शोकमग्न घुमाउनेटार

पाँचथर, २१ पुस (पाँचथर) ःलोहकिलडाँडाको चिसो बतासले भेट्ने फिदिम नगरपालिका–८ घुमाउनेटारका स्थानीयवासी चिसोका कारण चाँडै खाना खाइ ओच्छ्यानमा पुगेका थिए । राति १० नबज्दै शीतले निथ्रुक्कै भिज्ने गाउँबस्तीमा थोरै मानिस मात्रै अलि लामो समय जागै रहन्थे । तर मध्यरात स्थानीय स्वास्थ्य चौकी नजिकैबाट मानिसको चिच्याहट र आगोको मुस्लो निस्किएपछि यहाँका स्थानीयवासीको होस् उड्यो ।

कठ्याङ्ग्रिने चिसो भए पनि बुधबार मध्यरात १.३० बजे गाउँलेहरु अत्तालिँदै स्वास्थ्य चौकी नजिकै रहेको मेघबहादुर गुरुङको घरमा पुगे । गाउँले भेला हुँदा मेघबहादुरको तीन तले घरको दोस्रो तला जलिरहेको थियो । “चिच्याहटपछि भूकम्प होला भनेर उठेको त आगोले घर नै जलिसकेको रहेछ”, स्थानीयवासी जलकुमार तामाङले भन्नुभयो, “आगोको ज्वाला र धुँवाको मुस्लोले घरको वरिपरी पुग्न सक्ने स्थिति थिएन ।”

गाउँलेहरु कसैले प्रहरीलाई खबर गरे कसैले दमकललाई, कसैले गाग्री तथा ड्रममा जम्मा गरिएको पानी आगोमा खन्याउने प्रयास गरेभने कसैले खानेपानीको पाइप आगोमा लगाइदिए । तर काठ र टिनले बनाइएको सो घरको दोस्रो तलमा लागेको आगो सानो प्रयासले निभ्ने अवस्था थिएन । गाउँले मेघबहादुरको घर पुग्दा घरको बरण्डाको तल्लोपट्टिको कोठाबाट ‘बचाओ–बचाओ…’ भन्ने चिच्याहट आइरहेकै थियो । तर माथिल्लो पट्टिबाट सुरु भएको आगो सो कोठाको ढोकासम्म दन्किइसकेको थियो । झ्यालमा रड हालिएकाले भाग्नसक्ने अवस्था पनि थिएन ।
सोही अप्ठ्यारोमा परेर गएराति मेघबहादुरको घरमा भएको आगलागीमा परी मेघबहादुरकी कान्छी छोरी २२ वर्षीया ममता गुरुङ र २३ वर्षीया कान्छी बुहारी आशाङसिंह थेबे (गुरुङ)को ज्यान गयो ।

मृतकहरु चिच्याइरहेका बेला पुगेका छिमेकी जलकुमारका अनुसार आगोले घेरिएका नन्द–भाउजूलाई बचाउन सक्ने कुनै उपाय थिएन । घरको भूइँतलामा मेघबहादुर, उहाँकी श्रीमती, जेठा छोरा बिजेन्द्र, बिजेन्द्रकी चार वर्षीया छोरी र मृतक आशाङसिंहका भाइ सुतेका थिए भने दोस्रो तलाको बरण्डाको एउटै कोठामा नन्द–भाउजू । स्काभेटरका चालक मेघबहादुरका कान्छा छोरा आशाङसिंह श्रीमान् भने दुई दिनअघि मात्रै काम गर्न ताप्लेजुङ गएका थिए भने आशाङसिंहका भाइ दिदीको घर आएका थिए ।

दोस्रो तलाको भित्तापट्टिबाट आगलागी सुरु भई अन्यत्र फैलिएपछि मात्रै भूइँ तलाका पाँच जनाले पत्ता पाएका थिए । छिमेकीका अनुसार ठूलो आवाज आएपछि गाईवस्तु फुस्केको अनुमानले मेघबहादुर उठ्दा हुरहुरी आगो बलिरहेको थियो र माथिल्लो तलामा जान सम्भव थिएन । भूइँ तलाका सबैजना हत्तपत्त बाहिर निस्किए र बाहिरबाट जोडले कराए पनि नन्द–भाउजू ब्यूँझेनन् ।

ज्यानै जोखिममा हालेर मेघबहादुर र बिजेन्द्र तलामाथि चढ्न लाग्दा नन्द–भाउजू पनि चिच्याउन थाले । प्रत्यक्षदर्शीका अनुसार ममताले ढोका खोल्दा बाहिर दन्किइरहेको आगोको लक्काले छोपिहाल्यो भने नन्दलाई बचाउँन लाग्दा भाउजूपनि आगोमा परिहालिन् । उनीहरुलाई बचाउन तलामाथि चढ्ने प्रयास गरेका बाबु–छोरालाईसमेत आगोको लप्काले भेटेको छ । उनीहरु सामान्य घाइते भएका छन् । नन्द–भाउजू सुतेको कोठाको झ्यालमा रड नरहेको वा समयमै थाहा पाएको भए आगोबाट उम्कन सक्ने प्रत्यक्षदर्शीको भनाइ छ । “बाबुछोरा र बुहारीका भाइले बचाउनलाई हदैसम्मको प्रयास गरेका हुन्”, प्रत्यक्षदर्शी जलकुमार भन्नुहुन्छ, “तर उनीहरु भाग्ने ठाउँ नपाउँदा कसैले बचाउन सकेनौँ ।”

“रड बङ्ग्याउन ढुङ्गाले हान्दा पनि भएन । घरपरिवार र गाउँलेले सकेसम्म प्रयास त गरेकै हौंँ”, जलकुमारले भन्नुभयो, “सबैको आ–आफ्नो भाग्य त होला नि । ढ्याङ्गै ढोका खोलेर भाग्न खोज्दा आगोको भुल्काले भेटिहाल्यो । त्यसपछि कुनै उपाय रहेन ।” झण्डै २० किलोमिटर कच्ची सडक पार गर्नुपर्ने भएकाले यहाँ समयमा दमकल पुग्नसक्ने स्थिति समेत थिएन । फिदिममा रहेका दुई वटा दमकल पुग्दा घरको माथिल्लो तला जलसकेको स्थानीयवासीको भनाइ छ ।

विद्युतु चुहावट भई आगलागी सुरुआत भएको अनुमान गरिएको अर्का स्थानीयवासी मनबहादुर तामाङको भनाइ छ । यहाँका ग्रामीण क्षेत्रमा हुने अधिकांश आगलागी विद्युत्का कारण हुन थालेका छन् । अझ यस स्थानमा ढुङ्गा कम मात्रै पाइने हुनाले काठ र टिनको बेरा हाली टिनकै छाना लगाउनाले सल्केको आगो निभाउन कठिन पर्ने गरेको छ । आगलागीमा घर जलेर पूर्णरुपमा नष्ट भएपछि मेघबहादुरको परिवारको छिमेकीको शरणमा बसेका छन् ।

विस्थापित परिवारलाई जिल्ला दैवी प्रकोप उद्धार तथा राहत समिति, फिदिम नगरपालिका, नेपाल रेड्क्रस सोसाइटीलगायत निकायले नगद रु २५ हजारसहित खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडालगायत सामग्री उपलब्ध गराएका छन् । यस्तै नेकपा (एमाले) पाँचथरले ओढ्ने ओच्छ्याउने सामग्री तथा नगद रु १५ हजार उपलब्ध गराएको छ । घटनापछि घुमाउनेटार शोकमा डुबेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।