ताप्लेजुङको पाथीभरा क्षेत्रमा फूल्न थाल्यो गुराँस

फुङ्लिङ, ५ फागुन (रासस)ः ताप्लेजुङको पाथीभरा क्षेत्रमा गुराँस फुल्न सुरु भएको छ । पहाडी जिल्लाको बँेसी क्षेत्रहरुमा माघको दोस्रो सातादेखि नै गुराँस फुल्न थालेको हो ।

समुद्र सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल वरपर गुराँस फुलेको भेट्न सकिन्छ । पहाडी क्षेत्रमा गुराँस फुल्न सुरु भएसँगै वनजङ्गल राताम्य हुने गर्दछ । स्थानीय व्यवसायी गुराँस फुलेसँगै पर्यटन व्यवसाय फस्टाउने आशमा हुन्छन् ।

त्यस्तै आशमा छन्, पाथीभरादेवी नजिकै होटल सञ्चालन गरेका युवराज खड्का । गुराँसको सिजनमा उहाँले मनग्य आम्दानी गर्दै आएका छन् । गुराँस ढकमक्क फुल्न थालेपछि व्यापार धेरै हुने गरेको उहाँले बताउनुभयो । “पर्यटक यहाँ गुराँससँग रमाउन गाडी नै ल्याएर आउँछन् । हामीलाई उहाँहरूको सेवा गर्न भ्याइनभ्याइ हुन्छ”, उहाँ भन्नुहुन्छ । यहाँ नयाँ वर्षको दिन पर्यटकको धेरै घुइँचो लाग्छ । उहाँले भन्नुभयो, “गुराँसको महिमाले यहाँ पर्यटकको सङ्ख्या बढेपछि होटल सुरु ग¥यौँ । डाँडाभरि फुल्ने गुराँस हेरिरहुँ लाग्छ, यी निकै मनमोहक देखिन्छन् ।”

पर्यटकीय क्षेत्रमा गुराँसमा झुम्मिनेहरू धेरै भेटिन्छन् । हिमाली र पहाडी भेगमा ढकमक्क गुराँस फुलेको हुन्छ । माघदेखि जेठसम्म गुराँस फुल्छ । गुराँसलाई बिम्ब बनाएर धेरै गीत, गजल र कविता लेखिएका छन् । सामाजिक सञ्जालमा गुराँस छेउ उभिएको, हत्केलामा गुराँस राखिएको, कानमा सिउरिएका तस्बिरहरू देखा पर्न थालेको छ । गुराँस बगैँचामा रमाउने र पदायात्रा गर्नेहरू धेरै भेटिन्छन् । तस्बिरमा देखेकाहरू प्रत्यक्ष रूपमा गुराँस देख्दा धेरै रमाउँछन् । गुराँसका पात, बोक्रा र फूल मानिस तथा घरपालुवा जनावरका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । अचार, सर्वत र रक्सी बनाउन पनि यो झनै उपयोगी हुन्छ ।

फागुनको दोस्रो सातादेखि पाथीभरा मन्दिर जाने पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगँरासका फूलले सजिने गर्दछ । निकै लामो समय गाडीभित्र गुम्सिएर उकुसमुकुस यात्रापछि गाडीबाट ओर्लिने बित्तिकै मनमोहक राष्ट्रिय फूल लालीगुराँस फूलको स्वागतले तीर्थयात्रीमा एक प्रकारको ऊर्जा प्राप्त हुने गर्दछ ।

लालीगुराँसले पाथीभरा क्षेत्रका वनपाखा रङ्गीन हुने गर्दछ । यस क्षेत्रमा लालीगुराँस माघदेखि नै फुल्न थालेको छ । मौसम परिवर्तनको असरका कारण यस वर्ष चाँडै गुराँस फुल्न थालेको स्थानीयवासीको भनाइ छ । लालीगुराँस फुलेपछि पाथीभरा दर्शनका लागि आउने तीर्थयात्री सबैको मन लोभ्याउने गर्दछ । पाथीभरा जाने पदमार्गमा ढकमक्क गुराँस फुल्न थालेपछि तीर्थयात्रीको सङ्ख्या बढ्दै जाने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । ढकमक्क फुलेको लालीगुराँस देख्दा सबैको मन लोभ्याउने र आनन्द लिन तथा पाथीभरा देवीको दर्शन गर्न एकै पटक मिल्ने भएकाले अहिले तीर्थयात्रीको सङ्ख्या बढ्दै गएको हो ।

प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्ने याम सुरु भएकाले पाथीभराको दर्शनसँगै गुराँस फुलेको मनोरम दृश्यको अवलोकन गर्न सकिने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । विश्वमा दुर्लभ वन्यजन्तु रेडपान्डाको बासस्थान पाथीभरा क्षेत्रमा पर्दछ । कालो भालु, मृग, घोरल साथै नेपालमा मात्र पाइने काँडेभ्याकुर, कालिज, नेपालको राष्ट्रिय पन्छी डाँफेलगायत वन्यजन्तु तथा पन्छी पाइने गर्दछन् ।

पर्यटन मन्त्रलयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ । यस क्षेत्रमा सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन् ।

यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छन् । यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङ जस्ता प्रजातिसमेत रहेका छन् ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।