बुढेसकालमा पनि छुटेन ढाका बुन्ने मोह

सुशीला रेग्मी/रामपुर (पाल्पा), १ माघ (रासस) : नेपालमै ढाका कपडाले प्रसिद्धी पाएको जिल्ला हो, पाल्पा । यहाँ घुमघामको सिलसिला होस् या अन्य काम विशेषले आउने आन्तरिक तथा बाह्य पर्यटकले ढाका कपडाबाट उत्पादित सामग्री कोशेलीका रुपमा लैजाने गर्छन् ।

मुलुकमै ढाका कपडाको उत्पादन नभएको अवस्थामा पाल्पामा उद्योगका रुपमा ढाका कपडा सञ्चालन गर्ने पूर्णमाया महर्जन र उहाँका श्रीमान् स्वर्गीय गणेशमान महर्जनको योगदानकै कारण आज जिल्लाको पहिचान बनेको छ । उहाँहरुकै देखासिकीबाट देशका अन्य जिलामा पनि ढाकाको उद्योग र व्यपार फस्टाएको छ ।

स्वदेशी बस्त्रकला पाल्पाली ढाका टोपी उद्योगका सञ्चालक महर्जनले उद्योग स्थापित गरेपछि यहाँका बेरोजगार, गरिब, विपन्न व्यक्तिले रोजगारको राम्रो अवसर पाएका छन् । जोस, जाँगर र सीप भयो भने उमेर बढ्यौलीपन लागे पनि ढाका उद्योगमा बसेर काम गर्ने मोह जवानी अवस्थाकै देखिन्छ ८५ वर्षीय पूर्णमाया महर्जनको । अहिले पनि पूर्णमाया हँसिलो मुद्रामा ढाकाको तानमा बसेर ढाका बुन्न पाउँदा जीवनका सारा दुःख पिडा भुल्नुहुन्छ । उहाँको जोस, जाँगर र साहस देख्दा १६ वर्षे जवानीकै जस्तो फुर्तिलो छ ।

ढाका कपडा उत्पादनमै उहाँको दैनिकी बितिरहेको छ । उहाँलाई ढाकाको तान बुनेर दिन बिताउन पाउँदा संसारको सबैभन्दा बढी खुशी मिल्दछ । उद्योगमा सीप सिकाउने र उनीहरुलाई रोजगार दिने गरेका कारण उहाँको उद्योगमा धेरै श्रमिकहरु काम गर्न रुचाउँछन् । “महिलालाई स्वरोजगार सिर्जना गर्न पाल्पामा तानबाट ढाका बुन्ने उद्योग सुरु गरेको हुँ” उहाँले भन्नुभयो, “अहिले जिल्लाभरि नै उद्योग फैलिदै गएको देख्दा असाध्यै खुशी लागेको छ, ढाका उद्योगले जिल्लालाई देश तथा विदेशमा चिनाएको छ ।”

रोजगारीको क्रममा उहाँका श्रीमान् गणेशमान महर्जनसँगै भारतमा जानुभएकी पूर्णमायाले त्यहाँ बस्ने क्रममा महिलाले ढाका कपडा बुनेको देख्नु भएको थियो । उहाँले पनि फुर्सदको समय सदुपयोग गर्न सीप सिक्नुभयो । सो सीपलाई स्वदेशमै विस्तार गर्ने अठोटका साथ गृह जिल्ला पाल्पा तानसेनमा फर्केर ढाका उद्योग थालनी गर्नुभयो । पाल्पा जिल्लामै पहिलोपटक २०१५ वैशाख १५ गतेदेखि उद्योग सुरु गरेको उहाँ बताउनुहुन्छ ।

महिला घरको चुलोचौकामै सिमित रहेको उतिबेलाको समयमा उहाँकै सक्रियतामा उद्योग स्थापना हुनु सानो कुरा थिएन । त्यस समयमा उद्योग खोल्दा धेरैले उहाँका कुरामा विश्वास गरेका थिएनन् तर हिम्मत र साहसका साथ उहाँ अगाडि बढ्नुभयो । आठ दशक पार गरेपनि उहाँ अहिले पनि बिहानै उठेर कारखानामा खटिएका कामदारसँगै काम गर्नुुहुन्छ । उहाँले उद्योग खोल्दा आफ्नो रोजगारीका निम्ति मात्रै नभएर गाउँका गरिब, विपन्न, घरपरिवारको अपहेलना सहेका महिलालाई स्वरोजगार सिर्जना गर्ने गरी उद्योग सुरु गरेको बताउनुहुन्छ ।

सुरुमा परिवारले मात्रै धानेको यस व्यवसायलाई बढाउँदै जाँदा २०२० देखि कामदार राखेर काम गराउनु भएको थियो । सुरुआती चरणमा सातवटा तानबाट उद्योग स्थापना गरीसात जना महिलालाई रोजगार दिनुभएको थियो । आफूले सकुन्जेलसम्म व्यवसाय चलाउने उहाँको योजना छ ।

उहाँ भन्नुहुन्छ, “महिला आर्थिक क्षेत्रमा अब्बल नहुँदा घरपरिवार, श्रीमान्को थिचोमिचो सहेर बस्नु परेको छ, आयआर्जनको क्षेत्रमा बलियो बनाउन मैले महिलालाई नै सीप सिकाएर स्वरोजगारको ढोका खोलिदिएको छु, धेरै महिलाले उद्योगमा काम गर्ने अवसर पाउनुभएको छ ।”

उद्योग स्थापनाका समयमा सडकमा मजदूरी गर्ने, गिट्टी कुट्ने, ढुङ्गा, माटो, बालुवा बोक्ने, भारी बोक्ने महिलालाई डो¥याएर उद्योगमा ल्याएर ढाका बुन्न लगाएको उहाँले अनुभव सुनाउनुभयो । उद्योगमा ढाका बुन्ने महिलाहरु अहिले सीप विकास गरी आफैँ उद्यमी बनेर व्यवसाय चलाएको देख्न पाउँदा खुशी लागेको उहाँले बताउनुभयो । उहाँकै प्रेरणाबाट ढाका कारखानामा काम गरेका थुप्रै श्रमिकहरु आफैँ उद्योग चलाएर मालिक बनेका छन् ।

पाल्पाली ढाका कपडा सङ्घका अध्यक्ष समेत रहनुभएकी महर्जनले चलाएको कारखानामा करिब २५ महिलालाई दैनिक रोजगार पाएका छन् । महिला कामदारलाई प्राथमिकता दिएर उद्योगमा तान बुन्न दिने गरेको उहाँको भनाइ छ । उहाँको उद्योगमा एक सय वटा विभिन्न खालका तान तयारी अवस्थामा छन् । पित्लुम (खाल्डेतान), हेण्डलुम, हाते जेकार्ड, हातेतानलगायतका तानमा बसेर महिलाले ढाका कपडा तयार पार्ने गरेका छन् । पाल्पाकै पहिलो र पुरानो उद्योग भएकाले यहाँ नयाँ पूराना सबैजसो तानहरु चलनचल्तीमा आएका छन् ।

उद्योगमा नेपालका ३६ जिल्लाबाट सीप सिक्न आएर विभिन्न ठाउँमा व्यवसाय सञ्चालन गरिरहेको महर्जन बताउनुहुन्छ । बिहानदेखि साँझसम्म उद्योगमा कामदार नियमित खटिरहेका हुन्छन् । आफूले जति धेरै उत्पादन गर्न सकियो सोही अनुसार आम्दानी हुने भएकाले उद्योगमा कामदार जुनसुकै समय निरन्तर काममा व्यस्त देखिन्छन् । यहाँ ढाका बुन्न बिहान–दिउँसो–साँझ जुनसुकै समय आफ्नो अनुकूल मिलाएर महिलाहरु आउने गर्दछन् ।

यस उद्योगमा उत्पादन भएको कपडा देशको प्रमुख शहरहरुमा पुग्ने गरेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्मका तथा विभिन्न मुलुकबाट पनि सामान खरिद गर्न आउने गरेको उहाँको भनाइ छ । पहिला मासिक रुपमा तलव दिएर कामदार खटाउने महर्जनले अहिले भने ढाका बुनाई मिटरको हिसाबले पारिश्रमिक दिने गरेको बताउनुहुन्छ । उहाँका अनुसार एक मिटर ढाका बुनेबापत डिजाइन अनुसार रु तीन सयदेखि छ सयसम्म पारिश्रमिक दिने गरिएको छ । व्यावसायिक रुपमा ढाका बुन्ने महिलाले यसबाट राम्रै कमाई गर्ने गरेका छन् ।

महर्जनले हालसम्म सात हजार बढी महिलालाई आफ्नो कारखानाबाट आयआर्जनको अवसर दिएको बताउनुहुन्छ । उहाँ उमेरले डाँडापारिको घामजस्तो भए पनि यस व्यवसायमा धेरै महिला उद्यमी उत्पादन गरेर रोजगारको ढोका खोलिदिनु भएको छ । उमेरले बुढ्यौली लागे पनि विशेषगरी एकल महिला, गरिब, विपन्न, दलित, जनजाति, घरपरिवार, समुदायबाट अपहेलित भएका महिलालाई प्राथमिकता दिदै ढाका बुन्ने कार्यमा सीप तथा हौसला दिने गर्नुहुन्छ ।

महर्जनले थालनी गरेको ढाका कपडा उद्योगका कारण अहिले देश तथा विदेशमा पाल्पाको पहिचान बनाउन सफल भएको छ । उद्योग सुरुआतका क्रममा पाल्पा कारागारमा रहेका थुनुवाहरुबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको थियो । उहाँको उद्योगबाट साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायतका गरी करिब ९० थरिका सामान उत्पादन हुने गर्दछ ।

पहिला ढाका भन्ने बित्तिकै चोली, टोपी, भोटोमा मात्रै सिमित थियो भने हिजोआज सर्ट, साडी, ब्लाउज, व्याग, कुर्ता, पछ्यौरा, आस्कोट, पर्दा, जुत्ता, चप्पललगायतका ग्राहकको रोजाई अनुसार विभिन्न सामग्री तयार पारिन्छ । बाहिरबाट भित्रिएका मेसिनबाट उत्पादित ढाका कपडाले गर्दा पाल्पाका केही उद्योग बन्द पनि नभएका होइनन् । अहिले ब्राण्डमा लगिएपछि भने पुनःउद्योगीमा उत्साह थपिएको सम्बद्ध व्यावसायी बताउँछन् । उद्योग, व्यापार फस्टाउदै जाँदा नयाँ नयाँ वस्तुको माग पनि थपिने क्रम जारी छ ।

जिल्लाको सदरमुकाम तानसेनसँगै ग्रामीण भेगहरु कसेनी, मदनपोखरा, कुुसुमखोला, चिर्तुङ्धारा, बन्दिपोखरा, अर्गलीमा ढाका कपडा बुन्ने गरिन्छ । रामपुर क्षेत्रमा तानसेनमा बुनेका ढाका कपडा खरिद गरेर व्यापार व्यावसाय गरिएको छ । जिल्लामा हाल १५ वटा ढाका कारखाना सञ्चालित छन् । पाल्पाली ढाकाको नाममा छल गरेर बाहिर उत्पादन भएका ढाका यहाँ भित्रन थालेपछि दुईवटा ढाका कारखाना बन्द हुन पुग्यो । अहिले पुनः बन्द रहेका कारखानालाई सञ्चालनमा ल्याइएको छ ।

पाल्पाली ढाका कपडा सङ्घले ढाका कपडासम्बन्धी सीप विकास तालिम, नयाँ कारखाना स्थापना गर्ने व्यावसायीलाई विभिन्न बैंकबाट ऋण सहयोग, सहज रुपमा धागो उपलब्ध गराएको छ । सङ्घले ढाकाको सामग्री बिक्री नभएमा व्यवसायीबाट खरिद गरी तानसेनमा रहेको कोसेली घरबाट बिक्री गर्ने व्यवस्था मिलाएको छ । विसं २०७८ फागुन १९ गते पाल्पाली ढाकालाई ब्राण्ड घोषणा र चैत १२ गते ढाका कपडाको राजधानीका रुपमा घोषणा गरिएको थियो । हरेक वर्ष चैत १२ का दिन ढाका महोत्सव मनाउने सङ्घको योजना छ ।

जिल्लाभित्र न्यूनतम तीनदेखि बढीमा एक सयभन्दा बढी तान राखेर कारखाना सञ्चालन गरिएको छ । एकसय बढी तान भएका चारवटा कारखाना रहेको छ । पाँच÷सात लाखको लगानीमा व्यावसाय चलाउन सकिने हुँदा ढाका उद्योगबाटै राम्रै लाभ लिन सकिनेछ । ढाकाको महत्व बुझ्दै गएपछि पछिल्लो समय ढाकाको व्यापार फस्टाउँदै गएको छ । दुई वर्ष कोभिड सङ्क्रमणले असर गरे पनि हिजोआज पुनः ढाका कपडाको व्यापार बढ्दो छ । पाल्पा भित्रिने नयाँ व्यक्तिले चिनोको रुपमा केही न केही ढाकाको सामान किन्ने गरेको व्यापारी बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।