घरायसी विवादमा श्रीमतीको ह’त्या
सुरुङ्गा (झापा), २७ पुस (रासस) : झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको ह’त्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको ह’त्या गरेका हुन् ।
गए राति घरायसी विवादमा विश्वराजले श्रीमती प्रमिलालाई पेट र छातीमा लात्ती प्रहार गरेको र उनको घटनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको ह’त्यामा संलग्न भएको अभियोगमा प्रहरीले विश्वराजलाई राति नै नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिनुभयो ।
भोजपुरको अरुण गाउँपालिका–१ स्थायी घर भएका घिसिङ विगत दुई वर्षदेखि अर्जुनधारामा डेरामा बसेर निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्दै आएको बताइएको छ ।
नागरिकतामा दोस्रो श्रीमान्को नाम राख्ने बढे
रोल्पा, २७ पुस (रासस) :रोल्पामा दोस्रो श्रीमान्को नामबाट नागरिकता लिने महिलाको सङ्ख्या बढ्दै गएका छन् । जिल्लामा सम्बन्धविच्छेदको सङ्ख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको सङ्ख्या पनि बढेका हुन् ।
पहिलो श्रीमान्बाट सम्बन्धविच्छेद गरेसँगै दोस्रो विवाह गर्नेहरू नेपाली नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमान्को नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय धाउने गरेका छन् । जिप्रका रोल्पाका अनुसार अघिल्लो आर्थिक वर्ष पहिलो श्रीमान्को नाम हटाइ दोस्रोको नाम कायम भई एक हजार आठ सय १० वटा नागरिकता जारी भएको थियो ।
सो वर्ष जिल्ला प्रशासन कार्यालय रोल्पाबाट कूल सात हजार तीन सय ९४ वटा नयाँ नागरिकता जारी भएको थियो । यसैगरी तीन हजार ३९ वटा प्रतिलिपि नागरिकता जारी भएको थियो । जिल्लामा वर्षभर जारी हुने प्रतिलिपि नागरिकतामध्ये करिब ६० प्रतिशत प्रतिलिपि नागरिकता पहिलो श्रीमान्को नाम हटाइ दोस्रो श्रीमान्को नाम कायम गर्ने गरी आउने गरेका छन् ।
“जिल्लामा सानै उमेरमा विवाह गर्ने र उमेर पुगेसँगै सम्बन्धविच्छेद गर्ने मात्रा बढेसँगै स्थानीय तहको सिफारिससँगै नागरिकतामा पहिलो श्रीमान्को नाम हटाइ दोस्रो श्रीमान्को नाम कायम गर्नेको सङ्ख्या पनि बढिरहेको छ”, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भन्नुभयो ।


