पसल–पसलमा बुङ्गली सुन्तला

बझाङ, १० पुस (रासस):मङ्सिर–पुस महिना सुन्तलाको ‘सिजन’ नै हो । ग्रामीण भेगमा राताम्य देखिने सुन्तला हिजोआज बजार केन्द्रित छन् । समशितोष्ण हावापानीमा उत्पादन हुने सुन्तला अहिले पहाड तथा तराईका बजारमा जताततै भेटिन्छ । त्यसैमध्येको एक हो बुङ्गली सुन्तला ।

जिल्लाको बुङ्गल नगरपालिका अहिले सुन्तलाले प्रख्यात छ । बुङ्गलमा सुन्तला नफल्ने कुनै वडा छैन । उत्पादन भएको सुन्तलाले नजिकको बजार पाउँदैन । रूखबाटै टिपेर व्यवसायी सिधैँ सदरमुकाम पु¥याउँछन्, बजारभरि सुन्तला फैलन्छ र बेचिन्छ ।

बुङ्गल –७ का पदम बोहराको बारीमा सुन्तलाका ११ बोट छन् । हरेक वर्ष फल्ने सुन्तलाले लगानीअनुसारको पर्याप्त फल दिइरहेको छ । रोपेको दुई वर्षमै फल्न सुरु गरेको सुन्तला अहिले ढकमक्कै भएको छ । “गत वर्ष त झण्डै आठ–दश क्विन्टल बराबर सुन्तला फलेको थियो”, उहाँले भन्नुभयो, “आधा बिजगडा, बागथला, देउरा, देउलेख, झोतालगायतका स्थानीय बजारमा बेचेँ । धेरै दिन जान नपाएको हुँदा कतै पाहुना, छरछिमेकीले खाए त कति बारीमै सडे ।”

किसान बोहराका अनुसार यस वर्ष भने उहाँको बारीमा झण्डै पाँच क्विन्टलमात्रै सुन्तला उत्पादन भयो । “यसपटक सबै बेचेँ । खर्च काटेर रु ६०–६५ हजार जति फाइदा भयो”, उहाँले भन्नुभयो । साविकको कृषि विकास कार्यालयबाट प्राप्त भएको सुन्तलाको बोटबाट बर्सेनि फाइदा भइरहेको उहाँले सुनाउनुभयो । “दुईवटा गरा (बारी)मा सुन्तला लगाएको छु । त्यसैले वर्षभरि नै खानलाई पुगेको छ । सुन्तला रोप्नुभन्दा अगाडि दुई डालो पनि गहुँ हुँदैनथ्यो ।”

बुङ्गलमा पदममात्रै हुनुहुन्न, हरेक गाउँमा सुन्तला खेती गर्ने कृषक छन् । वडा नं ६ का दिनेश धामीले सुन्तला फलाउन लागेको एक दशकभन्दा बढी भइसक्यो । सुरुमा एउटै बोटबाट दुई–तीन डोका बराबर सुन्तला फलाउने धामी अहिले दर्जन क्विन्टलभन्दा बढी सुन्तला फलाउनुहुन्छ । “पहिले घरमा पुरानै बोट थियो । त्योबाट उत्पादन भएको सबै घरमा खाने, छिमेकीलाई बाँड्ने गरिन्थ्यो । अहिले भने १५–१६ बोट छन् । सबै फल्छन् । बजारमा बेच्न जान्छौँ । वार्षिक एक लाखभन्दा बढी नाफा हुन्छ”, उहाँले भन्नुभयो ।

बुङ्गल –६ थन्काँडाकी दुर्गादेवी देवारले सदरमुकाम चैनपुरमा होटल सुरू गरेको १२ वर्ष भयो । त्यस अवधिभर देवारले दर्जनौँ ट्रक सुन्तला बुङ्गलबाट ल्याएर बेच्नुभयो । पाँच वर्षयतामात्रै देवारले सिजनअनुसार बर्सेनि ३० देखि ४० क्विन्टल बुङ्गली सुन्तला बेच्दै आएको बताउनुभयो ।

सुन्तलाको व्यवसायबाट धेरै फाइदा नभए पनि घर खर्च चल्ने गरेको उहाँको भनाइ छ । “गएको हप्ता बुङ्गल नगरपालिका–५, ६ र ९ बाट २०–२२ क्विन्टल सुन्तला ल्याएका थियौँ”, उहाँले भन्नुभयो, “बुङ्गलको सुन्तला अन्य जिल्लामा पठाउँदा बढी खर्चिलो हुन्छ । कृषकसँग सम्पर्क गरेर हामी सदरमुकाममा ल्याउँछौँ । यता बजार पनि बुझेको हुँदा बेच्न पनि सजिलो हुन्छ ।”

किसान देवारका अनुसार बुङ्गलमा रूखबाटै ल्याउँदा पनि सुन्तलाको प्रतिकेजी सय रूपैयाँ पर्छ । बुङ्गलबाट चैनपुर पु¥याउनसम्म रु एक सय ३० पर्छ । त्यसमा रु २० नाफा राखेर रु एक सय ५० प्रतिकिलो बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

उहाँले सन्तानलाई गुणस्तरीय शिक्षा दिनका लागि सदरमुकाममा होटल सुरु गरेर छोराछोरी विद्यालयमा भर्ना गर्नुभएको थियो । सात जना सदस्य रहेको देवारका अहिले दुई निजी र तीन सन्तान सामुदायिक विद्यालयमा अध्ययन गरिरहनुभएको छ । छोराछोरी पढाउनकै लागि होटलसहित सिजनअनुसार तरकारी तथा फलफूलको व्यापार गरिरहेको उहाँका श्रीमान् महेशले बताउनुभयो ।

पालिकाको प्राथमिकतामा कृषि

बुङ्गलमा कृषकलाई व्यावसायिक बनाउनका लागि अनुदानका कार्यक्रम ल्याएको नगरपालिका उपप्रमुख धनबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषकलाई व्यावसायिक बनाउनका लागि हामीले फलफूल, तरकारी तथा रैथाने बाली उत्पादनका लागि सहयोग गरिरहेका छौँ ।” उहाँले कृषकलाई बीउ तथा बेर्नासहित अनुदानसमेत सहयोग गरिरहेको बताउनुभयो ।

उहाँका अनुसार पालिकाको प्राथमिकता पनि कृषिमा नै छ । “कृषिमा आत्मनिर्भर हुनसक्यो भने हामी सबैतिर परिपक्व हुन्छौँ”, उहाँले भन्नुभयो, “नेपालले कृषि प्रधान देश बनाउनका लागि आफैँबाट सुरू गर्नुपर्छ भन्दै कृषिमा बढी लगानी गरेका हौँ ।”

जिल्लाको तल्कोट, बुङ्गल, छविसपाथिभेरा, दुर्गाथलीलगायतका पालिकामा यस वर्षमात्रै करिब पाँच सय क्विन्टल सुन्तला उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टका अनुसार सबैभन्दा बढी सुन्तला बुङ्गलमा फलेको छ भने त्यसपछि तल्कोटमा फलेको छ ।

सुन्तला धेरै उत्पादन नभएको हुँदा बाहिरी जिल्ला निर्यात नगरेको उहाँले बताउनुभयो । “सुन्तला उत्पादन धेरै छैन, ढुवानीका लागि कृषकलाई गत वर्ष रु ७० हजार र यस वर्ष रु ३० हजार ढुवानी खर्च दिएका छौँ । उहाँहरूले जिल्लामै बिक्री गर्नुहुन्छ ।” उहाँका अनुसार सुन्तला उत्पादन भए जति सबै जिल्लामै खपत भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।