खोलामा माछा नपाइँदा माझी र दनुवार समस्यामा

मेलम्ची, २६ माघ (रासस)ः इन्द्रावती बगरमा आजभन्दा १०÷१२ वर्ष पहिले माछा मार्नेको घुइँचो लाग्थ्यो तर अहिले बगरमा अधिकांश बालुवा चाल्ने र ज्यामी काम गरिरहेका मात्र भेटिन्छन् । इन्द्रावती गाउँपालिका–११ र १२ का माझी तथा दनुवारले माछा मारेरै जीविका चलाउने गरेका थिए । पहिला खोलामा माछा कति पाइन्थ्यो भन्ने साँधी नै थिएन तर अहिले खोलामा माछा देख्नै गाह्रो भएको इन्द्रावती–१२ का बृद्ध पृथ्वीबहादुर दनुवार बताउनुहुन्छ ।

“माछा पाइने भएकाले एक ÷दुईघण्टा समय दिएपछि घरखर्च चलाउन समस्या नै हुँदैनथ्यो । घरमा तरकारी नहँदा पनि खोलामा जाने गरिन्थ्यो । एक छिनमै ल्याएको माछाले छाक टरिहाल्थ्यो । अहिले खोलामा डढेँलो नै लागेजस्तो भाको छ”, उहाँ भन्नुहुन्छ ।

“साना–ठूला माछा छेउछाउमै भेटिन्थ्यो । एउटा भङ्गालो थुन्दा एक झोला माछा जम्मा हुने गर्दथ्यो,” पृथ्वीबहादुर विगत सम्झदै भन्नुहुन्छ, ‘‘क्रसर सुरु भएपछि केही मात्रामा खोलामा माछा घटेको छ । जब २०७२ सालमा भूकम्प आयो त्यसपछि भने माछा पाइन नै छाड्यो ।’’ एक ÷दुई रुपैयाँ किलोको माछा बेच्दा पनि माछा मारेर घरखर्च पुग्ने गरेको उहाँ बताउनुहुन्छ । अहिले माछा मार्ने व्यवसाय नै धरापमा परेकाले विकल्पकरुपमा ज्याला मजदूरी गर्न बाध्य भएका दनुवार समुदाय । खोलामा प्रश्सतै माछा पाउँदा ती समुदायका अधिकांशले घरखर्च चलाउने माध्यम नै खोला बनेको थियो । बिहान घामको झुल्कोसँगै हातमा जाल र कम्बरमा गेद्रा लिएर खोलामा पुग्ने दनुवारहरु अहिले खोलामा देख्नै मुस्किल भइसकको छ । बाउबाजेदेखि गरिआएको पेसा नै धरापमा परेको छ ।

अहिले लोकल माछाको माग बढ्न थालेको र राम्रो मूल्यमा बिक्री हुने भए पनि खोलाको माछा पाइनै छाडेको छ । साविकको भीमटार गाविसका माझी तथा दनुवार समुदाय माछा मार्न र खान सौखिन थिए तर अहिले क्रसर उद्योगले आफूखुशी खोला उत्खनन गर्ने र विष प्रगोग गरेर माछा मार्ने गर्दा माझी तथा दनुवार समुदायको दैनिक गतिविधि नै विथोलिएको छ ।

“हाम्रो त जागिर, पेसा र व्यवसाय जे भने पनि खोलाको माछा हो”, सोही स्थानका अर्नुन दनुवार भन्नुहुन्छ, “अहिले नदीमा माछा घटेकाले दिनभर खोलामा डुल्दा पनि रित्तो हात फर्किनुपर्ने अवस्था छ । माछा मारेरै गुजारा गर्नेलाई हातमुख जोर्नै धौधौ परेको छ ।” उहाँको
भनाइ छ ।

नदीमा माछा घटेसँगै भीमटारमा स्थानीयवासीले पेसा नै छाडेका छन् । नदीमा क्रसर उद्योग बढेसँगै बालुवा उत्खनन् तीव्र गतिमा हुँदा माछाको सङ्ख्यामा कमी आएको छ । नदी वरपर खोलिएका क्रसरबाट निस्कने लेदो माटोका कारण पनि खोलामा माछा पाउन मुस्किल हुने गरेको छ । बाबुबाजेदेखि आफूले पनि गर्दै पेसाबाट हात धुनुपर्ने अवस्था आएको भीमटारका कृष्णबहादुर दनुवारको गुनसो छ ।

खोला बगर आसपासका बस्तीमा बस्न रुचाउने दनुवार तथा माझी समुदाय अहिले वैकल्पिक कामको खोजीमा लाग्न थालेको ईन्द्रावती १२ का वडाध्यक्ष सुरेन्द्रबहादुर दनुवारको भनाइ छ । अघिल्ला पुस्ताले अहिले शिक्षा आर्जनका लागि आफ्ना सन्तानलाई अग्रसर गराएका छन् तर सोचेजति उपलब्धि भने हासिल गर्न नसकेको उहाँ बताउनुहुन्छ । अहिले उक्त समुदायमा सबैले अध्ययनसँगै सीप पनि सिक्न थालेकाले अबको केही समयमा भने बेरोजगारीको समस्या विस्तारै हट्दै जाने वडाध्यक्ष दनुवार जानकारी दिनुहुन्छ।

माछा मार्ने र बालुवा चाल्ने कामको विकल्प खोजी गरिरहेको इन्द्रावती–११ का वडाध्यक्ष रामजी माझीको भनाइ छ । विगतमा समुदायका व्यक्तिमा सीप र शिक्षा नभएका कारण माछा मार्ने र बालुवा चालेर गुजारा गर्न बाध्य थिए तर अहिले वडाबाट बङ्गर पालन, कुखुरा पालनलगायत उद्यममा लगाएर अनुदान दिने गरिएको उहाँ जानकारी दिनुहुन्छ । कृषिलाई आधुनिक तरिकाबाट खेती गर्न केही किसानलाई अनुदानका रूपमा टनेल र तरकारीको बीउ वितरण गरिएककोे वडाध्यक्ष माझीको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।