० हजारसम्म पर्छ ।

अहिले दैनिक ८० देखि ९० लिटर दूध तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्दै आएको र केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गरी लिने गरेका बुढाथोकी बताउनुहुन्छ ।

उक्त फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका वडा नं ८ निवासी सन्तोषी शर्माले आफ्नै घर आगनमा शुद्ध दुध खान पाइएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसअघि एक लिटर दूध किन्न गाउँभर घुम्दा पनि नपाएपछि तुलसीपुर बजारमा जानुपर्ने वाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसीलागेको छ ।” सोही ठाउँकी गोमा शर्मा पनि आफूले घरमा तरकारीखेती गरेको र त्यसका लागि गाईको मल खरिद गर्ने गरेको बताउनुहुन्छ ।

बुढाथोकीको फार्ममा अहिलेसम्म रु ५० लाखको हाराहारीमा लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र गाईबाच्छा बिक्रीबाट वार्षिक रु १८ देखि २२ लाख सम्म आम्दानी हुने गरेको छ ।

आन्तरिक सबैजसो खर्च कटाएर वर्षमा कम्तीमा पनि रु १२ लाख रुपैयाँ बचत गर्दै आउनुभएका उहाँले यसअघि गाईपालनका लागि दुई बिघा जमिन भाडामा लिएपनि सिँचाइ अभावका कारण घाँस खेती गर्न नसक्दा समस्या परेको बताउनुहुन्छ ।

पर्याप्त घाँस उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य समाग्री खरीद गर्दा लागत खर्च बढ्न थालेको र उत्पादित दूधले बजार नपाएर घाटा व्यहोर्नु परेको बुढाथोकीको गुनासो छ ।

कम लगानीमा छोटो समयमा मनग्ये आम्दानी गर्न सकिने भएकाले अहिले उहाँको फार्ममा विभिन्न ठाउँबाट गाई हेर्न, जानकारी लिन तथा गाई खरिदका लागि मानिस आउने गरेका छन् ।

पढेलेखेकाहरु पैसा कमाउनकै लागि जागिर खानैपर्छ या विदेश नै जान नपर्ने र पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्ने बुढाथोकीको सुझाव छ । त्यसका लागि स्वयं युवा बर्र्गले एक सञ्जाल निर्माण गरेर गाईपालनका पूर्वाधार पहिचान गरी सहकार्यमार्फत् व्यवसायलाई अगाडि बढाउनुपर्ने र राज्यले पनि नारामा मात्र सीमित नभई व्यवहारिक रुपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने उहाँको धारणा छ । स्थानीय सरकारले कम्तीमा पनि गाईभैँसीको कृत्रिम गर्भधानलाई निःशुल्क गराएमा राहत मिल्ने बुढाथोकीको भनाइ छ ।

गाईपालनका लागि घाँस, दाना र स्थायी बजारको समस्या रहेको बताउने उहाँ दूध प्रशोधनका लागि चिस्यान केन्द्रसमेत नहुँदा दूधको सुद्धतामा उपभोगताहरुले आसङ्का गर्ने गरेको गुनासो गर्नुहुन्छ ।

विभिन्न क्षेत्रबाट दिइने अनुदानको कार्यक्रमका बारेमा प्रश्न उठाउँदै अनुदान खाली प्रक्रियामुखी र आवश्यताभन्दा पनि कार्यक्रममुखी भएकोले त्यसको प्रभावकारिता नभएको बुढाथोकीको ठम्याइ छ ।

अनुदान लोकसेवा आयोगले माग्ने निवेदन जस्तो नभइ व्यवसाय सुरुवात गर्दा कृषकले थाहा नपाउनेगरी गोठमा आइपुग्ने किसमको हुनुपर्ने र पशु बीमाजस्तै पचहत्तर प्रतिशत सरकार र २५ प्रतिशत हामी कृषकले बुझाए पुग्ने हुनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । उत्पादित समाग्रीलाई बजार प्रबन्ध गर्न सकेमा किसानमा अझै ठूलो हौसला मिल्ने बुढाथोकीको सुुझाव छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।