ला’गुऔ’षध ब्रा’उनसु’गर सहित ४ जना पक्राउ
झापा, पौष २० । झापाका बिभिन्न स्थानहरुबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार दिउँसो प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले मे ८ प ५३४४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका कन्काई नगरपालिका-५ का २२ बर्षीय गौरव चुडाल र ४४ बर्षीय भिम बहादुर बस्नेतलाई ३ ग्राम ७०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र १ थान डिजिटल तराजु सहित पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका – ६ भट्टराई चौकबाट स्थानीय २८ बर्षीय दिलिप लिम्बुलाई १ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यस्तै प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-७ का २३ बर्षीय बामदेव मिश्रलाई ३ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित मंगलवार दिउँसो पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
एसइईमा उत्कृष्ट अङ्क ल्याउने १३ विद्यार्थीले पाए रु चार लाख भत्ता
पर्वत, २० पुस (रासस):कुश्मा नगरपालिकाले नगरभित्रका १३ विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप झण्डै रु चार लाख वितरण गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार विसं २०७८ को एसइई परीक्षामा सामुदायिक विद्यालयबाट तीनदशमलव६५ वा सोभन्दा माथिको जिपिए प्राप्त गरेका विद्यार्थीलाई उक्त रकम उपलब्ध गराइएको हो ।
अध्ययनमा अब्बल रहेका विद्यार्थीलाई प्रोत्साहन तथा कक्षा १२ सम्म सघाउनका लागि मासिक रु दुई हजार पाँच सयका दरले एक वर्षको रकम दिइएको थियो । योसँगै प्रतिविद्यार्थी रु ३० हजारका दरले कुल रु तीन लाख ९० हजार निकासा दिइएको उहाँले बताउनुभयो ।
यो सुविधा पाउनका लागि कुश्मा नगरपालिकामा रहेका १८ वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भएको हुनुपर्ने शर्त राखिएको थियो । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गइरहेकाले विद्यार्थी सङ्ख्या बढाउन कुश्मा नगरपालिकाका सामुदायिक विद्यालयबाट एसइईमा उक्त जिपिए ल्याएका विद्यार्थीलाई मात्रै सुविधा दिइएको हो ।
“सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई सहयोग पुगोस्, उसको अध्ययनमा थप प्रेरणा मिलोस् भनेर यो कार्यक्रम स्वीकृत गरिएकाले सोहीअनुसार कार्यान्वयन गरेका हौँ । यसले सामुदायिक विद्यालयमा अध्ययन गर्नका लागि पनि विद्यार्थीलाई प्रेरणा दिने छ”, अधिकृत गुरुङले भन्नुभयो, “वर्षमा रु ३० हजार आउनु पनि विद्यार्थीका लागि राम्रो हो । कुश्मा नगरपालिकाका १८ माविबाहेक अन्यत्रबाट उत्तीर्ण भएकाको हकमा यो कार्यक्रम लागू भएको छैन । रकम थोरै भए पनि उनीहरूको थप अध्ययनमा यसले सघाउ पुग्ने छ ।”
नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । सामुदायिक विद्यालयबाट एसइई परीक्षामा समावेश हुने कतिपय विद्यार्थी गरिब तथा विपन्न अवस्थाका हुने भएकाले सामुदायिक विद्यालयका लागिमात्रै कार्यक्रम लागू गरिएको उहाँको भनाइ थियो । यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने तथा कक्षा ११ बाट उत्तीर्ण हुन नसके छात्रवृत्ति भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको पनि नगरप्रमुख जोशीले बताउनुभयो ।
नगरपालिकाको शिक्षा शाखा प्रमुख विष्णुप्रसाद तिवारीका अनुसार छात्रवृत्ति प्राप्त गर्ने १३मध्ये ११ जना सदरमुकाम कुश्माबजारमा रहेको नमूना विद्यालय नारायण माध्यमिक विद्यालयका अभिषेक लामिछाने, आविष्कार पौडेल, सौगात लामिछाने, मुन्दीप भुसाल, केबलकिशोर बाँस्तोला, सागरप्रसाद शर्मा, मानव पोखरेल, प्राची श्रेष्ठ, प्रशन्न श्रेष्ठ, निशा आचार्य र आशिष आचार्य हुन् । यस्तै हिमालय माध्यमिक विद्यालयका रविन सुनाम र शिवालय माध्यमिक विद्यालय कुश्माका सुप्रिम पौडेलले पनि छात्रवृत्ति पाएका छन् ।
–––


