साढे दुई करोड लगानीमा ९९ जना महिलाले चलाएको रेष्टुराँ

पोखरा, १६ माघ (रासस) : सङख्या विज्ञानमा अङ्क ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरुवात हो । गणना विधिमा दुई अङ्कको चक्र ९९ सकिन्छ र तीन अङ्कको चक्र शुरु हुन्छ । धार्मिक हिसाबले अङ्क ९९ लाई प्रतिकात्मक रुपमा विभिन्न सकारात्मक विषयसँग जोडेर हेर्ने गरिन्छ । एकता, प्रतिवद्धता, कार्यसफलतालगायतका भाव र अर्थको सङ्केत यो अङ्कले दिन्छ ।

उनान्सय जना महिलाले पर्यटकीय नगरी पोखरामा सञ्चालन गरेको व्यवसाय ‘रोयल दिदीबहिनी किचन’ यस्तै प्रतीकात्मक बिम्ब हो । जसले निकै खराब समयबाट गुज्रिएर आशाको प्रकाश बालेको छ र यो महिला सशक्तिकरणको ज्वलन्त उदाहरण बनेको छ । यहाँ गृहणीदेखि विभिन्न पेशा व्यवसायमा जोडिएका महिला एकताबद्ध भएर केही फरक, चुनौतीपूर्ण र नमूना काम गर्ने प्रयासमा छन् ।

पोखरा महानगरपालिका वडा नम्बर-१० को बुद्ध चोकमा महिलाहरुको सामूहिक प्रयासमा साढे दुई करोड लगानीमा रेस्टुराँ सुरु भएको हो । उनीहरु सबै पोखरा ‘रोयल बचत तथा ऋण सहकारी’मार्फत् एकआपसमा जोडिए । कम्पनी ऐनअनुसार निजी कम्पनी दर्ता गरे र रेस्टुराँ तथा बैङ्क्वेट चलाए ।

महिला सशक्तीकरणका लागि केही फरक गर्नुपर्छ भन्ने लागेरै आफूहरुले रेस्टुराँ शुरु गरेको सञ्चालक रुद्रकुमारी गुरुङ बताउनुहुन्छ । पोखरा रोयल बचत तथा ऋण सहकारीमा अध्यक्ष गुरुङकै नेतृत्वमा महिलाहरु एकजुट भइ दिदीबहिनी किचन स्थापना गरेका हुन् ।

‘‘सहकारीमा उपाध्यक्ष हुँदा मैले दिदीबहिनी किचनको नेतृत्व गरेको हुँ । विभिन्न अध्ययन अवलोकन र भ्रमणमा आउनेका लागि कार्यक्रम सञ्चालन गर्न र सँगसँगै खाना खान मिल्ने ठाउँको आवश्यकता महशुस भएपछि रेस्टुराँ शुरु गरेका हौँ”, गुरुङले भन्नुभयो ।

महिलाहरु एकताबद्ध भएर भइ सञ्चालन गरेको यो व्यवसाय आफैँमा उदाहरणीय भएका कारण विभिन्न क्षेत्रका महिला समूह र सहकारी संस्थाका सदस्यहरु अध्ययन तथा अवलोकनका लागि आउने गरेको उहाँको भनाइ छ ।

रोयल दिदीबहिनी किचनमा पोखरा रोयल सहकारीकै सदस्यहरु जोडिएका भएपनि छुट्टै कम्पनी हो । यो प्राइभेट लिमिटेडका रुपमा दर्ता छ । हरेक सदस्यले समान रू साढे दुई लाख बराबर लगानी गरेका छन् । रेष्टुराँमा एक सय जनालाई एकै साथ सेवा दिने क्षमता छ भने एक सय जनासम्म अटाउने बैङ्क्वेट तथा पार्टी भेन्यु पनि सञ्चालनमा छ ।

एउटा रेन्टुराँ चलाउनका लागि उनान्सय जनाको लगानी किन ? ‘‘यसको सांकेतिक अर्थ त छ नै । व्यवहारिक रुपमा पनि यस्तो हुन गयो । प्राइभेट कम्पनीमा ९९ जनाभन्दा बढी सदस्य बस्न नमिल्ने रहेछ । नत्र हामी अरु महिला दिदीबहिनीलाई पनि यसमा सहभागी गराउने सोचमा थियौँ”, सञ्चालक गुरुङले भन्नुभयो ।

कोभिड–१९ महामारीभन्दा केही समयअघि मात्र शुरु भएको रेस्टुराँ लकडाउनका समयमा नराम्रोसँग थलियो । व्यवसाय पूर्णरुपमा बन्द भएपछि सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्था आएको थियो । तर दिदीबहिनी किचनले कर्मचारी कटौती गरेन । तीन वर्षदेखि सञ्चालनमा रहेको रेस्टुराँमा हाल २० जना कर्मचारी छन् । व्यवसाय शुरु गरेको पहिलो दुई वर्ष निकै समस्या भोगेको रेस्टुराँ आर्थिक वर्ष २०७८÷७९ मा भने लगानीकर्तालाई पाँच प्रतिशत लाभांश दिन सफल भएको अध्यक्ष गुरुङको भनाइ छ ।

दिदी बहिनी किचेनले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ । “रेस्टुराँसँग जोडिएका दिदीबहिनीहरु सामाजिक काममा पनि खटिनुहुन्छ । यसवर्ष हामीले न्यून आर्थिक अवस्था भएका केहीलाई न्यानो कपडा बाँड्यौं । कम्पनीमा आवद्ध महिलालाई अन्य सीपमुलक काममा पनि खटाउने गरेको उहाँको भनाइ छ ।

सहकारीको अवधारणाबाट सञ्चालित रेष्टुराँ निजी क्षेत्रका लागि पनि अनुकरणीय छ । यहाँ सदस्यहरु आफै सेवामा खटिन्छन् । लगानीकर्ताका परिवारका सबै सदस्य प्रत्येक महिना कम्तीमा एकपटक यो रेस्टुराँमा खाना खान आइपुग्छन् ताकि यहाँको व्यवस्थापन मात्र होइन खानेकुराको स्वाद, गुणस्तर, सेवाप्रवाह जस्ता कुराको जानकारी लिन सकियोस ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।