तीन दशकपछि कुश्मामा बसपार्क निर्माण थालियो

पर्वत, ५ माघ (रासस) :सडक सञ्जालसित जोडिएको तीन दशकपछि पर्वतको सदरमुकाम कुश्मा बजारमा आधुनिक बसपार्क निर्माण थालिएको छ । कुश्मा नगरपालिका–६ बान्द्रेविडी चौरमा बसपार्क निर्माण गर्न थालिएको हो ।

विसं २०४८ मा पोखरा–बागलुङ सडक विस्तार भए पनि अहिलेसम्म बसपार्क नहुँदा यात्रु तथा सवारी चालक समस्यामा थिए । सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङमार्फत ठेक्का सम्झौता गरी बसपार्क निर्माण सुरु भएको हो । रु सात करोड १० लाख ३० हजारको लागतमा बसपार्क निर्माण गर्न लागिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

भवन निर्माणको जिम्मा स्याङ्जाको विजय सिद्धबाबा निर्माण सेवा कम्पनीले पाएको छ । गत कात्तिकमा ठेक्का सम्झौता भएको योजनाको अवधि आगामी असोज मसान्तसम्म छ । करिब १२ रोपनी १२ आना क्षेत्रफलमा बसपार्क निर्माण हुने निर्माण कम्पनीले जनाएको छ ।

बसपार्कमा फरक फरक प्रकृतिका सवारी साधन फरक फरक स्थानमा पार्किङको व्यवस्था गरिने छ । कम्पनीका प्रबन्धक सविन श्रेष्ठका अनुसार ठेक्का सम्झौताको अवधि ११ महिना मात्र बाँकी रहेकाले अहिले निर्माणको काम धमाधम भइरहेको छ । वर्षायाम अगावै धेरैजसो काम गर्ने गरी जनशक्ति परिचालन गरिएको छ ।

भिरालो जमिन भएकाले दुई तहमा सवारी साधन पार्किङको व्यवस्था मिलाइएको छ । बसपार्कसँगै दुई तले भवनसहित टिकट काउण्टर र प्रतीक्षालय निर्माण हुनेछ । यसअघि सिटीहलसहितको बसपार्क निर्माणका लागि कुश्मा नगरपालिकाले डिपीआर तयार पारिसकेको थियो । कुश्मामा लामो समयदेखि चर्चामा आएको बसपार्क निर्माणले अब गति लिएको छ ।

कुश्माबजार विस्तार हुँदै गइरहेको, भित्री र बाहिरी चक्रपथ निर्माण भइरहेको, पर्यटकीयस्थल थपिँदै गएकोले कुश्मा आधुनिक सहरको रुपमा विकास हुन थालेको जोशीले बताउनुभयो । कुश्मा नगरपालिका–६ का वडाध्यक्ष ईश्वर गिरीले बसपार्क निर्माणका लागि यसअघि पनि धेरै पटक पहल भए पनि सबै पहल खेर गएको स्मरण गर्दै अब भने बसपार्क निर्माणको काम बीचमै नरोकिने दाबी गर्नुभयो । कुश्मावासीको लामो समयदेखिको बसपार्कको सपना पूरा हुने गिरीले बताउनुभयो । बसपार्क तीन तल्लाको निर्माण हुने गरि डिपीआर तयार भए पनि अहिले भने दुई तलाको मात्र हुने भएको छ ।

सदरमुकाम कुश्माबजारबाट दिनहुँ काठमाडौँ, पोखरा, सुनौली, विराटनगर, नेपालगञ्ज, भैरहवा, काँकडभित्तालगायतका सहरमा सार्वजनिक सवारी साधन छुटने गर्छन् तर जिल्लामा भित्रिएका र बास बस्नुपर्ने सवारी साधन भने सुरक्षित ढङ्गले पार्किङ गर्न पाएका छैनन् ।

कुश्माबजार हुँदै दैनिक हजाराँैको सङ्ख्यामा सवारी साधन बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङ जाने गर्दछन् । व्यवस्थित बसपार्क नहुँदा सडकमै पार्किङ गर्ने, बजारभित्र अव्यवस्थितरुपमा सवारी साधन राख्दा दुर्घटनाको जोखिम .समेत बढ्दै गएको छ । अबको एक वर्षमा बसपार्क निर्माण सम्पन्न भएपछि कुश्माबजारको ट्राफिक व्यवस्थापनमा समेत सहज हुने ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यूरेले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।