उदयपुरको मध्य तथा उत्तरी र पूर्वी पहाडी क्षेत्रमा रिट्ठा खेतीबाट राम्रै आर्थिक आम्दानी

हरिकुमार राई/उदयपुर, १९ पुस (रासस): उदयपुर जिल्लाको मध्य तथा उत्तरी र पूर्वी पहाडी क्षेत्रमा रिट्ठा खेतीमा विस्तार र उत्पादनमा वृद्धिसँगै अहिले कृषकहरुले राम्रै आर्थिक आम्दानी गर्न थालेका छन् ।

अहिले आएर जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका, रौतामाई गाउँपालिकासहित पूर्वी पहाडी क्षेत्रको चौदण्डी गढी नगरपालिकाको सावा सिद्धिपुर बेलकाको बबला क्षेत्रहरुमा बर्सेनि व्यावसायिक रुपमा रिट्ठाखेतीको वृद्धि हुँदै गएको छ भने कृषकहरुले आर्थिक आम्दानीसमेत गर्न थालेको कृषकहरु बताउँछन् ।

केही वर्षदेखि यता आएर जिल्लाको त्रियुगा नगरपालिकाको साउने, खाँबु र रानीबास आधेरी क्षेत्रमा समेत व्यावसायिक रुपमा रिट्ठा खेती विस्तार हुँदै गएको कृषकहरु बताउँछन् ।

नगदे बालीका रुपमा बिक्री गर्न सकिने र सहज तरिकाले रिट्ठा बिक्री गरेर आर्थिक आम्दानी लिन सकिने हुनाले अहिले जिल्लाको उदयपुरगढी गाउँपालिकाको भलायाडा क्षेत्र, डुम्रेसहित रौतामाई गाउँपालिकाको आँपटार, मुर्कुची, नामन्त, नामेटार क्षेत्रमा व्यावसायिक रुपमा रिट्ठाखेतीमा वृद्धि हुँदै गएको उदयपुरगढी–३ डुम्रेका एक कृषक बेगबहादुर घले मगरले बताउनुभयो ।

रौतामाई गाउँपालिका–५ आँपटारका रिट्ठा उत्पादक कृषक हर्कबहादुर राईका अनुसार विगतमा आफूले दुई–चार बोटमात्र रिट्ठा खेती सुरु गरेको भए पनि यसको मूल्य वृद्धि हुँदै गएर राम्रो आम्दानी गर्न सकिने भएको कारण अहिले केही वर्षयता आएर व्यावसायिक रुपमा नै रिट्ठा उत्पादनमा वृद्धि गरेको राई बताउनुहुन्छ ।

रिट्ठा उत्पादनमा वृद्धि गरेर सँगै तीन वर्षदेखि आफूले वार्षिक दुई लाखभन्दा बढी मूल्य बराबरको रिट्ठा उत्पादन गरेर बिक्री गर्ने गरेको राई बताउनुहुन्छ ।
१० वर्षअघि देखि आफ्नो घरपाखाको जग्गामा रिट्ठाको बिरुवाहरु लगाएर हुर्काएको रौतामाई मुर्कचीका कृषक दोदराज सिजाली मगर भन्नुहुन्छ, “तीन बर्ष देखि यता आएर रिट्ठा उत्पादन गर्न थालेको र अहिले वार्षिक रुपमा डेढ लाख सम्मको रिट्ठा बिक्री गर्न आफू सफल भएको छु, बिरुवा बोटहरु हुर्कंदै गएको कारण केही वर्षपछि उत्पादन र आम्दानीमा वृद्धि हुने अपेक्षा गरेको छु ।”

अहिले रिट्ठाको बजार राम्रो रहेको र बजार मूल्य प्रतिकेजी रु ८० देखि एकसय २५ सम्म रहेको कारण पनि यस क्षेत्रअन्तर्गत गाउँघरका कृषकहरु व्यावसायिक रुपमा रिट्ठा खेतीप्रति बर्सेनि आकर्षित हुँदै जान थालेको मगर बताउनुहुन्छ । आफूले गाउँमा व्यावसायिक रिट्ठा खेती सुरु गरेपछि अहिले छिमेकी अन्य गाउँलेहरुले पनि व्यावसायिक रिट्ठा खेती सुरु गरेको मुर्कचीका कुलेन्द्र मगर बताउनुहुन्छ ।

यता जिल्लाको चौदण्डी नगरपालिकाको सावा सिद्धिपुर क्षेत्रमा समेत अहिले व्यापक रुपमा व्यावसायिक रिट्ठा खेती सुरु भएको र कृषकहरुले वार्षिक ५० हजारदेखि दुई लाखसम्मको रिट्ठा उत्पादन गरेर बिक्री गर्न सुरु गरेको सिद्धिपुरका जितबहादुर बुर्जा मगर बताउनुहुन्छ ।

सिद्धिपुर क्षेत्रमा अहिले ११ घर कृषकहरुले व्यावसायिक रुपमा रिट्ठाखेती सुरु गरेको र यस क्षेत्रमा अहिले वार्षिक १८ लाखभन्दा बढीको रिट्ठा उत्पादन हुन सुरु गरेको जितबहादुर बुर्जा मगर बताउनुहुन्छ ।

मुर्कुची बजारका जडीबुटी उत्पादक व्यवसायी तेजनारायण शेर्पाका अनुसार रिट्ठाबाट साबुन, सेम्पु, औषधी, कस्मेटिक सामानहरु सहितका विभिन्न वस्तुहरु उत्पादन गर्न कच्चापदार्थका रुपमा प्रयोग गरिने हुनाले यसको माग पनि बढ्दै गएको र मूल्य पनि राम्रो रहेको कारण अहिले गाउँघरका कृषकहरु रिट्ठा उत्पादनप्रति आकर्षित बन्दै गएका छन् ।

आफूहरुले समेत रिट्ठा खरिद गरेर औषधी उत्पादन गर्ने गरेको र यसबाहेक खरिद गरिएका रिट्ठाहरु पूर्वको इटहरी विराटनगर हुँदै भारतर्फ पैठारी हुने गरेको शेर्पा बताउनुहुन्छ ।

डिभिजन वन कार्यालय उदयपुर गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकृत जागेशश्वर साहका अनुसार अहिले जिल्लाको मध्य तथा पूर्वी पहाडी क्षेत्रका धेरै कृषकहरुले व्यावसायिक रुपमा रिट्ठा उत्पादन गरेर राम्रो आर्थिक आम्दानी लिन थालेको साह बताउनुहुन्छ ।

त्रियुगा नगरपालिका–१४ साउने र वडा नं १५ खाँबु क्षेत्रमा पनि २०६० सालदेखि रिट्ठा खेती सुरु भएको र अहिले यस क्षेत्रका झन्डै १५ घर कृषकहरुले रिट्ठा उत्पादन सुरु गरेको त्रिनपा–१४ साउनेका पूर्ववडाध्यक्ष कुरुङ राई बताउनुहुन्छ ।
त्रिनपाको साउने र खाँबु क्षेत्रमा अहिले वार्षिक आठ लाखदेखि १० लाखसम्मको रिट्ठा उत्पादन र बिक्री हुन थालेको खाँबु हुबासका कृषक दुर्गाप्रसाद तिम्सिनाले बताउनुभयो ।

गाउँका कृषकहरुबाहेक जिल्लाको सरकारी वनमा समेत रिट्ठा उत्पादन हुँदै आएको र आफूहरुले नै गाउँका कृषकहरुलाई रिट्ठाको बिरुवाहरु उपलब्ध गराएर उत्पादन गर्न प्रोत्साहन गर्दै आएको डिभिजन वन कार्यालय गाईघाट उदयपुरका सहायक वन अधिकृत साहले बताउनुभयो ।

रिट्ठाका बिरुवाहरु बर्सेनि डिभिजन वनले नै नर्सरीमा उत्पादन गरेर कृषकहरुलाई वितरण गर्ने गरेपछि अहिले जिल्लाको पहाडी क्षेत्रका धेरै गाउँहरुमा कृषकहरुले व्यावसायिक रिट्ठा उत्पादनमा वृद्धि गर्दै लगेको र रिट्ठा बिक्रीबाट राम्रो आर्थिक आम्दानीसमेत लिन थालेको सहायक वन अधिकृत साह बताउनुहुन्छ ।

सरकारी वनमा उत्पादन भएका र गाउँघरमा व्यावसायिक रुपमा कृषकहरुले उत्पादन गरेका रिट्ठाहरु सजिलै अन्यत्र बिक्री हुन सहज भएको कारण अहिले कृषकहरुले रिट्ठा बिक्रीबाट राम्रो आर्थिक आम्दानी गर्न थालेको डिभिजन वन गाईघाटका कर्मचारीहरु बताउँछन् ।

यस क्षेत्रमा उत्पादन हुने रिट्ठाहरु सहज तरिकाले विराटनगरको साबुन उद्योगदेखि भारतसम्म पैठारी हुने गरेको कारण रिट्ठाको बजार राम्रो रहेको र बिक्रीसमेत सहज भएको कृषकहरु बताउँछन् ।

रिट्ठा बिक्रीबाट राम्रो आम्दानी हुन थालेको र यसको मागसमेत बढ्दै जान थालेपछि जिल्लाको चौदण्डीगढी, उदयपुरगढी तथा रौतामाई गाउँपालिकासहित त्रियुगा नगरपालिका क्षेत्रका कृषकहरुले व्यावसायिक रुपमा रिट्ठा उत्पादनमा वृद्धि गर्दै लगेका छन् भने राम्रो आर्थिक आम्दानीसमेत गर्न थालेको सम्बन्धित कृषकहरु बताउँछन् ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।