सोनाह परिवार: पक्की घरमा बस्ने सपनामा अधुरै

महेन्द्रनगर, ९ माघ (रासस)ः कञ्चनपुरमा भीमदत्त नगरपालिकामा मात्रै बसोबास रहेको अल्पसङ्ख्यक सोनाह जातिका नागरिक दशकौँदेखि यहाँ रहँदै आए पनि दैनिकी भने कष्टकर छ ।

हिउँदमा महाकालीमा गिट्टी कुट्नेदेखि ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका भीमदत्त–१२, १३ र १७ मा बसोबास रहेका सोनाह परिवारको आर्थिक अवस्थामा सुधार आउन सकेको छैन । यहाँको भीमदत्त–१७ मा रहेका राम सोनाहले दशकौँदेखि सोनाह जातिको बसोबास रहेको बताउनुभयो ।

“यहाँ पुर्खादेखि बसोबास रहे पनि ज्याला मजदुरी गरेर बाँच्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “अहिले त गाउँघरमा मजदुरी गरौँ भने पनि काम पाउँदैन ।” एक वर्षअघि आफूसित रहेको आधा कट्ठा जमिन बेचेर बुबाको उपचारमा जुटेका रामले काम नपाउँदासम्म परिवारको खर्च जोहो गर्न समस्या रहेको बताउनुभयो ।

“रु साढे तीन लाखको जग्गा बेचेर बुबाको उपचार गर्नाका साथै पक्की घरको सोखमा दुईकोठे भवन बनाउन थाले”, उहाँले भन्नुभयो, “रकम अभावले घर अधुरो रहेको वर्षदिन भइसक्यो ।” उहाँले लोपोन्मुख र अल्पसङ्ख्यक समुदायलाई सरकारले विभिन्न अनुदान र कार्यक्रममार्फत घर बनाउने कुरो गरे पनि आफूले केही नपाएको बताउनुभयो ।

“जनता आवास कार्यक्रममार्फत सोनाहको घर बनाइदिने भनेपछि वडा कार्यालयमा गरेर निवेदन पनि दिएँ”, उहाँले भन्नुभयो, “राउटेलाई सांसद विकास कोषबाट घर बनाइयो भन्ने सुनेँ ।” उहाँले आयस्रोत न्यून भएका सोनाह जातिलाई पनि सरकारले घरबासका लागि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । “अब ज्याला मजदुरी गर्न पाए अधुरो घर पूरा गरेर सर्ने योजना हो”, उहाँले भन्नुभयो, “कच्ची झोपडीमा बर्सातमा त रात काट्नै गाह्रो हुन्छ ।” कतिपय सोनाह परिवार महाकाली तटीय क्षेत्रमा बसोबास गर्दै छाक टार्न महाकालीको बगरको भरमा छन् ।

भीमदत्त–१२ का किसन सोनाहले दशकौँदेखि आफू परिवारसहित महाकालीमा गिट्टी, बालुवा छानेर जीविका चलाउँदै आएको बताउनुभयो । “भन्नलाई अल्पसङ्ख्यक भनेर के के न सुविधा दिने कुरो गर्ने”, उहाँले भन्नुभयो, “यहाँ बगरमा काम नगरी घरमा चुल्हो बल्न मुस्किल हुन्छ ।”

उहाँले पनि सोनाह जातिलाई राज्यले बेवास्ता गरेकामा दुखेसो पोख्नुभयो । “आयमूलक काममा लगाउन सीपमूलक तालिम लिन पनि सोनाह जातिको पहुँच नभए जस्तो अवस्था छ”, उहाँले भन्नुभयो, “अनुदानदेखि सीपमूलक तालिमसम्म पहुँचवालाले मात्रै पाउने हुन र ?”

भीमदत्त–१२ का वडाध्यक्ष भूपेन्द्र रावलले सोनाह जातिका लागि भनेर वडाले बङ्गुरपालन रकम विनियोजन गरिएको बताउनुभयो । “पहिले यहाँ रहेको सोनाह जातिको अवस्था राम्रो भए पनि आर्थिक स्रोत नभएकै कारण अहिले कमजोर अवस्थामा आए”, वडाध्यक्ष रावलले भन्नुभयो, “विभिन्न सङ्घसंस्थाबाट आउने विभिन्न तालिममा पनि सोनाह जातिलाई प्राथमिकतामा राखेर पठाउन भनेका छौँ ।”
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।