कागती खेतीबाट मनग्य आम्दानी

मिला दरै/डुम्रे, १४ पुस (रासस)ः सरकारी सेवाबाट निवृत्तभएपछि बाँझो जमिनको उपयोग कसरी गर्न सकिन्छ भन्ने उदाहरण धनबहादुर रानाले प्रस्तुत गर्नुभएको छ ।

क्षेत्रीय बाली संरक्षण प्रयोगशालाबाट उपसचिव तहबाट निवृत्त हुनुभएका उहाँले अध्ययन एवं जागिरका क्रममा सिकेको सीपलाई व्यवसायिक कागतीखेती मार्फत प्रयोगमा ल्याउनुभएको छ ।

तनहुँ बन्दीपुर गाउँपालिका–१ तल्लोटारका राना भन्नुहुन्छ“बाँझो जमिनको उपयोग र जागिरका क्रममा सिकेको सीपको सदुपयोग हुने र मेरो खाली समय गुजार्न सहयोग पुग्ने लक्ष्यका साथ कृषि कर्ममा लागेको छु ।”

खेतीयोग्य जमिन खेर गएको देखेर पनि यो योजना बनाएको उहाँ बताउनुहुन्छ । “खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दो अवस्थामा छ । बाँझिएर खेर गएको जमिनको सदुपयोग गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ । जमिन खेर जानुभन्दा कागती खेती गरी निर्वाहमुखी खेतीलाई व्यावसायिक बनाउन कृषिमा निवृत्त समय उपयोग गर्ने उद्देश्यले यसमा लागिरहेको राना बताउनुहुन्छ ।

कागतीको बिरुवा लगाएको एक वर्षदेखि नै उत्पादन दिन थालेको उहाँ बताउनुहुन्छ । “दुई वर्षमा फल्नुपर्ने कागती एक वर्षमा नै उत्पादन दिन थालेको छ । फूल फालेर पनि रु एक लाख जतिको कागती बिक्री गरिसकेको छु”, उहाँले भन्नुभयो । सेवा निवृत्तको खाली समय खेर गएको जमिनमा उपयोग गर्दै २१ रोपनी क्षेत्रफलमा आठ सय कागती रोपण गरेको उहाँले बताउनुभयो । आम्दानी हुनुका साथै आफ्नो खेर जाने समय उपयोग गर्न बाँझो जमिनमा कागती खेती गरेको उहाँ बताउनुहुन्छ ।

उहाँले यहाँ कागती खेती सुरु गरेको करिब दुई वर्ष छ महिना भएको छ । उहाँले उक्त फार्ममा तीन प्रजातिका कागती लगाएको बताउनुभयो । सुन कागती एक, सुन कागती दुई र मद्रासी प्रजातिको कागती लगाउनुभएको छ । “सुन कागती एकको उत्पादन बाक्लो र राम्रो फलेको छ । यसमा रोग कम लाग्छ । सुन कागती एकको रसिलो र सुगन्ध आउँछ । सुन कागती दुई अलि पातलो फलेको छ । दाना र बोक्रा पातलो हुन्छ । मद्रासीको उत्पादन राम्रो छैन । मद्रासी कागतीको हाँगा पलाउने, ठूला दाना रसिलो भए पनि सुगन्ध नआउने र यसको उत्पादन कम हुन्छ”, किसान रानाले भन्नुभयो ।

तीनपटक फूल काटेर फाल्दासमेत छ क्विन्टल कागती उत्पादन भएको उहाँ बताउनुहुन्छ । अर्को सालदेखि उत्पादन दिने आशा गरेको उहाँ बताउनुहुन्छ । खेर गएको बाँझो जमिनको उपयोग हुने र बारीमा काम गर्दा आफ्नो शारिरीक स्वास्थ्यका लागि राम्रो हुन्छ भनेर कागती खेती सुरुआत गरेको उहाँ बताउनुहुन्छ ।

सुरुको वर्षमा करिब रु एक लाख जतिको उत्पादन गरिसकेको रानाले बताउनुभयो । फूल टिपेर फाली उक्त आम्दानी भएको उहाँले बताउनुभयो । “बाँझो जमिन उपयोग गर्ने लक्ष्यले युवालाई कृषि कर्मतर्फ प्रोत्साहन गर्नेछ । जमिन बाँझिने क्रम घटाउन सहयोग पुग्नेछ”, राना भन्नुहुन्छ ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जिल्ला उत्कृष्ट कागती खेती भएको दाबी गर्नुभयो । उहाँले बाँझो जमिनको उपयोगलाई प्राथमिकता दिन सकेमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था नरहेको बताउनुभयो ।

युवालाई कृषिमा आबद्ध गराउन धनबहादुरको कागती खेती उदाहरणीय भएको उहाँको भनाइ छ । बाँझो जमिनलाई उपयोग गरी फरक–फरक खेती गर्न सके स्थानीयस्तरमा नै बजार पाउने उहाँले बताउनुभयो ।

स्थानीय उत्पादनको बजार अभाव

भारतीय कागती आउन थालेपछि स्थानीय उत्पादनले बजार पाउनै मुस्किल रहेको छ । उत्पादनको लागत नै नआउने गरी बिक्री गरिँदासमेत स्थानीय उत्पादनले बजार नपाउँदा समस्या रहेको कृषक धनबहादुर बताउनुहुन्छ ।

“बजार अभाव हुने विषयमा पहिले नै अनभिज्ञ रहेको होइन तर पनि आफैँ कृषक भएर काम गर्दा अझ कृषकको पीडा थाहा पाइने रहेछ”, कृषक रानाले भन्नुभयो, “दशैँ–तिहारको समयमा मुग्लिनको बाटो बन्द भएको अवस्थामा कागतीको माग ह्वात्तै बढेको थियो । अहिले भारतीय कागती कम मूल्यमा पाइन्छ । यहाँको महँगो भनेर बिक्री गर्न समस्या हुने गरेको छ ।”

स्थानीय उत्पादनको बिक्री वितरण तथा बजारको व्यवस्थापन सरकारले नै गर्नुपर्ने अवस्था रहेको ज्ञान केन्द्र प्रमुख तिवारी बताउनुहुन्छ । विशेषगरी स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारले स्थानीय उत्पादनको बजारको व्यवस्थापन गरिदिएमा किसानलाई सहज हुने उहाँको सुझाव छ ।

कृषि ज्ञान केन्द्र तनहुँले बाँझो जग्गामा व्यावसायिक खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले अनुदानको व्यवस्था गरेको छ । विशेषगरी वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गराउन यस कार्यक्रम ल्याइएको ज्ञान केन्द्रले जनाएको छ ।

फलफूल खेतीका लागि युवालाई प्रोत्साहन गर्न यो योजना ल्याइएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका १२ कृषि फार्मलाई अनुदान दिइएको छ । बाह्र कृषि फार्मलाई रु आठ लाख पाँच हजार अनुदान प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

“विशेषगरी विदेशबाट फर्किएर बाँझो जग्गा उपयोग गरी खेती गरेका कृषि फार्मलाई मात्रै अनुगमन र अध्ययन गरी अनुदान उपलब्ध गराएका छौँ । यसले उनीहरुको व्यवसाय फस्टाएको अनुभूति गरेको छु”, उहाँले भन्नुभयो । विभिन्न प्रजातिका फलफूल खेती गरेका कृषकलाई मात्र अनुदान प्रदान गरिएको उहाँले बताउनुभयो ।

कागती ३४ रोपनी, सुन्तला ४३ रोपनी, एभोकाडो सात रोपनी, केरा नौ रोपनी, ड्रागन फ्रुट १० रोपनी क्षेत्रफल बाँझो जग्गामा खेती गरिएको केन्द्रले जनाएको छ । जिल्लामा कुल एक सय सात रोपनी क्षेत्रफलको बाँझो जग्गामा फलफूल खेती भइरहेको छ । केन्द्रले रु २५ हजारदेखि रु एक लाख ७५ हजारसम्म फार्मलाई अनुदान दिएको छ ।

ज्ञान केन्द्रले उपलब्ध गराएको अनुदानले कृषि फार्मको सुधार भएको कृषक बताउँछन् । फार्मको उत्पादन गर्न प्रोत्साहन मिलेको उनीहरूको भनाइ छ । ज्ञान केन्द्रले आँबुखैरेनी र म्याग्दे गाउँपालिका सहित भानु, व्यास, भिमाद नगरपालिकाका किसानलाई अनुदान उपलब्ध गराइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।