खोटाङका दुई स्थानीय तहमा ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम

खोटाङ, ६ फागुन (रासस) :
जिल्लाका दुई स्थानीय तहका एक÷एक वडामा रेडपाण्डा (हाब्रे) संरक्षणसम्बन्धी कार्यक्रम सुरु भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा जनकल्याण समाज नेपाल लामीडाँडा खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–१ फेदीमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरेको हो ।

चालु आर्थिक वर्ष पाथेका र फेदीका सातवटा सामुदायिक वनमा सर्भे तथा अनुसन्धान गर्ने र चारवटा सामुदायिक वनमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन हुने समाजका अध्यक्ष वीरेन्द्र मगरले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९÷०८० मा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालनका लागि समाजलाई रेडपाण्डा नेटवर्कले रु २८ लाख ८६ हजार सात सय बजेट उपलब्ध गराएको छ ।

सुरुआती चरणमा रेडपाण्डाको अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, वासस्थानको व्यवस्थापन, दिगो जीविकोपार्जन र निरन्तर अनुगमनका कार्यक्रम सञ्चालन गरिने समाजले जनाएको छ । रेडपाण्डाको उपस्थिति÷अनुपस्थिति सर्वेक्षण, वन संरक्षकको भर्ती, रेडपाण्डा र वासस्थानको नियमित अनुगमन, चोरी शिकारविरुद्ध अभियान, वन संरक्षकका लागि तालिम, रेडपाण्डा इको क्लब गठन, रेडपाण्डा संरक्षण छात्रवृत्ति, रेडपाण्डा संरक्षण सचेतना कार्यशाला, विद्यालयमा रेडपाण्डा पर्खाल बुलेटिन प्रकाशन, निजी नर्सरीलाई सहयोग, सीमान्तकृत समुदायका लागि पोली हाउस सहयोगलगायतका गतिविधि सञ्चालन गरिने रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका वडाध्यक्षसमेत रहनुभएका समाजका अध्यक्ष मगरले जानकारी दिनुभएको छ ।

फेदीमा स्थानीय साम्पाङ (राई) भाषामा रेडपाण्डालाई कुँदो भनेर चिन्ने गरिएको स्थानीय लक्ष्मण साम्पाङले बताउनुभयो । यस वर्षका लागि प्राप्त बजेटबाट रेडपाण्डा संरक्षणसम्बन्धी सञ्चालन गरिने गतिविधिका बारेमा जानकारी दिन शुक्रबार दिक्तेलमा जिल्लास्तरीय सल्लाहकार समितिको गोष्ठी गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई, सुरक्षा प्रमुख, सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष राजेन्द्र राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीले लोपोन्मुख वन्यजन्तु रेडपाण्डा संरक्षण अभियानमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

केपिलासगढी गाउँपालिका–१ फेदीको बगाले, चिलिम लाहुरे, फुङगालुङ र छिमालुङ सामुदायिक वनमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको बसोबास छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको सिस्नेहर्कटे, सोही नगरपालिकाको वडा नं ९ निर्मलीडाँडाको गोपिनी नायपु वन र वडा नं १० पाथेकाको कोप्चेभालुखोप सामुदायिक वनमा क्षेत्रमा पर्ने चुलिडाँडा देउराली जङ्गलमा रेडपाण्डा रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

रेडपाण्डा नेटवर्कले एक दशकअघि गरेको अनुसन्धानबाट पनि फेदी, पाथेका, खार्ताम्छा र सुङ्देलमा रेडपाण्डाको बसोबास रहेको पुष्टि भएको थियो । गुराँस, खस्रु, निगालो र मालिङ्गो मिश्रित वनमा पाइने रेडपाण्डाको संरक्षणबाट हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मान्छे देख्दा नभाग्ने लजालु स्वभावको रेडपाण्डा स्थानीय बासिन्दाले मासुका लागि चोरी शिकार गर्ने गरेको बताइएको छ । घरपालुवा जनावर बिरालोजस्तो देखिने यसको शरीरको माथिल्लो भाग रातो र खैरो हुन्छ । भुँडीमा कालो तथा अनुहारमा सेतो र आँखा छेउछाउमा कालो हुन्छ ।

टाउकोदेखि पुच्छरसम्म लम्बाइ ९३ देखि ११० सेन्टीमिटरसम्म लामो हुने भाले रेडपाण्डाको तौल तीन दशमलव सात केजीदेखि छ दशमलव दुई केजीसम्म हुने जनाइएको छ । भालेभन्दा ठूलो हुने पोथी रेडपाण्डाको चारदेखि छ दशमलव दुई केजीसम्म तौल हुने गरेको छ । मासुका लागि शिकार गरिएको रेडपाण्डाको छाला बिक्री हुने बताइएको छ । दश स्थानीय तह रहेको जिल्लामा रेडपाण्डासँगै मृग, हरिन, थार, घोरल, खरायोलगायतका जङ्गली जनावरको चोरी शिकार हुने गरेको छ । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।