भोजपुरमा बालीघरे प्रथाको मारमा दलित समुदाय

भोजपुर, १८ माघ (रासस): गाउँघरमा बालीघरे प्रथामा काम गर्दै आएका व्यक्तिले श्रमअनुसारको ज्याला पाउन नसकेको गुनासो गर्दै आएका छन् । यस प्रथामा काम गर्दा श्रमको उचित मूल्य नपाउँदा जीविकोपार्जनमा समस्या भएको उनीहरूको भनाइ छ । बालीघरे प्रथामा काम गर्दा धेरै दलित समुदायका व्यक्ति ठगिँदै आएका छन् ।

गरिबीको कारण दलित समुदायका व्यक्ति बालीघरे प्रथामा काम गर्न बाध्य भएका हुन् । भोजपुरका ४० प्रतिशत बढी दलित बालीघरे प्रथामा काम गर्न बाध्य रहेको नगरस्तरीय दलित सञ्जाल समितिका अध्यक्ष दुर्गा रणपंहेलीले बताउनुभयो । जिल्लाभरि नै यो प्रथाको अन्त्यका लागि अभियानमार्फत सचेतनाका कार्यक्रम चलाए पनि उनीहरूमा बालीघरेमा काम गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

“हाम्रो जिल्लामा अझै पनि बालीघरे प्रथा छ”, अध्यक्ष रणपंहेलीले भन्नुभयो, “यसरी काम गर्ने दलित ठगिएको अवस्था छ । उनीहरूले श्रमअनुसारको ज्याला पाउँदैनन् । दश पाथी अन्न, चाडबाडमा एक–दुई माना चामल पाएको भरमा वर्षभरि काम गरिरहेका छन् । यसरी काम नगरभन्दा मान्ने अवस्था छैन ।” उनीहरूलाई राज्यले विकल्प नदिएसम्म यो प्रथा अन्त्य नहुने उहाँको भनाइ छ ।

यसमा आवद्धलाई अन्न लिनुको साटो पैसा लिएर काम गर्नुभन्दा समेत नमान्ने अवस्था रहेको रणपंहेलीले बताउनुभयो । “सामाजिक सचेतनाका काम भइरहेका छन् । तर यहाँ अझै पनि बालीघरे प्रथा हट्न सकेको छैन”, उहाँले भन्नुभयो । सामाजिक सुधारका लागि राज्यले अझ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

बालीघरे प्रथा भन्नाले वर्षभर काम गरेको ज्यालाको रूपमा अन्न लिने प्रथालाई बुझिन्छ । सहरी तथा शिक्षित समाजमा यस खालको प्रथाको अन्त्य भए पनि यहाँका ग्रामीण क्षेत्रमा अझै यो चलन छ । युवापुस्ताले यस्ता खालको काम नगरे पनि पुरानो पुस्तामा अहिले पनि यसरी काम गर्ने चलन छ ।

केही रकम तथा अन्न लिएर फलामका सामग्री बनाउने र कपडा सिलाउने चलन छ । कपडा सिलाउने काम गरेवापत वर्ष दिनको प्रतिघर १० पाथीदेखि एक मुरी अन्न, चाडपर्वमा भाग भनेर फलाम पिट्नेले दशैँमा खसीको गर्धन र कपडा सिलाउनेलाई पुच्छर तथा साउने, माघे सङ्क्रान्तिलगायत चाडमा चामल, नुन, सेलरोटी दिने चलन अझै कायम छ ।

टेम्केमैयुङ गाउँपालिका–९ का हर्कबहादुर विकका वर्षौँदेखिको दिनचर्या यसरी नै बितिरहेको बताउनुभयो । गाउँमा फलाम पिट्ने काम न्यूनतम ज्यालाको रूपमा बाली लिएर काम गर्ने बाध्यता रहेको उहाँको भनाइ छ । यो काम छाडे जीवनयापन गर्न झनै समस्या हुने विकले बताउनुभयो ।

“बाउबाजेको पालाबाट बालीघरेमा फलामको काम गर्दै आएको छु”, उहाँले भन्नुभयो, “अन्य पेसा गर्ने राम्रो सीप छैन । सहरमा गएर व्यवसाय गर्न पैसा हँुदैन । परिवार धान्न मुस्किल हुन्छ । श्रमअनुसारको मूल्य नपाए पनि दैनिकी चलाउन काम गर्नुपर्ने बाध्यता छ । यस्तो काम गर्न मन त छैन । बाउबाजेले बालीघरेमै काम गरे, आफू पनि त्यही लयमा लागियो ।”

टेम्केमैयुङ गाउँपालिका–५ का गोरे विक पनि वर्षौँदेखि बालीघरे काम गर्दै आएको बताउनुहुन्छ । पुस्तौँदेखि बालीघरेमा काम गरे पनि आर्थिक अवस्था कमजोर रहेको उहाँ भनाइ छ । बालीघरे प्रथामा काम गरेर जीवनयापन गर्न कठिन रहेको विकले बताउनुभयो । “वर्षौँदेखि यसरी नै काम गर्दै आएको छु”, उहाँले भन्नुभयो, “पहिलाबाट गर्दै आएको काम भएकाले गर्न मन लाग्छ । यसले सहज जीवनयापन गर्न त कठिन छ । तर पनि यही काम गरेर जसोतसो परिवार पाल्नुपर्ने अवस्था छ ।”

आफ्नो सीपमा बाँच्नु राम्रो भए पनि श्रमअनुसारको ज्याला पाउन भने मुस्किल रहेको रामप्रसादराई गाउँपालिका–४ का हर्षबहादुर दर्जीले बताउनुभयो । वर्षभरि एक परिवारको लुगा सिलाएको १०–१२ पाथी अन्न दिने गरेको उहाँको भनाइ छ । बाउबाजेले बसालेको प्रथाको मारमा पछिल्लो पुस्ता पनि परेको दर्जीले बताउनुभयो । बालीघरेमा काम गर्दा उचित ज्याला पाउन नसक्दा युवापुस्ताले विस्तारै यो पेसा गर्न छाडेको उहाँको भनाइ छ । बालीघरे प्रथाअनुसार काम गर्दा अन्नबालीको रूपमा न्यूनतम ज्याला लिनुपर्ने बाध्यता देखिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।