हलेसी तुवाचुङले गर्‍यो सार्वजनिक सुनुवाइ, हालसम्म २८ प्रतिशत खर्च

खोटाङ, ७ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्षको कुल बजेटमध्ये २८ प्रतिशत खर्च गरेको छ । नगरपालिकाले शनिबार अर्ध वार्षिक सार्वजनिक सुनुवाइ गर्दै आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा २८.७४ प्रतिशत बजेट खर्च भएको जनाकारी दिएको हो । 

नगरपालिकाले विनियोजन गरेको कुल ६९ करोड ५५ लाख ४४ हजार ५० रुपैयाँमध्ये पुस मसान्तसम्मा १९ करोड ९९ लाख ३२ हजार ८३६ रुपैयाँ खर्च भएको जानकारी दिइएको छ । वडा–वडाको सार्वजनिक सुनुवाई सकेपछि नगरपालिकाले सार्वजनिक सुनुवाई गरेको हो । नगरपालिकामा भएका कामका बारेमा सबैलाई जानकारी गराउन र त्यसको पारदर्शिताका लागि सार्वजनिक सुनुवाई गरिएको उपमेयर रमेशकुमार राउतले बताए । नगरपालिकामा हालसम्म भएको काम र बजेट खर्चको विषयमा शाखागत प्रमुखले प्रगती विवरण प्रस्तुत गरेका थिए । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले नगरपालिकाकै शिक्षा नीतिविपरीत केही माविमा आधारभुत तहका स्थायी शिक्षक प्रधानाध्यापक भएको, विद्यालय व्यवस्थापन समितिले पुर्णता नपाएको, नगरपालिकामा पटक–पटक प्रमुख प्रशासकीय अधिकृत फेरिएको, बृहत पम्पिङ खानेपानी आयोजना समयमा सम्पन्न नभएको, जयराम–हलेसी सडकखण्ड मर्मत हुन नसकेको, राजापानीस्थित सडकको ट्रयाक खोल्दा पुरिएको सिँचाई कुलो मर्मत नभएको लगायतका विषयमा प्रश्न गरेका थिए । कार्यक्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित् शाखा प्रमुख र मेयर बिमला राईले दिएका थिए । 

नगरपालिकाका शिक्षा शाखा संयोजक पदमबहादुर कार्कीले आवश्यकता अनुसार मावि दरवन्दीका शिक्षक नभएका कारण आधारभुत तहका शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी पाएको बताए । उनले सवै विद्यालयमा व्यवस्थापन समिति गठन भएको र प्रश्न उठेको अर्खौलेस्थित एक विद्यालयमा पनि पुर्णता दिन पत्र पठाइसकेको जवाफ दिए । 

यस्तै, मेयर राईले नेपाल सरकारको नीति अनुसार नगरपालिकाको प्रमुख प्रशासकीय अधिृत उप–सचिव रहने व्यवस्था भएपनि उप–सचिवहरु मन्त्रालयमै घाम तापेर बस्ने तर नगरपालिका आउन नमान्ने गरेको बताइन् । हाल मन्त्रालयमा कुरा भइरहेकाले चाँडै उप–सचिवको व्यवस्था गरिने मेयर राईले उल्लेख गरिन् । यस्तै, बृहत पम्पिङ खानेपानी आयोजनाको काम हाल धमाधम भइरहेको मेयर राईले जवाफ दिएकी छन् । ठेकेदार बेपत्ता भएको अवस्थामा नगरपालिकाले बोलाएर कागज गराएपछि काम सुचारु भएको मेयर राईको भनाई छ । 

राजापानीमा सडक ट्रयाक खोल्दा पुरिएको सिँचाई कुलो मर्मतका लागि अन्य निकायमा पनि कुरा गरिएको तर नगरपालिकाले तत्काल बजेट विनियोजन गर्दा डुब्लिकेशन हुने संभावना भएकाले केही समय पर्खिएको उल्लेख गरिन् । पुरिएको सिँचाई कुलो मर्मतको काम चाँडै हुने मेयर राईले आश्वसन दिएकी छन् । यस्तै, जयराम–हलेसी सडकखण्ड मर्मतका लागि सम्बन्धित कार्यलय र निर्माण कम्पनीलाई घचघच्याउने काम भइरहेको मेयर राईले बताईन् । 

सार्वजनिक सुनुवाईमा राजनीतिक दलका प्रतिनिधि, कार्यालयका प्रमख तथा प्रतिनिध लगायतको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसका नगर सभापति चक्रकुमार राई, नेकपा एमालेका नगर कमिटि अध्यक्ष डिल्ली चाम्लिङ, नेकपा एकीकृत समाजवादीका नेता तथा प्रतिनिधिहरुले अब कृषिलाई अर्थसँग जोडेर काम गर्नु पर्ने, उपभोक्ता समितिको अनुसार भन्दा पनि नगरपालिकाको नीति अनुसार योजनाको काम हुनुपर्ने लगायतका सुझाव दिएका छन् । 

स्थानीय सरकार सञ्चालन ऐनमा गाउँपालिका तथा नगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई पादर्शी, उत्तरदायी र जवाफदेही बनाउन सार्वजनिक परिक्षण, सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाईजस्ता कार्यक्रम गर्नुपर्ने व्यवस्था छ । तर जिल्लाका अन्य नौ स्थानीय तहले हालसम्म सार्वजनिक सुनुवाई हालसम्म गर्न सकेका छैनन् । स्थानीय तहले सार्वजनिक सुनुवाई सम्वन्धी कार्यविधि पास गरेर रातो कितावमा प्रकाशन गरेर सार्वजनिक सुनुवाई गर्नुपर्ने हुन्छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।