दमक–१० का भूमिहीनले धनीपुर्जा पाएपछि खुसी

दमक, २० माघ (रासस) :झापाको दमक–१० आमबाडीका अमर विश्वकर्माले ८१ वर्षको उमेरमा जग्गाको मालिक बनौँला भन्ने आशा गर्नै छोडिसक्नुभएको थियो । श्रीमती पवित्रासहित पाँच छोराका धनी विश्वकर्मा यो उमेरसम्म जग्गाको धनी भने हुनै सक्नुभएको थिएन । आफू वर्षौँदेखि बसिआएको आमबाडीको त्यो जग्गा श्रीमती पवित्रा विश्वकर्माको नाममा आएपछि विश्वकर्मा परिवारमा पहिलोपटक औधी खुसी भित्रिएको छ । चार दशकदेखि ती दलित दम्पती परिवार सुकुम्बासीका रूपमा बस्दै आउनुभएको थियो ।

बिहीबार दमक–१० को वडा कार्यालयमा दमक नगरपालिकाले आयोजना गरेको दलित भूमिहीन, भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गा धनीपुर्जा वितरण कार्यक्रममा विश्वकर्मा दम्पतीको फोटो टाँस गरिएको जग्गा धनीपुर्जा हात परेपछि खुसीले हर्षविभोर हुनुभएको थियो । बुढेसकालमा आफूहरूले पाएको जग्गाको मालिक बन्ने सपना पूरा भएको दम्पतीले सुनाउनुभयो । उहाँहरूले एकै स्वरमा भन्नुभयो, “जीवनमा यो भन्दा ठूलो खुसी अरु के हुन्छ र ?”

भूमि आयोगका राष्ट्रिय अध्यक्ष केशव निरौलाको हातबाट जग्गाधनी प्रमाण पुर्जा ग्रहण गरेका विश्वकर्मा दम्पतीजस्तै सोही वडाकी सञ्चमाया लिम्बूलाई पनि १५ धुर एक पावा जग्गाको धनीपुर्जा हात पर्दा मन उसैगरी खुसीले गद्गद भएको छ ।

विश्वकर्मा र सञ्चमायाजस्तै सोही ठाउँका ६३ वर्षीय कालीचन्द्र दास पनि यो उमेरमा आएर आफूले बसोबास गरिरहेको जग्गाको स्वामित्व आफ्नै नाममा आउँदा उस्तै खुसीले रमाउनुभएको छ । उहाँहरूजस्तै सो वडाका कुल २७ परिवारलाई बिहीबार राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष निरौलाको प्रमुख उपस्थितिमा जिल्लामा क्रियाशील तिलकसिंह पाण्डे नेतृत्वको राष्ट्रिय भूमि आयोगले नापजाँच यकिन गरी जग्गाको धनीपुर्जा प्रमाणपत्र वितरण गरेको हो ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको अध्यक्षतामा आयोजित सो धनीपुर्जा वितरण कार्यक्रममा नगरप्रमुख थापा र उपप्रमुख रेगिना भट्टराईले आफूहरूले चुनावताका जनताका घरदैलोमा पुगेर गरेको वाचामध्येको पहिलो प्राथमिकता भूमिहीनलाई जग्गा धनीपुर्जा दिलाउने नै भएको स्मरण गर्नुभयो । उहाँहरूले नगरपालिकाको सिङ्गो टिम नागरिकका आधारभूत आवश्यकताको उपलब्धताका लागि प्रतिबद्ध रहेको पनि जनाउनुभयो ।

सो कार्यक्रममा स्वागत गर्दै दमक–१० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले सो वडामा जग्गा धनीपुर्जाका लागि आवेदन गरेका छ सय बढी आवेदनमाथि आयोगले छानविन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर धनीपुर्जा उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वडाले हालसम्म भएका अनेकौँ प्रयत्न सफल नहुँदा जग्गाको स्वामित्व पाउन नसकेका भूमिहीनको समस्यालाई वडा कार्यालयले नजिकैबाट बुझेको र जिल्लास्थित भूमि आयोगले समेत सक्रियतापूर्वक काम गर्दा सात महिनामा नै जग्गाधनी पुर्जा दिलाउन सफल भएका छौँ ।”

उहाँले आवेदन गरेका अन्य आवेदकलाई समेत यथाशीघ्र धनीपुर्जा दिलाउन आफू प्रयत्नशील रहेको पनि जनाउनुभयो । सो अवसरमा आयोगको जिल्ला नेतृत्व, नगरस्तरीय जग्गा धनीपुर्जा प्राप्ति सहजीकरण समितिलाई विशेष धन्यवाद प्रकट गरिएको थियो ।

कार्यक्रममा राजनीतिक दलको तर्फबाट कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईले शुभकामना मन्तव्य राख्दै आयोग र यहँँका जनप्रतिनिधिले नागरिकको अत्यावश्यकताका विषयलाई बुझेर धनीपुर्जा दिलाउन निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । नगरप्रमुख रामकुमार थापाले अहिलेसम्म दमकमा झण्डै आठ हजार जग्गाको धनीपुर्जाका लागि निस्सा वितरण गरी थप प्रक्रिया अघि बढेको जानकारी दिँदै आयोगलाई सबै भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई यथाशीघ्र नगरवासीको जग्गाको स्वामित्व दिलाउन माग गर्नुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।